तौल घटाउन मानिसहरु खाना कटौती गर्नेदेखि विभिन्न उपायहरु अपनाउने गर्छन्। यही कारण पछिल्लो समय तौल घटाउन प्रयोग गरिने इन्जेक्सनहरु निकै छिटो लोकप्रिय हुँदै गएका छन्। यसलाई ‘स्किनी जैब्स’ अर्थात् ‘पतलो हुने इन्जेक्शन’ पनि भनिन्छ।
मंजारो वा विगोवी जस्ता तौल घटाउने यी इन्जेक्सनहरुले भोक कम गर्छन् र तौल छिटो घटाउन मद्दत पनि। तर एक नयाँ अनुसन्धानले यस्ता तौल घटाउने इन्जेक्सन बन्द गरेपछि तौल सामान्य अवस्थाको तुलनामा चार गुणा छिटो बढ्न सक्ने चेतावनी दिएको छ।
ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अनुसन्धान अनुसार तौल घटाउने इन्जेक्सन प्रयोग गर्दा बढी तौल भएका व्यक्तिहरुको तौल उल्लेख्य रूपमा घट्छ। यी इन्जेक्सनबाट उनीहरुको तौल २० प्रतिशतसम्म कम हुन सक्छ। तर जसरी इन्जेक्सन बन्द गरिन्छ, तौल पुनः हरेक महिना औसतमा ० दशमलव ८ किलोका दरले बढ्न थाल्ने उक्त अनुसन्धानमा देखाएको छ।
तौल घटाउने इन्जेक्सनबाट नै तौल बढ्ने जोखिम !
यस आधारमा हेर्दा यस्ता इन्जेक्सन प्रयोग गर्ने व्यक्तिहरुको तौल करिब डेढ वर्षभित्र पहिले जत्तिकै अवस्थामा फर्किन सक्छ। अक्सफोर्ड विश्वविद्यालयकी अनुसन्धानकर्ता डा सुजन जेब भन्छिन्, ‘यी इन्जेक्सन किन्ने मानिसहरुले उपचार बन्द गरेपछि तौल निकै छिटो फेरि बढ्ने जोखिम हुन्छ भन्ने कुरा थाहा पाउनुपर्छ।’
उनले यी नतिजा मेडिकल ट्रायलबाट प्राप्त भएकोमा जोड दिइन्। उनका अनुसार तौल घटाउने इन्जेक्सनको दीर्घकालीन प्रभावबारे अझै थप अनुसन्धान आवश्यक छ।

तौल घटाउने लोकप्रिय इन्जेक्सनहरुको तुलना सामान्य डाइट वा अन्य औषधिसँग गर्न अनुसन्धानकर्ताहरुले ९ हजारभन्दा बढी बिरामी समेटिएका ३७ वटा अध्ययनहरुको समीक्षा गरेका थिए।
यीमध्ये केवल आठ वटा अध्ययनमा मात्र विगोवी र मंजारो जस्ता औषधिबाट गरिएको उपचारको मूल्यांकन गरिएको थियो। ती अध्ययनहरुमा औषधि बन्द गरेपछि अधिकतम एक वर्षसम्मको मात्र फलोअप अवधि रहेकोले यी तथ्यांकहरु अनुमानका आधारमा मात्रै भएको बीबीसीले जनाएको छ।
अनुसन्धानकर्ताहरुका अनुसार डाइट गर्ने मानिसहरुले इन्जेक्सन लिनेहरुको तुलनामा कम तौल घटाए पनि पछि उनीहरुको तौल बिस्तारै मात्रै बढने गरेको पाइएको छ। यस्ता व्यक्तिहरुको तौल हरेक महिना औसतमा ० दशमलव १ किलोले बढ्छ। यद्यपि यो हरेक व्यक्तिमा फरक फरक हुन सक्छ।
तर इन्जेक्सन मार्फत तौल घटाउने मानिसहरुले जब इन्जेक्सन लिन बन्द गर्छन्, तब उनीहरुको तौल हरेक महिना औसतमा ० दशमलव ८ किलोका दरले बढ्न थाल्छ।
यस्तो किन हुन्छ ?

