यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत स्वास्थ्य संस्था विधामा उत्कृष्ट स्वास्थ्य संस्था बाजुरास्थित कोल्टी आधारभूत अस्पतालले पाएको छ।
कोल्टी आधारभूत अस्पताल रहेको बुढीनन्दा नगरपालिकाका मेयर जनक कुमार बोहरा आफ्नो भाषणमा प्रायः दोहोर्याउँछन् – व्यक्ति स्वस्थ भएन भने न पढ्न सक्छ, न रोजगारी गर्न। त्यसैले स्वास्थ्यलाई उनले सुरुदेखिनै प्राथमिकतामा राखेका थिए।
कोल्टीबाट नेपालगञ्जको विमान कुर्दाकुर्दै बिरामीले ज्यान गुमाउने घटना बारम्बार दोहोरिन्थ्यो। त्यसपछि उनले संकल्प गरे – स्थानीय कोल्टी आधारभूत अस्पताललाई स्तरोन्नति नगरी अन्यत्र सोच्न सकिँदैन।
त्यसतर्फ आँखा फर्काउँदा थाहा भयो, सरकारी कागजातमा अस्पताललाई प्राथमिक स्वास्थ्य केन्द्र भनिए पनि अवस्था स्वास्थ्यचौकीभन्दा तल थियो। न औषधि पाइन्थ्यो, न स्वास्थ्यकर्मी नियमित भेटिन्थे, न आवश्यक उपकरण थिए। बिरामी भर्ना गरेर उपचार गर्ने कुरा त कल्पना बाहिरको थियो।
बाजुराकै एक मात्र विमानस्थल रहेको ठाउँमा भएको उक्त स्वास्थ्य केन्द्रले बाजुराका ४ पालिकासहित कालिकोट, हुम्ला र मुगुका गरी १७ पालिकाका बिरामीलाई सेवा दिनुपर्ने स्थिति थियो। संघीयता आएको पछि प्राथमिक स्वास्थ्य केन्द्र झन् रुग्ण हुँदै गयो र चार वर्षभन्दा बढी समयसम्म डाक्टरविहीन रह्यो।

मेयर बोहराले यसलाई अस्पतालका रूपमा विकास गर्ने योजना बनाए। त्यसका लागि पालिकाले नै खर्च बेहोरेर अघि बढ्न प्रेरित गर्ने काम स्वास्थ्य शाखा प्रमुख ओमजंग शाही र निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शाहले गरे। उपकरणको जोहो, भौतिक संरचना सुधार र चिकित्सक ल्याउने वातावरण बनाउन उनीहरू सक्रिय भए।
मेयर निर्वाचित भएपछि बोहरा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगे। विशेषतः प्रसूति हुन नसकेर महिलाको ज्यान जाने अवस्थालाई रोक्नु पहिलो चुनौती थियो। उनले तत्कालीन उपकुलपति डा. मंगल रावललाई भेटेर चिकित्सक पठाउन आग्रह गरे। त्यसपछि एक जना स्त्रीरोग विशेषज्ञ र ओटी नर्स पठाइयो। तर, कोल्टी जस्तो दुर्गम ठाउँमा चिकित्सक बस्न सहज थिएन। त्यसैले प्रतिष्ठानको सेवासुविधामा थप १ लाख रुपैयाँ पालिकाले दिने व्यवस्था गरियो। केही समय त्यहाँ बसेर ती विशेषज्ञले सेवा दिए, जसले स्थानीयस्तरमा अस्पतालप्रतिको भरोसा बढायो।
तर, त्यो स्थायी समाधान थिएन। बोहराका पुराना सहकर्मी, एमालेका पूर्वस्वास्थ्य मन्त्री पदम गिरीमार्फत उनले छात्रवृत्ति करारमा एमडीजीपी चिकित्सक ल्याउन सके। डा. रन्जित साह कोल्टी पुगे र अस्पताललाई हालको अवस्थामा ल्याउन मुख्य भूमिका खेले।
डा. साह सम्झन्छन् – “न अस्पतालजस्तो भवन थियो, न उपकरण थिए। जताततै तोडफोड, गोठजस्तो अवस्था थियो। मानिसहरू भिजिटका लागि आउँथे र मुख बिगारेर फर्किन्थे।” तर, ५ वर्षमै २५ बेडको सुविधा सम्पन्न अस्पताल बनाउने सपना बोकेका स्थानीयलाई देख्दा उनी चकित पर्थे। “त्यो अवधिसम्म जनता बिरामी पर्दैनन् त? यही प्रश्न मैले सोध्थेँ।”
