मानव शरीरको प्रतिरक्षा प्रणाली (रोग प्रतिरोधात्मक क्षमता) स्वास्थ्यको मूल आधार हो। यसको प्रमुख काम बाह्य जीवाणु, भाइरस जस्ता रोगजनक तत्वहरूबाट शरीरलाई जोगाउनु हो। तर जब यही प्रणाली असन्तुलित हुन्छ, तब यसले आफ्नै शरीरका कोष, ऊतक र अङ्गहरूलाई शत्रु ठानी आक्रमण गर्न थाल्छ। यस अवस्थालाई आधुनिक चिकित्साशास्त्रमा अटोइम्युन रोग भनिन्छ।
१. अटोइम्युन रोग : अवधारणा र वैज्ञानिक आधार
अटोइम्युन रोगमा शरीरको प्रतिरक्षा प्रणालीले “स्व” र “पर” बीचको भेद छुट्याउन सक्दैन। परिणामस्वरूप, शरीरभित्रै क्षति सुरु हुन्छ।
यसको पहिचानका लागि प्रयोग गरिने एक महत्त्वपूर्ण सूचक हो- आर.ए. (Rheumatoid Factor)।
आर.ए. के हो?
यो रगतमा पाइने एक प्रकारको प्रतिपिण्ड (Antibody) हो।
प्रतिपिण्ड भनेको शरीरले रोगसँग लड्न बनाउने विशेष प्रोटिन हो।
परीक्षणको अर्थ
सामान्य मान: ०–२० IU/ml
२० भन्दा बढी: आर.ए. पोजिटिभ
तर यहाँ एउटा महत्वपूर्ण कुरा के छ भने, आर.ए. पोजिटिभ हुनु भनेको सधैँ रुमेटोइड आर्थराइटिस (Rheumatoid Arthritis) भएको नै हो भन्ने होइन।
अन्य अवस्थाहरू जहाँ आर.ए. पोजिटिभ देखिन सक्छ:
- दीर्घकालीन सङ्क्रमण
- कलेजोसम्बन्धी रोग
- बुढ्यौली अवस्था
अन्य अटोइम्युन अवस्थाहरू
२. अटोइम्युन रोगका कारणहरू (विश्लेषण)
अटोइम्युन रोग बहु-कारक (multifactorial) हुन्छ, जसमा निम्न तत्वहरूको संयुक्त प्रभाव देखिन्छ:
- वंशाणुगत कारण (परिवारिक इतिहास)
- सङ्क्रमणजन्य कारण
- हर्मोनसम्बन्धी असन्तुलन
- पर्यावरणीय प्रभाव (प्रदूषण, जीवनशैली आदि)
यसले शरीरका विभिन्न प्रणालीहरूमा असर पार्न सक्छ:
- स्नायु प्रणाली
- पाचन प्रणाली
- अन्त:स्रावी प्रणाली
- जोर्नी तथा मांसपेशी
- छाला
३. आधुनिक दृष्टिमा व्यवस्थापन
अटोइम्युन रोग पूर्ण रूपमा निको पार्ने भन्दा पनि नियन्त्रण गर्ने दृष्टिकोण अपनाइन्छ:
- सूजन कम गर्ने औषधि
- सन्तुलित आहार
- नियमित व्यायाम
- तनाव नियन्त्रण
४. आयुर्वेदिक दृष्टिकोण : “आमवात”
आयुर्वेदमा रुमेटोइड आर्थराइटिससँग मिल्दोजुल्दो अवस्थालाई आमवात भनिन्छ।
अवधारणा विश्लेषण:
आम = अपचित आहार वा शरीरमा जमेको विषाक्त तत्व
वात = शरीरको गति र सञ्चार प्रणाली
जब “आम” र “वात” दुवै विकृत हुन्छन्, तब जोर्नीहरूमा सङ्कलन भई रोग उत्पन्न हुन्छ।
५. आमवातका लक्षणहरू
- बिहान जोर्नी कडापन (Morning stiffness)
- जोर्नी दुखाइ
- सुन्निने
- हल्का रातोपन
- थकान
- दुवै हात–खुट्टाका जोर्नीमा समान असर
यो सममित (symmetrical) प्रकृतिको रोग हो, जुन यसको पहिचानको महत्त्वपूर्ण आधार हो।
६. कारणहरूको आयुर्वेदिक विश्लेषण
आमवात मुख्यतः जीवनशैली र आहारसँग सम्बन्धित छ:
- अपाच्य, भारी, चिल्लो र चिसो खाना
- जङ्क फुडको अत्यधिक प्रयोग
- शारीरिक निष्क्रियता
- मानसिक तनाव
- अनियमित दिनचर्या
यसले “अग्नि” (पाचन शक्ति) कमजोर बनाउँछ, जसले “आम” उत्पादन बढाउँछ।
७. व्यवस्थापन : आयुर्वेदिक दृष्टिकोण
(क) आहार
खान मिल्ने:
- तातो र हल्का खाना
- दालको झोल, तरकारी
- लौका, करेला, फर्सी
- पुरानो अन्न (चामल, जौ, गहुँ)
- अदुवा, बेसार, लसुन
नखाने:
- चिसो र फ्रिजका परिकार
- रातिको दही
- तारेको, भुटेको, चिल्लो खाना
- अत्यधिक मसला र चिनी
(ख) जीवनशैली (बिहार)
गर्नुपर्ने:
- बिहान चाँडै उठ्ने
- योग तथा प्राणायाम (अनुलोम–विलोम)
- हिँडडुल र स्ट्रेचिङ
- औषधीय तेलले मालिस
नगर्नुपर्ने:
- चिसो वातावरणमा धेरै बस्ने
- राति ढिलो सुत्ने
- अत्यधिक तनाव लिने
(ग) औषधीय पक्ष
चिकित्सकको सल्लाहअनुसार मात्र प्रयोग गर्नुपर्छ।
सामान्य रूपमा प्रयोग हुने जडीबुटीहरू:
- अश्वगन्धा – शरीर सुदृढ बनाउने
- गुग्गुलु – जोर्नी दुखाइ र सुजन घटाउने
- पुनर्नवा – सूजन नियन्त्रण गर्ने
(घ) पञ्चकर्म उपचार
वस्ति (औषधीय एनिमा)
अभ्यङ्ग (तेल मालिस)
स्वेदन (भाप उपचार)
यी उपचारहरूले शरीरबाट “आम” निकाल्न मद्दत गर्छन्।
८. समग्र विश्लेषण (निष्कर्ष)
आमवात तथा अटोइम्युन रोगको व्यवस्थापन बहुआयामिक हुन्छ। ५० प्रतिशत उचित आहार, ३० प्रतिशत सन्तुलित जीवनशैली र २० प्रतिशत औषधिबाट निको हुन्छ।
आमवात वा अटोइम्युन रोगको नियन्त्रणमा औषधिभन्दा पनि आहार र जीवनशैलीको भूमिका बढी हुन्छ। स्वस्थ जीवनशैली अपनाउने हो भने यस्ता दीर्घकालीन रोगहरूलाई धेरै हदसम्म नियन्त्रणमा राख्न सकिन्छ।
(लेखक डा धिताल अहिले काठमाडौँको धुम्बाराहीमा रहेको आयुष हेल्थ केयर सेन्टरमा कार्यरत छन्।)