कोलम्बो- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७८औँ बैठक आगामी असोज २७ गतेदेखि २९ गतेसम्म (अक्टोबर १३–१५, २०२५) श्रीलंकाको राजधानी कोलम्बोमा आयोजना हुँदैछ।
तीन दिनसम्म चल्ने यो बैठकमा स्वस्थ वृद्धावस्था सुनिश्चितता, धुवाँरहित सूर्तीजन्य पदार्थ नियन्त्रण, स्वास्थ्य आपतकालीन कोषको विस्तार र एन्टिमाइक्रोबियल प्रतिरोध विरुद्धको कार्य योजना जस्ता प्रमुख चार विषयमा सदस्य राष्ट्रका स्वास्थ्य नेतृत्वहरूले छलफल गर्नेछन्।
डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयसस, दक्षिण–पूर्वी एसियाका कार्यवाहक क्षेत्रीय निर्देशक डा क्याथरिना बोहम लगायत अन्य विशेषज्ञहरूको उपस्थिति रहने यस बैठकले आगामी वर्षहरूका लागि क्षेत्रीय स्वास्थ्य नीति र प्राथमिकता निर्धारण गर्नेछ।
स्वस्थ वृद्धावस्थाको घोषणापत्र पारित हुने तयारी
वृद्धाहरुको जनसंख्या तीव्र वृद्धि भइरहेका कारण बैठकमा स्वस्थ वृद्धावस्थासम्बन्धी घोषणापत्र पारित हुने अपेक्षा गरिएको छ। सन् २०५० सम्ममा दक्षिण–पूर्वी एसिया क्षेत्रमा ६० वर्षभन्दा माथिका व्यक्तिहरूको जनसंख्या २०.९ प्रतिशत पुग्ने अनुमान छ। जुन सन् २०२४ मा ११.३ प्रतिशत मात्र थियो। वृद्धावस्था रोक्न नसकिने भए तापनि यस परिवर्तनलाई अवसरमा रूपान्तरण गर्न स्वास्थ्य र सामाजिक प्रणालीहरूलाई सुदृढ बनाउनु अपरिहार्य भएको डब्लुएचओले जनाएको छ।
सूर्तीजन्य पदार्थ नियन्त्रणमा क्षेत्रीय रणनीति
बैठकमा धुवाँरहित सूर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक सिगरेट, निकोटिन पाउच र सुपारीको प्रयोग नियन्त्रणसम्बन्धी रणनीतिहरूमा समेत छलफल गरिनेछ। यस क्षेत्रमा विश्वका कुल सूर्तीजन्य पदार्थ प्रयोगकर्तामध्ये एक तिहाइ रहेका छन्। हाल २८ करोडभन्दा बढी वयस्क र १ करोड १० लाखभन्दा बढी किशोर–किशोरी धुवाँरहित सूर्तीजन्य पदार्थको प्रयोगकर्ता रहेका छन्। इलेक्ट्रोनिक निकोटिन डिभाइस र सुपारीको सामाजिक प्रयोगले समस्या झन् जटिल बनाएको जनाइएको छ।
स्वास्थ्य आपतकालीन कोष विस्तारमा छलफल
प्राकृतिक विपत्तिप्रति संवेदनशील यस क्षेत्रका लागि सन् २००८ मा स्थापना गरिएको दक्षिण–पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषलाई विस्तार गर्ने विषयमा बैठकमा छलफल गरिनेछ। हालसम्म यस कोषबाट १० सदस्य राष्ट्रमा ४९ वटा आपतकालीन अवस्थाहरूमा सहयोग प्रदान भइसकेको छ। सन् २०१६ मा यस कोषको क्षेत्राधिकारलाई आपतकालीन पूर्वतयारी सम्म विस्तार गरिएको थियो।
एन्टिमाइक्रोबियल प्रतिरोध विरुद्ध तीव्र कार्यान्वयनमा जोड
बैठकमा एन्टिमाइक्रोबियल प्रतिरोध विरुद्धका क्षेत्रीय नीतिहरूलाई विश्वव्यापी प्रतिबद्धतासँग समायोजन गर्दै कार्यान्वयनमा तीव्रता ल्याउने विषय पनि प्रमुख एजेन्डामा रहेको छ। हालै सम्पन्न संयुक्त राष्ट्रसंघ महासभाले एएमआर विरुद्धको राजनीतिक घोषणापत्र पारित गरेपछि यस क्षेत्रमा नयाँ उत्साह र अवसर सिर्जना भएको डब्लुएचओले जनाएको छ।
यसका साथै बैठकमा मानसिक स्वास्थ्यदेखि प्रविधिसम्मका विषयमा पनि छलफल हुने छ। करिब २ अर्ब जनसंख्या रहेको दक्षिण–पूर्वी एसिया क्षेत्रले वर्तमान अवस्थामा मानसिक स्वास्थ्य प्रवर्द्धन, महिला, किशोरी, बालबालिका तथा जोखिममा परेका व्यक्तिमाथि लगानी, प्रविधि र नवप्रवर्तन, ज्ञान व्यवस्थापन, तथा अनुसन्धान र क्षमता अभिवृद्धि जस्ता विषयलाई पनि उच्च प्राथमिकतामा राखेको छ।
डब्लुएचओका अनुसार बैठकको उद्देश्य 'सबैका लागि स्वास्थ्य' सुनिश्चित गर्नु, स्वास्थ्यसम्बन्धी सेवा, सुरक्षाका उपायहरू सुदृढ गर्दै दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक कार्यहरूमा पुनः गति प्रदान गर्नु हो।