के तपाईंहरुले भोक लाग्दा रिस उठेको अनुभव गर्नुभएको छ? भोक लाग्दा रिस उठ्ने कुरा अध्ययनबाट पुष्टि भइसकेको छ। भोकले हाम्रो दिमाग प्रभावित गर्छ। भोकका कारण कतिपय समयमा निकै रिस उठ्ने गर्छ। यदि भोक लागेको छ भने अन्य समय भन्दा धेरै रिस उठ्ने गरेको अनुसन्धानले प्रमाणित गरेको छ।
यसको कारण हो - पर्याप्त पोषक तत्व र क्यालोरीबिना हाम्रो मस्तिष्कलाई विकसित हुन र ठीकसँग काम गर्नका लागि संघर्ष गर्नुपर्छ।
हार्वर्ड मेडिकल स्कूलका अनुसार हामीलाई जब भोक लाग्छ, तब रगतमा चिनीको मात्रा घट्छ जसले गर्दा मस्तिष्कको काम गर्ने प्रक्रियामा असर पर्छ र शरीरले ग्लुकोज बढाउन कर्टिसोल र एपिनेफ्रिन (एड्रेनालिन) जस्ता तनाव हर्मोनहरू निकाल्छ, जसले चिडचिडापन हुने , रिस उठ्ने र मूडमा परिवर्तन ल्याउन सक्छ।
'के दैनिक जीवमा केही समय भोकै बस्दा हाम्रो सोच्न तरिका र मुड प्रभावित हुनसक्छ?' हाम्रो सोचमाथि हाम्रो इमोसन हावी हुन्छ। खासगरी जब हामी आफ्नो भावनालाई बुझ्ने र स्वीकार्न कोशिस गर्दैनौं। यदि हामीलाई हाम्रो भावना किन र के कारणले आइरहेको छ भन्ने कारण थाहा पाउँछौं भने नियन्त्रण गर्ने कोशिस गर्छौं।
मनोवैज्ञानिकहरुको भनाइ छ, 'मान्छेलाई तीन कुरा साह्रै महत्वपूर्ण हुन्छ। भोकप्यास, निद्रा र शारीरिका आवश्यकता। यदि यी तीनमध्ये एउटा मात्रै पूरा भएन भने मानसिक स्वास्थ्यमा असर पर्न सक्छ। हामी जति धेरै भोकै बस्छौं, त्यसको सिधा असर दिमागमा पर्छ।
एक अध्ययनका अनुसार खराब मुड अक्सर हामीलाई निराशावादी बनाइदिन्छ। जो हाम्रो सोचलाई अझै धेरै नकारात्मक बनाउन सक्छ। यसपछि हाम्रो मुडको कारक खाना हुन्छ।
डायटिशियन तथा वन हेल्थ कम्पनीको फाउन्डर डा शिखाका अनुसार खाना र हाम्रो मुडमा गहिरो सम्बन्ध हुन्छ। उनी भन्छिन्, 'खाना एक बायोलोजिकल केमेस्ट्री हो। खाना हाम्रो हर्मोन्सलाई ट्रिगर गर्छ। कति मान्छेमा ट्रिगर इटिङ ह्याबिट हुन्छ।
विभिन्न अध्ययनले भोक लाग्दा शरीरमा हुने प्रतिक्रिया र रसायनहरुको सक्रियाताले रिस उठ्ने विषय देखाएका छन्।
१. ग्लुकोजको कमी र मस्तिष्कको प्रतिक्रिया
हाम्रो मस्तिष्कलाई सही ढङ्गले काम गर्न ग्लुकोजको निरन्तर आवश्यकता पर्छ। जब हामी धेरै समयसम्म भोको रहन्छौँ, रगतमा चिनी (ग्लुकोज) को मात्रा घट्दै जान्छ। मस्तिष्कले ग्लुकोजको कमीलाई 'संकट' को रूपमा लिन्छ। यसले गर्दा एकाग्रता घट्ने, झर्को लाग्ने र आवेग नियन्त्रण गर्ने क्षमता कमजोर हुन्छ, जसले गर्दा सानो कुरामा पनि तुरुन्तै रिस उठ्छ।
२. 'काउन्टर-रेगुलेटरी' हर्मोनको उत्सर्जन
जब रगतमा ग्लुकोजको स्तर धेरै तल झर्छ, मस्तिष्कले शरीरका विभिन्न अंगहरूलाई ग्लुकोज बढाउने हर्मोनहरू छोड्न निर्देशन दिन्छ। तीमध्ये दुई प्रमुख हर्मोन हुन्:
एड्रेनालिन: यसलाई 'फाइट अर फ्लाइट' (लड्ने वा भाग्ने) हर्मोन भनिन्छ। यो हर्मोन तनावको बेला निस्कन्छ, जसले मानिसलाई उत्तेजित र आक्रामक बनाउँछ।
कोर्टिसोल: यसलाई 'स्ट्रेस हर्मोन' भनिन्छ, जसले शरीरमा तनावको स्तर बढाउँछ।
३. न्युरोपेप्टाइड-वाई
भोक लागेको बेला मस्तिष्कमा 'न्युरोपेप्टाइड-वाई' नामक रसायन सक्रिय हुन्छ। यसले एकातिर हामीलाई खानका लागि प्रेरित गर्छ भने अर्कोतिर यसले क्रोध र आक्रामकतालाई पनि नियन्त्रण गरिरहेको हुन्छ। यसको उच्च मात्राले मानिसलाई बढी रिसाहा बनाउँछ।