अस्पताल आपूर्ति शृङ्खला आधुनिक स्वास्थ्य सेवा प्रणालीको एक अत्यन्त महत्वपूर्ण र अभिन्न हिस्सा हो। अस्पतालमा बिरामीलाई प्रदान गरिने उपचार सेवा केवल चिकित्सक र नर्सको प्रयासबाट मात्र सम्भव हुँदैन। त्यसको पछाडि औषधि, उपकरण, कन्ज्युमेबल सामग्री, प्रयोगशाला सामग्री, शल्यक्रिया सामग्री, इम्प्लान्ट लगायतका विभिन्न सामग्रीहरूको समयमै उपलब्धता आवश्यक हुन्छ।
यी सबै सामग्रीहरूको खरिददेखि वितरणसम्मको सम्पूर्ण प्रक्रिया आपूर्ति शृङ्खलाभित्र पर्दछ। त्यसैले अस्पताल आपूर्ति शृङ्खला स्वास्थ्य सेवाको मेरुदण्ड हो भन्नु अत्युक्ति हुँदैन।
नेपालजस्तो विकासोन्मुख देशमा स्वास्थ्य सेवा प्रणाली पहिले नै विभिन्न संरचनागत चुनौतीसँग जुधिरहेको अवस्थामा प्रभावकारी अस्पताल आपूर्ति शृङ्खलाको आवश्यकता अझ बढी महसुस हुन्छ। कमजोर आपूर्ति शृङ्खला व्यवस्थापनका कारण बिरामीको उपचारमा ढिलाइ, लागत वृद्धि, औषधिको अभाव तथा उपचारको गुणस्तरमा प्रतिकूल असर पर्ने गरेको छ।
अस्पताल आपूर्ति शृङ्खलाको अवधारणा र क्षेत्र
अस्पताल आपूर्ति शृङ्खला भन्नाले बिरामी उपचारका लागि आवश्यक सबै सामग्रीहरूको योजना, खरिद, भण्डारण, वितरण र निगरानी गर्ने एकीकृत प्रणालीलाई जनाउँछ। यसअन्तर्गत मुख्य रूपमा निम्न क्षेत्रहरू पर्दछन्:
- खरिद व्यवस्थापन (प्रोक्योरमेन्ट)
-
- भर्ना बिरामी फार्मेसी (आईपी फार्मेसी)
-
- बाह्य बिरामी फार्मेसी (ओपी फार्मेसी)
-
- शल्यक्रिया कक्ष फार्मेसी (ओटी फार्मेसी)
-
- भण्डारण व्यवस्थापन/स्टोर
ढुवानी तथा वितरण (लजिस्टिक्स र डिस्ट्रिब्युसन)
यी सबै पक्षहरू आपसमा समन्वय भएर सञ्चालन भएमा मात्र अस्पतालको सेवा सुचारु रूपमा सञ्चालन हुन सक्छ।
अस्पताल आपूर्ति शृङ्खलाको महत्व
अस्पताल आपूर्ति शृङ्खलाको महत्व विभिन्न दृष्टिकोणबाट व्याख्या गर्न सकिन्छ।
पहिलो, बिरामी उपचारको निरन्तरता सुनिश्चित गर्न यसको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। जीवनरक्षक औषधि, आईसीयू सामग्री, आपतकालीन औषधि वा शल्यक्रिया उपकरण उपलब्ध नभएमा बिरामीको जीवन नै जोखिममा पर्न सक्छ।
दोस्रो, लागत नियन्त्रणमा यसको ठूलो योगदान हुन्छ। उचित भण्डार योजना, सही समयमा खरिद तथा आपूर्तिकर्तासँग प्रभावकारी सम्झौतामार्फत अनावश्यक खर्च घटाउन सकिन्छ। यसले अस्पतालको आर्थिक स्थायित्व कायम राख्न सहयोग पुर्याउँछ।
तेस्रो, सेवा गुणस्तर र बिरामी सन्तुष्टि आपूर्ति शृङ्खलासँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। आवश्यक सामग्री समयमा उपलब्ध हुँदा उपचार प्रभावकारी हुन्छ र बिरामी तथा परिवार सन्तुष्ट हुन्छन्।
चौथो, चिकित्सकीय उपचारको प्रभावकारितामा पनि यसको महत्वपूर्ण भूमिका हुन्छ। चिकित्सकले गुणस्तरीय औषधि वा उपकरण प्रयोग गर्न पाएमा उपचारको परिणाम सकारात्मक हुन्छ।
