काठमाडौं - चीन सरकारले जन्मदर बढाउन कण्डम सहित गर्भनिरोधक साधनमा १३ प्रतिशत कर लगाएको छ। यो व्यवस्था २०२६ जनवरी १ बाट लागू गरिएको छ।
विश्वको दोस्रो ठूलो अर्थव्यवस्था रहेको चीन हाल आफ्नो देशमा जन्मदर बढाउने कोशिसमा जुटिरहेको छ। चीनले हालै मात्र आफ्नो कर प्रणालीमा कयौँ परिवर्तन गरेको छ। सन् १९९४ मा लागू गरिएका कयौँ कर छुटको व्यवस्थाको अन्त्य गरिएको छ। त्यो बेला चीन एक सन्तानको नियममा चलिरहेको थियो।
चीनले नयाँ कर प्रणाली अन्तगर्त विवाह र ज्येष्ठ नागरिकको हेरचाहसँग सम्बन्धित सेवाहरुलाई मूल्य अभिवृद्धि कर (भ्याट) बाट छुट दिएको छ। यो कदम पेरेन्टल लिभ बढाउने र नगद सहायता प्रदान गर्ने जस्ता उपाहरु समेटिएको चीनको व्यापक प्रयासको एक हिस्सा हो।
बढ्दो ज्येष्ठ नागरिकको संख्या र सुस्त अर्थव्यवस्थाको सामना गरिरहेको चीन हाल विवाद गर्न र सन्तान जन्माउनका लागि प्रोत्साहन गर्न कयौँ तरिकाको प्रयासमा जुटिरहेको छ।
सरकारी नीतिको खतरा र उपहास
चीनको जनसंख्या तीन वर्षदेखि लगातार घटीरहेको छ। सन् २०२४ मा चीनमा एक करोडभन्दा पनि कम बच्चा जन्मिएको छ, जुन एक दशक पहिलेको तुलनामा यो आधा मात्र हो।
त्यस समयमा चीनले सन्तान जन्माउने सम्बन्धी आफ्ना नियमहरुमा खुकुलोपन दिन सुरु गरेको थियो। तर पनि कण्डम, गर्भनिरोधक चक्की र अन्य साधनहरुमा कर लगाउँदा अनिच्छित गर्भ र एचआइभीको संक्रमण बढ्ने आशंका पनि गरिएको छ। त्यसैले यसलाई एक तरिकाबाट उपहासको विषयका रुपमा पनि हेरिएको छ।
महँगो कण्डमका कारण यसलाई प्रयोग नगर्ने वा जन्मदर बढ्ने भन्ने विषयमा मानिसहरुको मिश्रित प्रतिक्रिया समेत आउन थालेको छ।
केहीले कण्डम किन्नुभन्दा बच्चाको पालन पोषणमा हुने खर्चको अन्तर धेरै हुनेको गरेको बताएका छन्। बेइजिङस्थित युवा जनसंख्या अनुसन्धान संस्थानको २०२४ को एक रिपोर्ट अनुसार चीन बालबालिकाको पालन पोषण सबैभन्दा महँगो पर्ने देशहरुमध्ये एक हो।
उक्त रिपोर्टमा भनिएको छ, अत्यधिक प्रतिस्पर्धात्मक शिक्षा वातावरणमा विद्यालय शुल्क र महिलाहरुका लागि काम र बच्चाको पालन पोषण बीचको सन्तुलन मिलाउनु चुनौतपूर्ण हुन्छ, जसका कारण खर्च बढ्छ।
आर्थिक झन्झट
आर्थिक मन्दी, जुन आंशिक रूपमा सम्पत्ति संकटका कारण आएको हो, यसले मानिसहरुको बचतमा असर पारेको छ। यसले परिवारहरु, विशेष गरी युवाहरूलाई आफ्नो भविष्यबारे अनिश्चितता महसुस गराएको।
चीनको पूर्वी प्रान्त हेनानमा बस्ने ३६ वर्षीय डेनियल लुओ भन्छन्, ‘मेरो एक बच्चा छ, म अरु बच्चा चाँहन्न।’
गर्भनिरोधक साधनको मूल्यवृद्धिले चिन्ता नभएको बताउँदै उनी भन्छन्, ‘कन्डमको एक डिब्बाको मूल्यमा सायद पाँच युआन, १० युआन वा बढीभन्दा बढी २० युआनको वृद्धि हुन सक्छ। वर्षभरी यो मात्र केही सय युआन हुनेछ, यो खर्च त सम्भवै उठाउन सकिन्छ।’
तर केही व्यक्तिलाई भने गर्भनिरोधकको साधनमा बढेको मूल्यवृद्धिले चिन्ता थपेको छ।
चीनको शीआनकी रोजी रोजी झाओ भन्छिन्, ‘गर्भनिरोधक त आवश्यक छ। यसलाई महँगो बनाउनुको अर्थ यो हुन सक्छ कि विद्यार्थी वा आर्थिक रूपमा संघर्ष गरिरहेका मानिसहरूले जोखिम लिन थाल्नेछन्।’
जोखिम बढ्ने खतरा
चीनमा यस कर सुधारको उद्देश्यलाई लिएर विज्ञहरुबीच मतभेद देखिन्छ। विस्कॉन्सिन मेडिसन विश्वविद्यालयका जनसांख्यिकी विशेषज्ञ यी फुक्सियन भन्छन्, ‘कन्डममा कर बढाउँदा जन्मदरमा असर पर्छ भन्ने सोच्नु अतिशयोक्ति हो।’
चीनलाई कर चाहिन्छ, किनभने देशको हाउसिङ सेक्टरमा आएको मन्दी र बढ्दो ऋणका कारण चीन जहाँ सक्दो त्यहाँबाट कर वसूल गर्न उत्साहित रहेको उनको बुझाई छ।
गत वर्ष चीनको भ्याट राजस्व करिब १ ट्रिलियन डलर थियो, जुन देशले पाउने कुल करको करिब ४० प्रतिशत थियो। सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेशनल स्टडीजकी हेनरिटा लेविन भन्छिन् कन्डममा कर लगाउने कदम ‘प्रतीकात्मक’ हो।
उनको भनाई छ, ‘यो कदम चीनको अत्यन्त कम प्रजनन् दर बढाउने प्रयासमा बेइजिङले जनतालाई प्रोत्साहित गर्न चाहेको संकेत देखाउँछ।’
जनतालाई बच्चा जन्माउन प्रोत्साहित गर्ने चीनको कदम उल्टो पनि पर्न सक्ने उनको भनाई छ। केही प्रान्तमा महिलाहरुलाई स्थानीय अधिकारीहरुले उनीहरुलाई महिनावारी चक्र र बच्चा जन्माउने योजनाबारे सोधिएको खबर पनि बाहिर आएको थियो।
युन्नान प्रान्तको स्थानीय हेल्थ ब्यूरोले गर्भवती महिलाहरुको पहिचान गर्न यस किसिमको तथ्यांक आवश्यक भएको बताएको थियो।
- बीबीसी हिन्दीबाट साभार