रक्तचाप भनेको मुटुले पम्प गरेको रगतले रक्तनली (धमनी) को भित्तामा कति बल वा दबाब दिन्छ भन्ने मापन हो। यो शरीरको सामान्य कार्यका लागि आवश्यक छ, तर यो धेरै बढी वा कम हुनु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। रक्तचाप नाप्दा सधैँ दुईवटा संख्याहरू देखाइन्छ, जस्तै १२०/८०, यसको मापन मिलिमिटर मरक्युरीमा (mm HG) गरिन्छ।
माथिल्लो अंक (सिस्टोलिक रक्तचाप): यो मुटु खुम्चिएर रगतलाई धमनी अथवा रक्तनलीमा धकेल्दा सिर्जना हुने दबाब हो।
तल्लो अंक (डायस्टोलिक रक्तचाप): मुटु दुई धडकनको बीचमा आराम गरिरहेको बेला पनि धमनी अथवा रक्तनलीमा अलिकति दबाब बाँकी रहन्छ , त्यसलाई डायस्टोलिक रक्तचाप भनिन्छ।
सामान्य रक्तचाप कति हो?
सामान्यतया एक स्वस्थ वयस्क व्यक्तिको रक्तचाप १२०/८० mmHg भन्दा कम हुनुपर्छ। यदि रक्तचाप लगातार १४०/९० mmHg वा सोभन्दा बढी रहिरहन्छ भने यसलाई उच्च रक्तचाप मानिन्छ। धेरै बिरामी के कुरामा झुक्किनुहुन्छ भने तल माथिको मध्ये कुन प्रेसर बढी खतरनाक हुन्छ, तर पछिल्ला अनुसन्धानले के देखाएको छ भने दुइटै प्रेसर बराबर खतरा हुन्छन्। अझै कुनै एउटा मात्र प्रेसर बढेको छ भनेपनि उपचार गर्नु अत्यावश्यक छ।
उच्च रक्तचाप किन खतरनाक छ?
उच्च रक्तचापलाई साइलेन्ट किलर पनि भनिन्छ किनभने धेरैजसो मानिसमा सुरुमा कुनै लक्षण देखिँदैन। लक्षण नदेखिए पनि यसले शरीरका महत्त्वपूर्ण अंगहरूलाई भित्रभित्रै क्षति पुर्याइरहेको हुन्छ। कालान्तरमा यिनै असरहरु जम्मा भएर ठूलो र भयानक रुप पनि लिन सक्छ, हामीले जानेबुझेका केही दीर्घकालीन असरहरु निम्न हुन सक्छन्:
• हृदयघात
• मस्तिष्कघात
• मिर्गौला फेल
• आँखाको दृष्टिमा समस्या
रक्तचाप कसरी नियन्त्रण गर्ने?
रक्तचाप नियन्त्रण गर्न स्वस्थ जीवनशैली अपनाउनु र नियमित स्वास्थ्य जाँच गर्नु महत्त्वपूर्ण हुन्छ।
नुन कम खाने: दैनिक ५ ग्रामभन्दा कम नुन सेवन गर्नु शरीरको लागि उत्तम हुन्छ। व्यवहारिक रुपमा भन्नुपर्दा जंक फूड र घर बाहिर बनाइएका अथवा प्याकेट मा पाइने कुराहरुमा नूनको मात्रा धेरै हुन्छ। साथै नून लागेन भनेर पछि थप्दा नूनको मात्रा धेरै पर्न जान्छ। मासु, अचार जस्ता परिकार खाईदा पनि नून धेरै खान सकिन्छ, यस्तो कुरा बढीमात्रामा खांदा विशेष ध्यान पुर्याउनुपर्छ।
तौलः यदि तपाईलाई उच्च रक्तचाप छ भने, तपाइको तौल घटबढ हुदा रक्तचाप पनि घटबढ हुन सक्छ। यसैले तौल घटाउनको लागि कार्बोहाइड्रेट कम खाने, जंक फूड नखाने र पेय पदार्थ लगायत जांड-रक्सी नखानु शरीरलाई उत्तम हुन्छ।
नियमित व्यायाम: दैनिक लगभग ३० मिनेट मध्यम खालको शारीरिक गतिविधि गर्नाले तपाईलाई स्वस्थय राख्न मद्दत गर्छ। तर यसरी व्ययाम गर्दा र्खेरी सास केही मात्रमा छिटो बढोस् अथवा थकान लागोस् भनेर विशेष ख्याल राख्नु पर्ने हुन्छ। छिटो-छिटो हिड्ने र दगुर्ने बाहेक, पौडी खेल्ने, जीम जाने, वा ब्याडमिन्टन खेल्ने जस्ता सामान्य क्रियाकलापलेल पनि उच्चरक्त चाप लाई केही मात्रमा नियन्त्रण गर्न सक्छ। व्यायाम गरेर तौल नघटे पनि यसले तपाइको शरीरलाई अन्य फाइदा गर्छ र दीर्घकालिन असरबाट जोगाउंन मद्दत गर्छ।
स्वस्थ आहार: प्रशस्त फलफूल, सागसब्जी र कम बोसोयुक्त खानेकुरा खानु पनि उच्च रक्तचापको बिरामीको लागी फाइदाजनक हुन्छ।दुध, दही पनि उच्च रक्तचापको लागी राम्रो नै हुन्छ।
यो बाहेक धूम्रपान, मद्यपान त्याग्ने र तनाव व्यवस्थापन गर्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ।
नियमित जाँच: यति सबै गर्दा गर्दै पनि हजुर को रक्तचाप उच्च हुन सक्छ, उच्च रक्तचाप आफ़ूलाइ भएको नभएको थाहा पाऊनको लागि नियमित चेक-जांच गराएर ढुक्क हुनै पर्छ। ३५ वर्ष काटेका वयस्कहरूले वर्षमा २ पटक आफ्नो रक्तचाप जँचाउनै पर्छ। तर यदि तपाइलो बुवा आमा अथवा काका-मामामा उच्च रक्तचाप छ भने अझै सानो उमेर बाट पनि तपाइलाई उच्च रक्तचाप देखिन सक्छ।
तपाईंले आज खाने रक्तचापको औषधिले पाँच वा दश वर्ष पछिको समयमा पक्षाघात, हृदय रोग र अन्य जटिलताहरूबाट जोगिन मद्दत गर्छ। धेरै मानिसहरूले सोच्छन् कि उच्च रक्तचापको औषधिले मृगौलालाई नोक्सान पुर्याउन सक्छ, तर यो सत्य होइन। केही बिरामीमा उच्च रक्तचापको औषधी सेवन गरेपछि शरीर सुन्निने, चक्कर लाग्ने जस्ता सामान्य खराब असरहरु देखीन सक्छ, यस्तो भएमा आफ्नो चिकित्सकलाई तुरुन्त सम्पर्क राख्नुहोला।