भारत- कम्प्युटर र टाइपिङको युगमा हस्तलिपिको महत्व घट्दै गएको चर्चा भइरहँदा, भारतको अदालतले भने डाक्टरको लेखाइ अझै पनि जीवन-मरणको सवाल हुन सक्ने ठहर गरेको छ।
पञ्जाब तथा हरियाणा उच्च अदालतले हालसालै दिएको आदेशमा भनिएको , 'पढ्न मिल्ने प्रिस्क्रिप्सन रोगीको मौलिक अधिकार हो”, किनभने अस्पष्ट प्रिस्क्रिप्सनले गलत औषधि प्रयोग भई जीवन संकटमा पार्न सक्छ।'
यो आदेश बलात्कार, ठगी र कागजातमा नक्कलीकरणसम्बन्धी मुद्दा सुन्दै गर्दा न्यायाधीश जसगुरप्रीत सिंह पुरीले दिएका हुन्। मुद्दाको क्रममा पेश गरिएको सरकारी चिकित्सकको रिपोर्ट पूरै पढ्न नसकिने देखेपछि उनले गम्भीर चिन्ता व्यक्त गरेका थिए।
न्यायाधीश पुरीले भने, 'प्रविधि सजिलै उपलब्ध हुँदा पनि सरकारी डाक्टरहरूले अझै बुझ्नै नसकिने हस्तलिपिमा प्रेस्क्रिप्सन लेख्नु अचम्मको कुरा हो।' अदालतले दुई वर्षभित्र डिजिटल प्रिस्क्रिप्सन अनिवार्य बनाउन सरकारलाई निर्देशन दिएको छ। त्यतिञ्जेल डाक्टरहरूले प्रिस्क्रिप्सन ठूला अक्षरमा र स्पष्ट रूपमा लेख्नुपर्नेछ।
भारतीय मेडिकल एशोसिएसनका अध्यक्ष डा. दिलीप भानुशालीले शहरहरूमा डिजिटल प्रिस्क्रिप्सनको प्रयोग बढेको तर ग्रामीण क्षेत्रमा अझै कठिनाइ भएको बताएका छन्। उनका अनुसार, भीडभाड भएका सरकारी अस्पतालमा दिनको सयौँ बिरामी हेर्ने चिकित्सकलाई समय अभावका कारण हस्तलिपि बिग्रने समस्या हुन्छ।
भारतका अन्य उच्च अदालतहरूले पनि पहिले डाक्टरहरूको 'जिगज्याग लेखाइ' र 'पढ्न नसकिने रिपोर्ट'बारे टिप्पणी गरिसकेका छन्। विज्ञहरूले भने, यो केवल सौन्दर्य वा सजिलोतामात्र नभई अस्पष्ट प्रिस्क्रिप्सनले गम्भीर दुर्घटना निम्त्याउन सक्ने भन्दै चेतावनी दिएका छन्।
सन् १९९९ मा अमेरिकाको इन्स्टिच्युट अफ मेडिसिनले प्रकाशित गरेको प्रतिवेदनले गलत लेखाइका कारण मात्र ७,००० मृत्यु भएको तथ्य सार्वजनिक गरेको थियो। बेलायतमा पनि यस्ता त्रुटिका कारण गम्भीर क्षति भएको तथ्य उजागर भइसकेको छ।
भारतमा यद्यपि यसबारे ठोस तथ्यांक छैन। तर विगतमा प्रेस्क्रिप्सन नबुझ्दा गलत औषधि प्रयोग भई बिरामीको मृत्यु भएको समाचार पटक–पटक सार्वजनिक भइसकेका छन्।
तेलङ्गानाका एक फार्मासिस्ट चिलुकुरी परमाथमाले २०१४ मा यसबारे अदालतमा सार्वजनिक हित मुद्दा समेत दायर गरेका थिए। त्यसपछि मेडिकल काउन्सिल अफ इन्डियाले सबै डाक्टरलाई ठूला अक्षरमा जेनेरिक नामसहित औषधि लेख्न निर्देशन दिएको थियो।
तर करिब एक दशकपछि पनि फार्मासिस्टहरूले अझै पढ्नै नसकिने प्रिस्क्रिप्सन आउने गरेको गुनासो गरिरहेका छन्। कोलकाताको प्रमुख औषधि चेन ‘धन्वन्तरी’ का प्रमुख रविन्द्र खण्डेलवालका अनुसार, शहरमा प्रिन्टेड प्रिस्क्रिप्सन बढ्दै गए पनि ग्रामीण क्षेत्रमा अझै हस्तलिखित प्रेस्क्रिप्सन हावी छन्।