काठमाडौं- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा न्यूनगुणस्तरको सीटी स्क्यान मेसिन खरिद गरी आर्थिक अनियमितता गरेको अभियोगमा तत्कालीन उपकुलपति प्रा.डा. संगिता सिंह भण्डारीसहित १९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
अख्तियारका अनुसार १२८ स्लाइस सीटी स्क्यान मेसिन खरिदका क्रममा सार्वजनिक खरिद ऐन तथा नियमावलीको गम्भीर उल्लंघन गर्दै योजनाबद्ध रूपमा मिलेमतो गरिएको पाइएको छ। खरिद आवश्यकताको पहिचान र खरिद गुरुयोजना नै नबनाई प्राविधिक स्पेसिफिकेशन तथा लागत अनुमान तयार गरी प्रक्रिया अघि बढाइएको आयोगको ठहर छ।
अनुसन्धानमा सीटी स्क्यान मेसिनको प्राविधिक मापदण्ड पूरा नभए पनि कागजातमा ‘कम्प्लाइ’ उल्लेख गरी हिमालयन मेडिटेक प्रा.लि.लाई योग्य ठहर गरिएको देखिएको छ। मेसिनको इमेज रि–कन्स्ट्रक्सन क्षमता, एनोडको ताप सहनशीलता, तथा यूएस–एफडीए स्वीकृति जस्ता अनिवार्य मापदण्ड पूरा नभए पनि गलत प्राविधिक मूल्याङ्कन प्रतिवेदन तयार गरिएको अख्तियारले जनाएको छ।
राष्ट्रियस्तरको बोलपत्र (एनसीबी) प्रक्रियामा अन्तर्राष्ट्रियस्तरको (आईसीबी) प्रावधान प्रयोग गरी अमेरिकी डलरमा सम्झौता गरिएको, प्रतितपत्र खोल्दा तथा भुक्तानी गर्दा प्रतिष्ठानलाई अनावश्यक आर्थिक भार परेको आयोगको दाबी छ। यसरी कुल रु. ७ करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ ९९ पैसा बराबरको रकम राज्य कोषबाट भुक्तानी भएको र त्यसबाट प्रतिष्ठानलाई प्रत्यक्ष नोक्सानी पुगेको अख्तियारले निष्कर्ष निकालेको छ।
अख्तियारले डा. भण्डारीसहित तत्कालीन कामु रजिष्ट्रार कैलाश प्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभाग प्रमुख डा. बोम वि.सी., बायोमेडिकल इन्जिनियरहरू, मूल्याङ्कन समितिका पदाधिकारीहरू तथा आपूर्तिकर्ता कम्पनी हिमालयन मेडिटेक प्रा.लि. र त्यसका सञ्चालकहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसूरदार ठहर गर्दै कैद, जरिवाना र बिगो असुल उपरको मागदाबी लिएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा सार्वजनिक निकायमा हुने खरिद प्रक्रियामा पारदर्शिता र कानुनी मापदण्डको पालना अनिवार्य रहेको उल्लेख गर्दै यस्ता कार्यप्रति कडा कारबाही जारी रहने स्पष्ट पारिएको छ।
१) राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीहरू
प्रा.डा. संगिता सिंह भण्डारी
कैलाश प्रसाद देव (का.मु. रजिष्ट्रार)
डा. सागर पन्थी (निर्देशक)
डा. बोम वि.सी. (रेडियोलोजी विभाग प्रमुख)
शरद भण्डारी (बोयोमेडिकल इन्जिनियर)
आशुतोष भण्डारी (बायोमेडिकल इन्जिनियर)
डा. श्रीसिया पोखरेल (लेक्चरर)
झन्कार लामिछाने (शाखा अधिकृत)
लीला कुमारी देवकोटा (शाखा अधिकृत)
मेघ बहादुर अधिकारी (शाखा अधिकृत)
हिरालाल भण्डारी (आई.टी. अफिसर)
राजीब बस्नेत (लेखा अधिकृत)
कृष्ण प्रसाद जोशी (फार्मेसी सुपरभाइजर)
विन्दु पौडेल (स्टाफ नर्स)
पूजा ठाकुर (फिजियोथेरापिष्ट)
सतिश बहादुर शाह (कम्प्यूटर असिस्टेन्ट)
२) बाह्य विज्ञ
अमित कुमार चौधरी (कन्सल्टेन्ट बोयोमेडिकल इन्जिनियर)
३) कम्पनी तथा सम्बन्धित व्यक्ति
हिमालयन मेडिटेक प्रा.लि.
अमर श्रेष्ठ (कम्पनीका मुख्य भई कार्य गर्ने)
सन्जु राजकर्णिकार (कम्पनीका मुख्य भई कार्य गर्ने)