नेपालका ठूला सहरहरूमा आजभोलि क्याफे, लाउञ्ज र साथीभाइको भेटघाटमा हुक्का तान्नु “फेसन” जस्तै देखिन थालेको छ। धेरै युवाले यसलाई सिगरेटभन्दा कम हानिकारक ठान्छन्, किनकि धुवाँ पानी हुँदै जान्छ र सुगन्धित हुन्छ। तर यो ठूलो भ्रम हो। हुक्का (Waterpipe / Shisha) भनेको पनि सुर्तीजन्य पदार्थकै धुवाँ फोक्सोभित्र तान्ने तरिका हो। यसबाट निस्कने धुवाँमा क्यान्सर गराउने रसायन, टार, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू हुन्छन्, जसले फोक्सो, मुटु र रक्तनलीमा गम्भीर असर पार्छ।
नेपालमा रोगको भार र बढ्दो चिन्ता
नेपालमा सुर्तीजन्य पदार्थ प्रयोगका कारण फोक्सोको क्यान्सर, मुख तथा घाँटीको क्यान्सर, सीओपीडी (दीर्घ फोक्सो रोग) र मुटुरोग गम्भीर सार्वजनिक स्वास्थ्य समस्या बन्दै गएका छन्। पछिल्ला प्रतिवेदनअनुसार नेपालमा पुरुषहरूमा फोक्सोको क्यान्सर सबैभन्दा धेरै देखिने क्यान्सर (१५.६%) हो भने महिलामा तेस्रो स्थानमा (७.४%) पर्दछ। क्यान्सरसम्बन्धी मृत्युको प्रमुख कारणका रूपमा फोक्सोको क्यान्सर अझै पनि अग्रस्थानमै छ।
ग्लोबोक्यानका अनुसार नेपालमा २२,००८ नयाँ क्यान्सरका केस र १४,७०४ क्यान्सरसम्बन्धी मृत्यु दर्ता भएका छन्, जसमा फोक्सोको क्यान्सरले ठूलो योगदान पुर्याएको देखिन्छ। फोक्सोको क्यान्सरको उमेर-मानकीकृत घटना दर (एएसआईआर) प्रति १ लाख जनसंख्यामा करिब १०.४ रहेको छ। जीवनकालको जोखिम हेर्दा, नेपालमा प्रत्येक ८० जना पुरुषमध्ये १ जना र १०७ जना महिलामध्ये १ जना ७५ वर्षको उमेरअघि फोक्सोको क्यान्सरबाट प्रभावित हुने जोखिममा छन्।
यही सन्दर्भमा, सिगरेटसँगै हुक्का युवामाझ लोकप्रिय हुनु भविष्यका लागि खतराको संकेत हो। धेरैलाई थाहा छैन, एक पटक करिब एक घण्टा लामो हुक्का सेसनले शरीरभित्र धेरै वटा सिगरेट बराबर धुवाँ पुर्याउन सक्छ। 'सुगन्धित' वा 'फ्लेभर' भएकोले जोखिम कम हुन्छ भन्ने कुनै वैज्ञानिक आधार छैन।
हुक्काले फोक्सो र शरीरमा के असर गर्छ?
हुक्काको धुवाँले फोक्सोको भित्री सतहलाई क्रमशः क्षति पुर्याउँछ। यसको परिणामस्वरूप सास फेर्न गाह्रो हुने, लामो समयसम्म खोकी लाग्ने, छाती दुख्ने र बारम्बार श्वासप्रश्वाससम्बन्धी संक्रमण हुने समस्या बढ्छ। दीर्घकालीन प्रयोगले फोक्सोको क्षमता घट्दै जान्छ र सीओपीडी जस्तो दीर्घ रोग विकास हुन सक्छ। यसले मुख, घाँटी र फोक्सोको क्यान्सरको जोखिम उल्लेख्य रूपमा बढाउँछ।
हुक्काबाट निस्कने कार्बन मोनोअक्साइड धेरै मात्रामा साससँगै शरीरमा प्रवेश गर्दा चक्कर लाग्ने, टाउको दुख्ने र मुटुमा गम्भीर तनाव पर्न सक्छ। एउटै पाइप धेरै जनाले प्रयोग गर्दा क्षयरोग, फ्लू र अन्य संक्रमण सर्ने जोखिम पनि बढ्छ। क्याफे वा लाउञ्जमा बस्ने धूम्रपान नगर्ने मानिसहरू समेत निष्क्रिय धूम्रपानका सिकार हुन्छन्, जसको असर बच्चा, गर्भवती महिला र दीर्घ रोग भएका व्यक्तिमा झनै गम्भीर हुन सक्छ।
'सिगरेटभन्दा सुरक्षित' भन्ने भ्रम
धुवाँ पानी हुँदै जानुले विषालु पदार्थ हटाइदिन्छ भन्ने सोच वैज्ञानिक रूपमा गलत हो। पानीले केही ठूला कण मात्र रोक्न सक्छ, तर क्यान्सर गराउने अधिकांश रसायन र सूक्ष्म कण सजिलै फोक्सोसम्म पुग्छन्। उल्टै, हुक्काको धुवाँ चिसो र नरम लाग्ने भएकाले मानिसले गहिरो र लामो सास तान्छ, जसले अझ धेरै विषालु पदार्थ शरीरभित्र प्रवेश गराउँछ।
सरकारी नीति र रोकथाम: अब कडा कदम किन आवश्यक?
नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानुन भए पनि व्यवहारमा हुक्का क्याफे र लाउञ्जहरूमा निगरानी कमजोर देखिन्छ। फोक्सोको क्यान्सरका करिब ६४ प्रतिशत बिरामीहरू चौथो चरण (स्टेज ४) मा मात्रै पहिचान हुने तथ्यले पनि रोकथाम र प्रारम्भिक पहिचान कति कमजोर छ भन्ने देखाउँछ। प्रारम्भिक लक्षणहरूलाई क्षयरोगसँग झुक्क्याएर उपचार ढिलो हुने समस्या अझै विद्यमान छ।
अब हुक्कालाई पनि स्पष्ट रूपमा सुर्तीजन्य पदार्थकै रूपमा कडाइका साथ नियमन गर्न आवश्यक छ। सार्वजनिक स्थलमा पूर्ण प्रतिबन्ध, हुक्का तथा फ्लेभर सुर्तीमा ठूला र स्पष्ट स्वास्थ्य चेतावनी, स्थानीय तहबाट नियमित अनुगमन, विद्यालय–कलेजमा शिक्षा कार्यक्रम र युवालाई लक्षित डिजिटल जनचेतना अभियान अत्यावश्यक भइसकेका छन्।
जनचेतना नै सबैभन्दा बलियो औषधि
कानुन मात्र पर्याप्त हुँदैन, बुझाइ परिवर्तन सबैभन्दा जरुरी छ। 'कहिलेकाहीँ त ठीकै होला' भन्ने सोचले दीर्घकालीन रोग निम्त्याउन सक्छ। हरेक हुक्का सेसनले फोक्सोमा सानो–सानो क्षति थप्दै लैजान्छ। आज हुक्कालाई फेसन होइन, स्वास्थ्य संकटका रूपमा हेर्ने समय आएको छ। समयमै सचेत भयौं भने भोलि नेपालमा फोक्सो क्यान्सर, सीओपीडी र अन्य दीर्घ रोगहरूको बोझ घटाउन सकिन्छ।