त्यसपछि उनले नेतृत्व लिए। अनलाइनमार्फत लिएको इन्टेरियर डिजाइन तालिम काम आयो। पुरानो भवनलाई नयाँ तरिकाले पुनर्निर्माण गर्ने योजना बनाए र पालिकाले साथ दियो। कोल्टी अस्पताल विस्तारै बदलिँदै गयो। जटिल प्रसूति, हाडजोर्नी, आँखा, दन्तरोगजस्ता सेवा थपिए। भर्ना गरेर उपचार सुरु भयो। तर, उपकरण अभावकै कारण टर्चको भरमा समेत शल्यक्रिया गर्नुपरेका घटनाहरू छन्।
यसैबीच अस्पताल कानुनी रूपमा अझै आधारभूत स्वास्थ्य केन्द्रकै संरचनामा थियो, जहाँ वडाध्यक्ष विकास समितिको अध्यक्ष बन्ने व्यवस्था थियो। आर्थिक कारोबारमा पनि वडाध्यक्षको संलग्नता रहने भएकाले स्तरोन्नति सहज भएन। त्यसपछि नगरपालिकाले आफ्नै स्वास्थ्य कानुन बनाएर कार्यपालिकाबाट पास गर्यो। “स्वास्थ्य संस्था स्तरोन्नति/सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८०” अनुसार अब अस्पतालको अध्यक्षता मेयरले गर्ने र आर्थिक कारोबार लेखा अधिकृत तथा मेडिकल सुपरिन्टेन्डेन्टमार्फत हुने व्यवस्था गरियो।
पछिल्ला तीन वर्षमा अस्पतालले उल्लेखनीय सुधार गरेको छ। भर्ना गरेर उपचार हुन्छ, आफ्नै फार्मेसी छ। फार्मेसी भित्र्याउँदा बाहिरी क्लिनिक र फार्मेसीसँग ठूलो संघर्ष गर्नुपरेको मेयर बताउँछन्। “सहुलियत मूल्यमा औषधि दिने वातावरण बनाउन सहज रहेनछ,” उनी भन्छन्।
अस्पतालमा दरबन्दी १२ जना भए पनि अहिले करिब ४० जना कर्मचारी काम गरिरहेका छन्। बाँकीको तलब अस्पतालको आम्दानी र पालिकाले बेहोर्छ। डा. साहलाई पालिकाले आफ्नै स्रोतबाट मासिक ४ लाख ५० हजार रुपैयाँ तलब दिइरहेको छ, साथै बसोबास र खाने व्यवस्था पनि अस्पतालकै हो।
आज कोल्टी अस्पतालमा सिजेरियन शल्यक्रिया नियमित रूपमा हुन्छ। त्यसैले विमान कुर्दै महिलाको ज्यान गुम्ने खबर सुन्नु परेको छैन। एक वर्षमा २० भन्दा बढी सिजेरियन यहीँ भएका छन्। अहिले दन्त, आँखाजस्ता विशेषज्ञ सेवा, ब्लड क्रस म्याच, एक्स–रे, भिडियो एक्स–रे, ल्याब सेवा उपलब्ध छन्। स्मार्ट हेल्थमार्फत टेलिहेल्थ सेवा र एआरटी सेवा पनि सुरु भइसकेका छन्।
कुनैबेला फोहरले दुर्गन्धित कोल्टी अस्पताल आज सफा र व्यवस्थित छ। शौचालय सुधारिएको छ। सोलार र जेनेरेटरले नियमित बत्तीको व्यवस्था छ।
पालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ भने डा. साह दुर्गमका बिरामीको भावना बुझेर दिनरात अस्पतालमै खटिएका छन्। यसले आपतकालीन उपचार २४ घण्टा उपलब्ध हुनेमा स्थानीय ढुक्क भएका छन्।
तर, संघीय सरकारबाट अझै अपेक्षित सहयोग प्राप्त भएको छैन। भवन निर्माणका लागि बजेट विनियोजन भएको छैन, आधारभूत अस्पतालको सूचीमा समेत छुटेको छ। मेयर बोहरा भन्छन् – “यो पालिकाको मात्र अस्पताल होइन, सम्पूर्ण पालिकाहरूको अस्पताल हो। प्रदेश र संघीय सरकारले त्यसरी नै लिनुपर्ने हो।”