धन्वन्तरी हिन्दु धर्ममा देवताका वैद्य मानिन्छन्। उनी महान चिकित्सक थिए, जसलाई देवपद प्राप्त भएको थियो। हिन्दु धार्मिक मान्यताअनुसार धन्वन्तरीलाई भगवान विष्णुको अवतारका रूपमा पूजिन्छ।
पृथ्वी लोकमा धन्वन्तरीको अवतरण समुद्र मन्थनको समयमा भएको थियो। शरद पूर्णिमामा चन्द्रमा, कात्तिक द्वादशीमा कामधेनु गाई, त्रयोदशीमा धन्वन्तरी, चतुर्दशीमा कालीमाता र औंशीका दिन भगवती लक्ष्मी समुद्रबाट प्रकट भएको जनविश्वास छ। दीपावलीको दुई दिनअगाडि पर्ने धनतेरस अर्थात् कात्तिक कृष्ण त्रयोदशीका दिन भगवान धन्वन्तरीको जन्म भएकोले यस दिनलाई धनतेरस र धन्वन्तरी जयन्तीका रूपमा मनाइन्छ। यही दिन आयुर्वेदको पनि प्रादुर्भाव भएको मानिन्छ।
धन्वन्तरीका चार हात छन्, माथिल्ला दुई हातमा शंख र चक्र, अन्य दुईमध्ये एकमा जलुका (जुका) र औषधि तथा अर्कोमा अमृत कलश रहेका छन्। धन्वन्तरीको प्रिय धातु पित्तल मानिने भएकाले धनतेरसका दिन पित्तलका भाँडा किन्ने परम्परा आजसम्म चलिआएको छ। त्यसैले धन्वन्तरीलाई आरोग्यका देवता पनि भनिन्छ।
उनी अमृतमय औषधिको खोजीका अग्रदूत थिए। उनको वंशमा जन्मेका दिवोदासले शल्य–चिकित्साको पहिलो विश्वविद्यालय काशीमा स्थापना गरे, जसका पहिलो प्रमुख सुश्रुत बने। सुश्रुत दिवोदासका शिष्य र ऋषि विश्वामित्रका पुत्र थिए। उनी नै सुश्रुत संहिताका लेखक हुन् र विश्वकै पहिलो शल्य चिकित्सक मानिन्छन्। जनविश्वासअनुसार भगवान शंकरले विष पिएपछि धन्वन्तरीले नै अमृत प्रदान गरेका थिए।
आयुर्वेदको इतिहास
पुरातत्वविद्को मतअनुसार आयुर्वेदको रचना इसा पूर्व ३००० देखि ५०,००० वर्षपहिलेबीच भएको मानिन्छ। आयुर्वेद ज्ञानको वंश परम्परा यसरी व्याख्या गरिएको छ, ब्रह्माबाट प्रजापतिले, प्रजापतिबाट अश्विनीकुमारले, अश्विनीकुमारबाट इन्द्रले, र इन्द्रबाट भारद्वाजले आयुर्वेदको अध्ययन गरे।
च्यवन ऋषि र अश्विनीकुमारलाई समकालीन मानिन्छ, र आयुर्वेदको विकासमा च्यवन ऋषिको योगदान अत्यन्त महत्वपूर्ण रहेको पाइन्छ। त्यसपछि भारद्वाजले आयुर्वेदको प्रभावबाट दीर्घजीवन प्राप्त गरे र अन्य ऋषिहरूमा यसको प्रचार गरे।
पुनर्वसु आत्रेयले आफ्ना ६ शिष्य, अग्निवेश, भेल, जतू, पाराशर, हारीत र क्षारपाणीलाई आयुर्वेदका उपदेश दिए। तीमध्ये सबैभन्दा प्रतिभाशाली अग्निवेशले अग्निवेश तन्त्र नामक संहिता तयार गरे, जसलाई पछि चरकले परिमार्जन गरी “चरक संहिता” नाम दिए। यही ग्रन्थलाई आज पनि आयुर्वेदको आधारस्तम्भ मानिन्छ।
सुश्रुत संहिताका अनुसार महर्षीहरूसँग सुश्रुत धन्वन्तरीकहाँ आयुर्वेद अध्ययन गर्न गएका थिए। धन्वन्तरीले तिनीहरूलाई उपदेश दिँदै भने, 'ब्रह्माले सृष्टि सिर्जना गर्नुभन्दा पहिले नै अथर्ववेदको उपवेदका रूपमा आयुर्वेदको सहस्र अध्याय र शतसहस्र श्लोकहरू प्रकाशित गर्नुभएको थियो। मानवलाई अल्पमेधावी ठानेर त्यसलाई आठ भागमा विभाजन गरिएको हो।'
