मानव सभ्यताको अध्ययन गर्दा पृथ्वीको सृष्टिपछि पृथ्वी लोकमा विभिन्न किसिमका जीव–जनावर, सजीव प्राणी तथा मानव जातिको विकास भएको पाइन्छ । त्यस समयमा पृथ्वीको ठूलो भाग पानी र समुद्री सतहले ओगटेको थियो। इतिहासको अध्ययन गर्दा मानव सभ्यताको क्रमागत विकास दुई किसिमका संस्कृतिसँग जोडिएको देखिन्छ, एउटा देवता र ऋषि संस्कृति, अर्को दैत्य र राक्षस प्रवृत्तिसँग सम्बन्धित संस्कृति।
यी दुई प्रवृत्तिहरूबीच समय–समयमा द्वन्द्व र युद्धहरू भइरहन्थे। तर बारम्बारका द्वन्द्वबाट कुनै ठोस उपलब्धि नदेखिएपछि दुबै पक्षबीच समुद्र मन्थन गर्ने निष्कर्ष निकालियो।
समुद्र मन्थनको साझा प्रयासपछि ऋषि र दैत्यहरू दुवै सहभागी भए। मन्थनको क्रममा धन्वन्तरि नामक ऋषि दुबै हातमा अमृतकलश लिएर प्रकट भए। उहाँका चार भुजा थिए,, माथिल्ला दुई भुजामा शंख र चक्र, र तल्ला दुईमा जलौका (जुका) तथा अमृत जल सहितका विभिन्न औषधीय वनस्पति, जडिबुटी, रस र रसायन थिए।
यसरी समुद्र मन्थनबाट विभिन्न अनुसन्धानात्मक खोजहरू भएको दिन कार्तिक कृष्ण पक्ष त्रयोदशी अर्थात् काग तिहारको दिन थियो। यही विशेष दिनलाई धनतेरस वा धन्वन्तरि जयन्ती भनेर मनाइन्छ। त्यसैले ऋषि धन्वन्तरिलाई आयुर्वेदका प्रवर्तक वा जन्मदाता पनि भनिन्छ।
त्यसपछिका समयमा ऋषि धन्वन्तरले पृथ्वीमा रहेका विभिन्न किसिमका वनस्पति, जडिबुटी, रस र रसायनको अध्ययन गरी तिनका औषधीय गुण र विशेषता पत्ता लगाएर त्यो ज्ञान अन्य ऋषिहरू हुँदै आम नागरिकसम्म पुर्याए। यस कार्यले रोगी व्यक्तिका रोग निवारण र निरोगी व्यक्तिका स्वास्थ्य सुदृढीकरणका लागि चेतना फैलाउने अभियानको शुरुवात गर्यो। यही कारणले त्यो दिनलाई आरोग्य दिवस पनि भनिन्छ।
आयुर्वेदको इतिहास अध्ययन गर्दा विभिन्न ग्रन्थहरूमा आयुर्वेदसम्बन्धी लेखहरू पाइए तापनि आयुर्वेद विज्ञानको सबैभन्दा भरपर्दो र वैज्ञानिक ग्रन्थ धन्वन्तरि संहिता नै हो भन्ने स्पष्ट हुन्छ। अन्य आयुर्वेदिक अनुसन्धानकर्ता चरक, सुश्रुत आदिले पनि आफ्नो ज्ञान धन्वन्तरिबाट नै प्राप्त गरेको उल्लेख गरेका छन्।
धन्वन्तरिको समय इसा पूर्व झण्डै ७ हजार वर्ष पहिलाको मानिन्छ। उहाँ काशीका राजा धन्वका पुत्र हुनुहुन्थ्यो। उहाँले शल्य (चिरफार) उपचारमा समेत महत्वपूर्ण अध्ययन गर्नुभएको थियो। धन्वन्तरिका नाति दिवोदास धन्वन्तरिले त्यसलाई परिमार्जन गरी आजको आधुनिक सर्जरी उपचार प्रणालीको विकास गरेका थिए। त्यसैले सर्जरी उपचारका प्रथम ज्ञाता ऋषि धन्वन्तरि नै मानिन्छ।
आजको समयमा हाम्रा जीवनशैली, आहार–व्यवहार र मानसिक तनावका कारण रोग–व्याधि र मानसिक अस्वस्थता तीव्र रूपमा बढ्दै गएको छ। कुनै पनि एकमात्र चिकित्सा प्रणालीले सबै किसिमका स्वास्थ्य समस्याको व्यवस्थापन गर्न पर्याप्त नहुने अनुभव हाम्रा सामु स्पष्ट छ।
त्यसैले, विभिन्न कालखण्डमा गरिएको अनुसन्धान र विकास भएका चिकित्सा पद्धतिहरू, विशेषगरी योग, ध्यान र आयुर्वेदलाई समयानुकूल सुदृढ र व्यावहारिक बनाउँदै अघि बढाउन सकेमा रोग न्यूनीकरण र नागरिक स्वास्थ्य प्रवर्द्धनमा ठुलो टेवा पुग्नेछ। जय धन्वन्तरि! जय आरोग्य दिवस!
(योग तथा आयुर्वेद अभियान्ता आचार्य लुम्बिनी आयुर्वेद चिकित्सालय, रुपन्देहीमा कार्यरत छन्)