काठमाडौं - पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेलले २०८१ पुस महिनामा अटिजम भएका बालबालिकाका लागि निर्देशिका तयार पार्ने निर्णय गरे।
अटिजमको रोकथाम, उपचार, हेरविचार तथा सहयोग जस्ता विषय समेटेर निर्देशिका बनाउने निर्णय गरिएको थियो। तर एक वर्ष भइसक्दा पनि उक्त निर्णय कार्यान्वयनका लागि काम हुन सकेको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी पूर्व स्वास्थ्यमन्त्री पौडेलको कार्यकालमा अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका बनाइने निर्णय भएपनि हालसम्म बन्न नसकेको बताउँछन्।
मन्त्री पौडेलले उक्त निर्णय गरेपनि हालसम्म उक्त निर्देशिका मन्त्रालयले पाइ नसकेको डा बुढाथोकीले बताए। जेनजी आन्दोलनपछि कागजात आगलागीमा परेको वा फलोअप नै नभएको हो त्यस विषयमा आफू अनभिज्ञ रहेको उनको भनाई छ।
नेपालमा बालबालिकामा अटिजम देखापर्ने क्रम बढ्दै गएको भन्दै उनले बढ्दो स्वास्थ्य समस्या सम्बोधन गर्नका लागि मन्त्रालयले काम थाल्ने बताइएको थियो। त्यसका लागि डा दीपक प्रकाश महराको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ। समितिमा दीपकराज सापकोटा, डा सुनिता मलेकु, डा मेरिना श्रेष्ठ, डा अरुण कुँवर लगायत सदस्य रहेका थिए। नेपालमा करिब तीन लाख बालबालिकाहरुमा अटिजम रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ।
के हो अटिजम ?
कान्ति बाल अस्पतालमा कार्यत बाल मनोचिकित्सक डा उत्कर्ष कार्कीका अनुसार अटिजमलाई चिकित्सकीय भाषामा अटिजम स्पेक्ट्रम डिसअर्डर भन्ने गरिन्छ।
यो स्नायु तथा विकाससम्बन्धी एक अवस्था हो। बालबालिकाले देखाउने विभिन्न लक्षणका आधारमा यसलाई अटिजम स्पेक्ट्रम डिसअर्डर भनिन्छ। अटिजमको अवस्थालाई पत्ता लगाउनका लागि अभिभावकमा बालबालिकासँग अन्र्तक्रिया गर्न आवश्यक हुने उनी बताउँछन्।
अन्य रोगहरुजस्तो अटिजमको अवस्था पत्ता लगाउनका लागि विशेष प्रकारका परीक्षणहरु जस्तै एमआरआई, सिटीस्क्यान जस्ता परीक्षण नपर्ने उनको भनाई छ।
चिकित्सक, अभिभावक तथा बालबालिकासँगको अन्र्तक्रियाको आधारमा अटिजमको पहिचान गरिने र यसका लागि अभिभावकले चिकित्सकलाई दिएको विवरण महत्वपूर्ण हुने उनले जानकारी दिए।
अटिजम जैविक कारणले हुने एक अवस्था भएको डा कार्कीको भनाई छ। बच्चा जन्मेको १, २ महिनामा नै यसको पहिचान गर्न नसकिने उनले जानकारी दिए। बच्चा जन्मेर १ वर्ष भइसकेपछि भने विस्तारै अटिजमको अवस्थाबारे पहिचान गर्न सकिने उनी बताउँछन्। बालबालिकाले अभिभावकले बोलाउँदा फर्केर नहेर्ने, अभिभावकसँग आँखामा आँखा नजुधाउने, औंलाले देखाउने जस्ता गतिविधीहरु देखाएमा अटिजमको शंका गर्न सकिने उनले जानकारी दिए।
अटिजमलाई पूर्ण रुपमा निको बनाउने औषधिको विकास हालसम्म गर्न विकास नभएको डा कार्कीले बताए। यसलाई जति छिटो पहिचान गर्न सक्यो उति नै छिटो निको हुने सम्भावना रहने उनले जानकारी दिए। उपचारका लागि बालबालिकालाई तालिम तथा विभिन्न प्रकारको थेरापी दिइने उनले बताए।
अटिजमपछि बालबालिकाको जीवन कसरी सहज बनाउने ?
अटिजम आजीवन रहने एक अवस्था हो। अटिजमको पूर्ण रुपमा उपचार गराउन असम्भव छ। एकदमै नगन्य मात्रामा मात्रै बालबालिकाहरु पूर्ण रुपमा निको हुन्छन्। उमेर अनुसार सहजीकरणको वातावरण तथा थेरापीहरु हुने गर्छ। समयमै चिकित्सकसँगको निरन्तर सम्पर्कमा रहने तथा थेरापी गराएर बालबालिकाहरुलाई सहजीकरण गर्न सकिने डा कार्की बताउँछन्।
बच्चा ५, ६ वर्ष पुगिसकेपछि उसलाई खाना खाने, लुगा लगाउने लगायतका काम गर्न सिकाएर विस्तारै आत्मनिर्भर बनाउनका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुने गर्छ। त्यस्तै बच्चालाई विद्यालयमा राखेर पढाउन सकिन्छ कि सकिदैन भन्नका लागि विद्यालयको वातावरण बुझेर अभिभावकहरुले काम गर्नुपर्ने हुन्छ। त्यस्तै उमेर बढ्दै गएपछि गरिने सहजीकरणले अभिभावकले खेल्ने भूमिका फरक हुन सक्छ।
अटिजम हुन नदिन के गर्ने ?
बालबालिकालाई अटिजम हुनबाट रोक्ने कुनै निश्चित उपाय छैन। यद्यपि गर्भवती भएपनि नियमित रुपमा स्वास्थ्य परीक्षण गराउने, पोषणयुक्त खानेकुरा खाने, तनाव कम गर्ने, मदिरा तथा धुम्रपानको सेवन नगर्ने, चिकित्सकको परामर्श बिना औषधि सेवन नगर्ने, मधुमेहको जोखिम घटाउने लगायतका काम गरेर बालबालिकामा अटिजम हुने जोखिमलाई कम गर्न डा कार्कीले जानकारी दिए।