यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत स्वास्थ्य संस्था विधामा उत्कृष्ट स्वास्थ्य संस्था आयुर्वेद तर्फ काठमाडौंको मातातिर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालले पाएको छ।
चार वर्षअघि ताप्लेजुङबाट सरुवा भएर काठमाडौंको मातातिर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पताल आइपुगे नारायण आचार्य। ठाउँका दृष्टिले ‘सुगम’ आइपुगेको महसुस गरेर सेतो–सुकिलो पहिरनसहित अस्पतालमा हाजिर हुन गए। उनलाई देखाइएको कार्यकक्षमा गएर एकछिन बसे। बाहिर आउँदा त सेतो कमिज मुनि पूरै कालो–मैला भइसकेको थियो। कार्यकक्ष सफा गर्न कार्यालय सहयोगी खोजे, देखेनन्; अस्पतालमा काम छैन भनेर चन्द्रागिरी नगरपालिकाले लगिसकेको रहेछ।
आयुर्वेद चिकित्सालाई लिएर आमजनको दृष्टि यसै पनि सकारात्मक थिएन। त्यसैमाथि अस्पतालको अवस्था देखेपछि कोही उपचारलाई विश्वास गर्ने अवस्था देखिएन। मन अमिलो बनाएर आचार्य टिप्पणी गर्छन्, ‘भन्न मन छैन तर हेर्दा कुखुरा पाल्ने ठाउँजस्तो थियो अस्पताल।’ आचार्यले आफ्नै व्यक्तिगत खर्चमा कार्यकक्ष पुनर्निर्माण सुरु गरे। पर्दा फेरे, सरसफाइ गराए।

कोभिड–१९ आयो। उनले आफ्नै नेतृत्वमा आयुर्वेदिक उपचार पद्धतिसहित घरदैलो गरे। आधुनिक चिकित्साले कुनै उपचार नै पत्ता लगाइनसकेको त्यो समयमा आमजनको भरोसा आयुर्वेदिक औषधिमाथि बढिरहेको थियो। त्यो घरदैलोले अस्पतालप्रति सकारात्मक भाव सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको आचार्य बताउँछन्।
अस्पतालको तत्कालीन भवन सानो थियो। त्यसैले चाहेका सेवा दिन असहज भएको बताउँदै खाली कभर्ड हलको उपयोग गर्ने प्रस्ताव तत्कालीन उपमेयर र वडाध्यक्षसमक्ष राखे। उनीहरूले सहमति दिए। साउनलगायत केही उपचार पद्धतिहरू सुरु भए।
सेवा विस्तार हुँदै जाँदा नगरपालिकाको विश्वास बढ्दै गयो। आयुर्वेदका अन्य कर्मचारीलाई त्यहीँ फिर्ता गरिन थाल्यो। सेवा पनि थपिनु मात्रै होइन, उच्चस्तरीय सेवा पाइने भएपछि अस्पताल आउनेको संख्या बढ्दै गयो। आचार्यले अस्पताल सम्हाल्दा वर्षभरि १२०० जना जति अस्पताल पुगेको रेकर्ड थियो। पहिलो वर्षमै उनले १० हजार पुर्याए। अहिले संख्या २२ हजार नाघेको छ।
पञ्चकर्म अन्तर्गतका ६४ वटा सेवाहरू अस्पतालले दिने गर्छ। नरदेवी आयुर्वेद अस्पतालसँग मिलेर विशेषज्ञ सेवा दिइने गरेको छ। पाइल्सलगायतका लागि अपरेसन थिएटर बनाएर नियमित सेवा दिइँदै आएको उनले बताउँछन्।
आयुर्वेदिक सेवामा अस्पताल ‘आदर्श’ बन्यो। जुन त्यही क्षेत्रमा होटल तथा रिसोर्ट सञ्चालन गर्नेहरूका लागि ‘व्यवसायिक आइडिया’ पनि बन्यो। त्यहाँ सञ्चालनमा रहेका होटेलहरूले समेत आचार्यकै परामर्शमा केही आयुर्वेदिक सेवाहरू दिन थालेका छन्। कतिपय होटेल, गुम्बालगायतमा आयुर्वेदिक उपचार पद्धतिको विकासका लागि अस्पतालकै टिमले समेत सघाएको छ। त्यहाँ खुलेको ‘होटेल जंगल महल’ले त आयुर्वेदिक पद्धति, पञ्चकर्म, नेचुरोप्याथीलगायतका आकर्षक प्याकेज बनाएर पर्यटकहरू समेत आकर्षित गराइरहेको छ। जसका लागि आचार्यले नै साथ–सहयोग दिएका थिए।
मातातिर्थबाट प्रभावित भएर अहिले चन्द्रागिरी क्षेत्रमा त्यस्तो सेवा दिने सेन्टर करिब १० वटाजति पुगिसकेको आचार्य बताउँछन्। उनी भन्छन्, ‘त्यस्तै बनाउन हामीसँग परामर्श लिनुहुन्छ। वैकल्पिक चिकित्सा पद्धतिप्रतिको विश्वास बढाउन पनि हामी निःशुल्क परामर्श दिन्छौं।’
मातातिर्थ आयुर्वेदिक अस्पताल उत्कृष्ट आयुर्वेदिक सेवाका लागि मात्रै होइन, वैकल्पिक चिकित्साकै साख बढाइरहेको अस्पतालका रूपमा आयुर्वेद क्षेत्रले लिएको छ। किनकि वैकल्पिक चिकित्सामा भरोसा गर्न छाडेकाहरू पनि त्यहाँ पुगेपछि भर गर्ने अवस्था बनेको छ। विदेशीहरू समेत त्यहाँ पुगेर सेवा लिन्छन्।
अस्पतालले जमुना डाँडा सामुदायिक वनको १०० रोपनी जग्गालाई जडिबुटी उद्यानका रूपमै विकास गर्दैछ। अस्पतालको उक्त पहललाई विश्व बैंकले समेत सकारात्मक रूपमा हेरेको छ। इटलीबाट आएका विश्व बैंकका प्रतिनिधिहरूले हेरेर गएका छन्। उनीहरूले ‘कुन क्षेत्रमा सहयोग गर्ने?’ भनेर प्रस्ताव पठाउन भनेका छन्। अस्पतालले प्रस्ताव समेत तयार गरेर कार्यान्वयनका चरणमा पुर्याएको आचार्य बताउँछन्। त्यसैगरी घरमै स्यानिटरी प्याड बनाउन सिकाउने कार्य समेत अस्पतालका कर्मचारीले गरिरहेका छन्।
आयुर्वेदिक चिकित्सा भन्ने वित्तिकै जडता अपनाउनुपर्छ भन्ने आचार्यलाई लाग्दैन। एलोप्याथी चिकित्साबाट हुने उपचारका लागि त्यहीअनुसार रिफर गर्ने प्रावधान छ। अस्पताल आफैंले पनि समुदायमा इमर्जेन्सी किट वितरण गर्छ। आचार्य भन्छन्, ‘घाउ लाग्यो भने माटो दल्नु राम्रो होइन। त्यसैले हामीले चेतनाका साथै किट समेत वितरण गर्ने गरेका छौं।’
अस्पताल फैलिँदै गएको छ। ७५ लाखको लागतमा अस्पतालका लागि नयाँ संरचना बनिसकेको छ। धन्वन्तरी दिवससम्म पूरा गरेर उद्घाटन गर्ने लक्ष्य आचार्यको छ।