निश्चित अवधिसम्म यो इन्जेक्सन प्रयोग गरेका मानिसहरुले यसको प्रयोग बन्द गर्नासाथ अत्यधिक भोक लाग्न थाल्ने अनुभव गरेको बताएका छन्।
एक महिलाले भनिन्, ‘मानौं दिमागमा कुनै स्विच अन भएको जस्तो लाग्यो। अब सबै कुरा खानुपर्छ भन्ने सन्देश आउन थाल्यो। यति दिन केही नखाएकोले अब धेरै खाऊँ भनेर दिमागले भन्न थालेजस्तो भयो।’
बेलायतको युनिभर्सिटी अफ सरे का पोषण विशेषज्ञ डा एडम कोलिन्सका अनुसार यी इन्जेक्सनले दिमाग र शरीरमा गर्ने कामको तरिकाबाट नै किन इन्जेक्सन बन्द गरेपछि तौल फेरि बढ्छ भन्ने कुरा बुझ्न सकिन्छ।
यी इन्जेक्सनहरुले भोक नियन्त्रण गर्ने हार्मोन जीएलपी–१ जस्तै काम गर्छन्। डा एडम कोलिन्स भन्छन्, ‘लामो समयसम्म शरीरमा कृत्रिम रुपमा सामान्यभन्दा धेरै गुणा बढी जीएलपी–१ दिइरहँदा शरीरले आफ्नै नेचुरल जीएलपी–१ कम उत्पादन गर्न थाल्छ, र त्यसको प्रभाव पनि घट्न सक्छ।’
उनका अनुसार जबसम्म इन्जेक्सन लिइरहन्छ, तबसम्म खास समस्या हुँदैन। तर जब इन्जेक्सनको प्रयोग बन्द गरिन्छ, भोक नियन्त्रण बाहिर जान थाल्छ र धेरै खाने सम्भावना निकै बढ्छ। जो मानिसहरु केवल इन्जेक्सन वा औषधिमै निर्भर हुन्छन् र खानपान वा अन्य बानी व्यवहारमा कुनै परिवर्तन गर्दैनन् उनीहरुमा समस्या बढ्ने गरेको उनले बताए।
तर ग्लासगो विश्वविद्यालयका प्राध्यापक नवीद सत्तारको धारणा अलि फरक छ। उनका अनुसार यी इन्जेक्सनहरुले छिटो तौल घटाएर स्वास्थ्यमा थप फाइदा पनि पुर्याउन सक्छन्।
उनी भन्छन्, ‘संभव छ की छोटो समयसम्म इन्जेक्सन प्रयोग गर्दा जोर्नी, मुटु र मिर्गौलामा हुने क्षतिलाई सुस्त बनाउन मद्दत मिलोस्। तर यो कुरा पक्कासँग भन्न ठूला र लामो अवधिका ट्रायल आवश्यक छन्।’
बेलायतको ठूलो जनसंख्याले यस्ता इन्जेक्सन प्रयोग गर्छन्
बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) को सल्लाह अनुसार यस्ता इन्जेक्सन मोटोपनासँग सम्बन्धित स्वास्थ्य जोखिमका कारण ओभरवेट भएका व्यक्तिहरुले मात्रै लिनुपर्छ। केवल अलि पातलो हुन चाहनेहरुले यसको प्रयोग गर्नु हुँदैन।
साथै, चिकित्सकहरुले जीवनशैलीमा परिवर्तनको सल्लाह पनि दिनुपर्ने एनएचएसको भनाई छ। यसमा स्वस्थ खानपान र पर्याप्त व्यायाम समावेश हुन्छ, जसले तौल घटाएपछि पनि कायम राख्न मद्दत गर्छ। एनएचएसमा मंजारो प्रयोगको कुनै निश्चित समयसीमा तोकिएको छैन, तर विगोवी भने बढीमा दुई वर्षसम्म मात्रै दिन सकिन्छ।
हालैको अनुमान अनुसार, पछिल्लो एक वर्षमा बेलायतको ठूलो जनसंख्याले यस्ता तौल घटाउने इन्जेक्सन प्रयोग गरेका छन्। करिब १६ लाख वयस्क व्यक्तिले ले तौल घटाउने इन्जेक्सन लिएको बीबीसीले उल्लेख गरेको छ। तीमध्ये धेरैजसोले एनएचएसभन्दा पनि निजी प्रेसक्रिप्सन मार्फत यी इन्जेक्सन खरिद गरेका छन्।

यसका साथै, ३३ लाख मानिसहरूले आगामी एक वर्षभित्र यस्ता तौल घटाउने इन्जेक्सन लिन चाहेको बताएका छन्। यसको अर्थ हरेक १० वयस्कमध्ये एक जनाले या त यो इन्जेक्सन लिइसकेका छन् वा लिन चाहन्छन्। यी तथ्यांक सन् २०२५ को पहिलो त्रैमासिकमा गरिएको एक सर्वेक्षणका आधारमा क्यान्सर रिसर्च यूकेले सार्वजनिक गरेको हो।
पुरुषको तुलनामा महिलाहरुले यी इन्जेक्सन बढी प्रयोग गरिरहेका छन्। पुरुषको तुलनामा महिलाको संख्या झण्डै दोब्बर छ। तीमध्ये पनि ४० देखि ५० वर्ष उमेर समूहका मानिसहरुको संख्या बढी देखिएको छ।
औषधि कम्पनीहरुले के भने ?
मंजारो उत्पादन गर्ने औषधि कम्पनी एली लिलीकी प्रवक्ताले तौल घटाउने औषधि प्रयोग गर्दा स्वस्थ खानपान, व्यायाम र चिकित्सकको निगरानी पनि अनिवार्य हुने बताइन्।
उनले भनिन्, ‘उपचार बन्द गर्दा तौल फेरि बढ्न सक्छ, जुन जैविक कारणले हुने अवस्था हो।’
विगोवी उत्पादन गर्ने कम्पनी नोवो नोर्डिस्कले भनेको छ, ‘यी नतिजाहरुले मोटोपना दीर्घकालीन समस्या भएको देखाउँछन्। तौल र स्वास्थ्य राम्रो राख्न निरन्तर उपचार आवश्यक पर्छ। ठीक त्यस्तै, जस्तै मधुमेह वा उच्च रक्तचापजस्ता रोगमा लामो समयसम्म उपचार गरिन्छ।’
- बीबीसी हिन्दीबाट साभार