जेनेभा- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संयुक्त राष्ट्रसंघअन्तर्गतको स्वास्थ्य निकायबाट अमेरिका औपचारिक रूपमा बाहिरिएकोमा दुःख व्यक्त गरेको छ। संगठनले भविष्यमा अमेरिका पुनः सक्रिय रूपमा सहभागी हुने आशा व्यक्त गरेको छ।
अमेरिकाले गत बिहीबार डब्लुएचओ छाडेको हो। यसअघि एक वर्षदेखि यस्तो निर्णयले अमेरिका तथा विश्वभरको सार्वजनिक स्वास्थ्यमा नकारात्मक असर पर्ने चेतावनी भने दिँदै आइएको थियो।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कोभिड–१९ महामारीको व्यवस्थापनमा डब्लुएचओको भूमिकाप्रति आलोचना गरेको थियो। ट्रम्पले डब्लुएचओ केही सदस्य राष्ट्रहरूको राजनीतिक प्रभावमा परेको र अमेरिकाबाट लिइने आर्थिक योगदान अन्य ठूला देशहरूको तुलनामा बढी भएको दाबी गरेका थिए।
यद्यपि डब्लुएचओले कोभिड–१९ जस्तो अभूतपूर्व विश्व स्वास्थ्य संकटका बेला आफूले जिम्मेवारीपूर्वक काम गरेको जनाएको छ। डब्लुएचओका अनुसार महामारीअघि, महामारीको समयमा र त्यसपछि पनि २४ सै घण्टा सञ्चालनमा रहेका आफ्ना प्रणालीहरूले अमेरिका सहित सबै देशको स्वास्थ्य सुरक्षामा योगदान पुर्याएका छन्।
डब्लुएचओले विश्व स्वास्थ्य सुरक्षाका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको पनि दोहोर्याएको छ।