अमेरिका- 'हामी एउटा ऐतिहासिक मोडमा पुगेका छौं'- यो भनाइ हो अमेरिकन क्यान्सर वैज्ञानिक डा. नोरा डीसीसको, जो अहिले आफ्नो ३० वर्षे अनुसन्धान यात्राको सबैभन्दा ठूलो उपलब्धी (ब्रेस्ट क्यान्सर भ्याक्सिन) नजिक पुगेकी छन्।
ड. डीसीस वाशिंगटन युनिभर्सिटीको मेडिसिन क्यान्सर भ्याक्सिन इन्स्टिट्यूटकी प्रमुख हुन्। उनी भन्छिन्, 'आगामी दशकभित्र नै क्यान्सरको उपचारमा भ्याक्सिन सामान्य अभ्यासको हिस्सा हुनेछ।'
अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सी (आईएआरसी)का अनुसार, विश्वभर २० महिलामध्ये एकजना ब्रेस्ट क्यान्सरले प्रभावित छन्। धेरै देशहरूमा यो रोग महिलाको मृत्युको प्रमुख कारण बनेको छ। तर, आशा हराइसकेको छैन। अहिले विश्वभर ५० भन्दा बढी ब्रेस्ट क्यान्सर भ्याक्सिन ट्रायलहरू चलिरहेका छन्, जसमा कम्तीमा पाँच अनुसन्धान अत्यन्तै प्रगतिशील चरणमा पुगेका छन्।
सामान्य खसरा वा म्यानिन्जाइटिसजस्ता वभ्याक्सिनले शरीरलाई भाइरस वा ब्याक्टेरियाबाट जोगाउँछ, तर क्यान्सर भने शरीरकै आफ्नै कोषिकाबाट सुरु हुन्छ। त्यसैले क्यान्सर वैक्सिनहरू व्यक्तिगत रूपमा तयार गर्नुपर्छ — अर्थात् बिरामीको ट्युमरको जेनेटिक बनावट अनुसार। यी भ्याक्सिनले शरीरलाई यस्तो प्रोटिन वा एन्टिबडी बनाउन प्रेरित गर्छन्, जसले केवल क्यान्सर कोषिकामा पाइने मार्करहरूलाई लक्षित गर्छ।
यो वैक्सिन HER-2 प्रोटिन लाई निशाना बनाउँछ, जसले ब्रेस्ट क्यान्सर कोषिकाहरूलाई तीव्र वृद्धि गर्न सहयोग गर्छ। ट्रायलमा यसलाई कीमोथेरापी र सर्जरी सँग संयोजन गरी परीक्षण भइरहेको छ।
डा डीसीस भन्छिन्, 'हामी अब त्यस्तो चरणमा पुगेका छौं जहाँ केही वर्षमै वैक्सिनलाई औपचारिक स्वीकृति मिल्न सक्छ।'
वैज्ञानिकहरूले भ्याक्सिन विकास अझै प्रारम्भिक चरणमै रहेको बताएका छन्। यी उपचारहरू महँगा र जटिल छन्, जसका कारण कम आय भएका देशका महिलासम्म यो उपचार पुग्ने सम्भावना सधैंजसो सिमित रहने बताइएको छ।
वैज्ञानिकका अनुसार क्यान्सर उपचारको संसार एक नयाँ अध्यायमा प्रवेश गर्दैछ। डा. नोरा डीसीस र उनका सहकर्मीहरूको अनुसन्धानले अब क्यान्सरलाई रोकथाम योग्य रोग बनाउने सम्भावना देखाएको छ। “यो कुनै विज्ञान-कल्पना होइन. हामी अहिले फेज-२ ट्रायलमा छौं र म यसको जीवित प्रमाण हुँ,' एक अनुसन्धानकर्ताले भनिन्।