यसरी धन्वन्तरीले आयुर्वेदलाई ब्रह्मद्वारा प्रतिपादित शास्त्र मानेका छन्। ब्रह्माबाट दक्ष प्रजापति, तिनबाट अश्विनीकुमारद्वय, र तिनबाट इन्द्र, अनि इन्द्रबाट भारद्वाजमार्फत यो ज्ञान प्रवाहित भएको मानिन्छ। चरक संहिता र सुश्रुत संहिता दुबैमा आयुर्वेदको अवतरण क्रमशः आत्रेय सम्प्रदाय र धन्वन्तरि सम्प्रदायका रूपमा वर्णित छन्।
आयुर्वेदको दार्शनिक व्याख्या
आयुर्वेदका आचार्यका अनुसार शरीर, इन्द्रिय, मन र आत्माको संयोगलाई “आयु” भनिन्छ, जसका चार भेद छन् :
सुखायु — शरीर वा मन कमजोर भए पनि विवेक, बल, विज्ञान, यश र परिजनसहित समृद्ध जीवन बिताउने व्यक्ति।
दुःखायु — साधनसम्पन्न भए पनि शारीरिक वा मानसिक रोगग्रस्त व्यक्ति।
हितायु — विवेक, सदाचार, शान्ति, सत्य र परोपकारले युक्त व्यक्ति, जसको जीवन समाज र लोककल्याणमा समर्पित हुन्छ।
अहितायु — अविवेक, दुराचार, स्वार्थ, दम्भ र अत्याचारले युक्त व्यक्ति, जो समाजका लागि अभिशाप हुन्छ।
“वेद” शब्दको अर्थ ज्ञान प्राप्तिको साधन हो, र “आयु” को वेद अर्थात् आयुर्वेद भन्नाले —
“शरीर, इन्द्रिय, मन र आत्माको हित, सुख र दीर्घायु प्राप्तिको उपाय बताउने शास्त्र” भन्ने बुझिन्छ।
कसरी काम गर्छ आयुर्वेद?
आयुर्वेद मानव शरीर (ब्रह्माण्डको सूक्ष्म प्रतिरूप) पाँच महान तत्व (पृथ्वी, जल, अग्नि, वायु र आकाश)मा आधारित छ। यी तत्वहरू मानव शरीरमा तीन दोषमार्फत् अभिव्यक्त हुन्छन् :
वात- हावा र आकाश तत्वसँग सम्बन्धित। शरीरका गतिशील कार्यहरू (श्वास, रक्तसञ्चार, मुटुको धड्कन आदि) नियन्त्रण गर्छ।
पित्त - अग्नि तत्वसँग सम्बन्धित। यो ऊर्जा शरीरको तापमान, पाचन, अवशोषण र पोषण नियन्त्रित गर्छ।
कफ- पृथ्वी र जल तत्वसँग सम्बन्धित। यो शरीरको स्थायित्व, स्नेह र प्रतिरक्षा प्रणालीको जिम्मेवार हुन्छ।
आयुर्वेदका उद्देश्य
आयुर्वेदको प्रमुख उद्देश्य दुई छन्,
स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा गर्नु।
नियमित आहार–विहार, व्यायाम, स्नान, शौच, निद्रा, ध्यान, र मानसिक सन्तुलन कायम राख्नु।
इर्ष्या, द्वेष, लोभ, अहंकारजस्ता दुर्गुणबाट टाढा रहनु।
प्रकृतिको नियमअनुसार शरीर र मनलाई सन्तुलित राख्नु।
रोगी व्यक्तिको रोग निवारण गर्नु।
रोगको कारण, लक्षण, रोगको उत्पत्ति प्रक्रिया (सम्प्राप्ति), र उपचार परीक्षण (उपशय–अनुपशय) को ज्ञान आवश्यक हुन्छ। यी तीन कुरालाई आयुर्वेदको त्रिस्कन्ध (तीन प्रमुख आधार) भनिन्छ।
धन्वन्तरीको शिक्षामा आधारित आयुर्वेद केवल उपचारको माध्यम होइन, यो जीवन दर्शन हो, शरीर, मन र आत्माको सन्तुलनमार्फत् आरोग्य र आयु प्राप्तिको विज्ञान।