नेपालको सन्दर्भमा अवस्था
नेपालको स्वास्थ्य प्रणालीमा अस्पताल आपूर्ति शृङ्खला अझै पूर्ण रूपमा व्यवस्थित र सुदृढ हुन सकेको छैन। धेरै अस्पतालहरूमा खरिद योजना वैज्ञानिक आधारमा नबनाइने, भण्डार व्यवस्थापन कमजोर हुने तथा ढुवानी प्रणाली प्रभावकारी नहुने समस्या देखिन्छ।
नेपालमा धेरैजसो औषधि, शल्यक्रिया उपकरण र मेडिकल कन्ज्युमेबल आयातमा निर्भर छन्। आयात प्रक्रियामा ढिलाइ, भन्सार समस्या, ढुवानी कठिनाइ, मूल्य उतारचढाव तथा औषधि व्यवस्था विभागमा दर्ता सम्बन्धी जटिलताका कारण अस्पतालहरूमा आवश्यक सामग्रीको अभाव हुने गरेको छ। यसले प्रत्यक्ष रूपमा बिरामी उपचारमा नकारात्मक असर पारिरहेको छ।
प्रमुख चुनौतीहरू
१. अत्यावश्यक औषधिको अभाव
जीवनरक्षक औषधि, क्यान्सर औषधि तथा कार्डियाक इम्प्लान्ट समयमै उपलब्ध नहुनु साझा समस्या हो।
२. कमजोर भण्डार व्यवस्थापन
स्टकको सही अनुमान नहुँदा कहिले धेरै भण्डारण (ओभरस्टक) त कहिले अभाव (अन्डरस्टक) हुन्छ। म्याद सकिने नोक्सानी र आपतकालमा सामग्री नपाइनु सामान्य समस्या बनेको छ।
३. मूल्य वृद्धि र अनुगमनको कमजोरी
औषधि तथा कन्ज्युमेबलको उच्च मूल्यले बिरामीको उपचार खर्च अत्यधिक बढाउने गरेको छ। प्रभावकारी मूल्य अनुगमन नहुँदा बिरामी आर्थिक रूपमा प्रभावित भएका छन्।
४. चिकित्सकको ब्रान्ड प्राथमिकता
विशिष्ट ब्रान्ड रोजाइका कारण लागत बढ्ने समस्या देखिन्छ। गुणस्तर र लागतबीच सन्तुलन कायम गर्न चुनौती हुन्छ।
५. नीति र समन्वयको अभाव
अस्पताल, आपूर्तिकर्ता र सरकारी निकायबीच प्रभावकारी समन्वय नहुँदा प्रणाली कमजोर बनेको छ।
सम्भावित समाधान
- वैज्ञानिक भण्डार योजना र ग्याप विश्लेषण लागू गर्ने
- उपभोगमा आधारित पूर्वानुमान तथा एबीसी–भीईडी विश्लेषण अपनाउने
- केन्द्रिय खरिद र सामूहिक खरीदमार्फत लागत नियन्त्रण गर्ने
- जीवनरक्षक औषधिका लागि न्यूनतम सुरक्षित भण्डार अनिवार्य गर्ने
- मूल्य अनुगमन र नियमन प्रभावकारी बनाउने
- चिकित्सक र आपूर्ति व्यवस्थापनबीच समन्वय बढाउने
- डिजिटल प्रणाली (एचआईएस/ईआरपी) लागू गरी वास्तविक समयमै स्टक अनुगमन गर्ने
निष्कर्ष
अस्पताल आपूर्ति शृङ्खला केवल सामान खरिद गर्ने प्रक्रिया मात्र होइन, बिरामीको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण प्रणाली हो। नेपालको सन्दर्भमा गुणस्तरीय, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न यसको सुदृढ व्यवस्थापन अनिवार्य छ।
प्रभावकारी आपूर्ति शृङ्खला बिना उपचारको गुणस्तर सुनिश्चित गर्न सकिँदैन र स्वास्थ्य सेवा प्रणालीलाई दिगो बनाउन पनि सम्भव हुँदैन। त्यसैले नीति निर्माता, अस्पताल व्यवस्थापन तथा सम्बन्धित निकायहरूले यसलाई प्राथमिकतामा राखी सुधारका लागि संयुक्त प्रयास गर्न आवश्यक छ।