तपाईंको कपाल कति आकर्षक र स्वस्थ देखिन्छ भन्ने कुरा कपालको प्रकृतिका साथै तपाईंले कस्तो प्रकारको काइँयो वा ब्रस प्रयोग गर्नुहुन्छ भन्ने कुरामा समेत निर्भर गर्दछ।
जब म आफ्नो कपालको निर्णय आफैँ लिन सक्ने उमेरकी भएँ, त्यतिबेलादेखि नै मेरो कपाल ढाडको तल्लो भागसम्म लामो थियो। हुर्कँदै गर्दा मैले भेटेको हरेक अवसरमा कपाल कोर्ने गर्थेँ- बिहान उठ्ने बित्तिकै, बाथरुम जाँदा, र कतिपय अवस्थामा त गृहकार्य (होमवर्क) बाट थोरै फुर्सद पाउँदा पनि कपाल कोर्न थालिहाल्थेँ।
त्यसबेला म १८०० को दशककी अस्ट्रियाकी महारानी 'सिसी' लाई सम्झँदै कपाल कोर्ने गरिरहन्थेँ। मेरो जस्तै सीधा र खैरो कपाल भएकी उनको कपाल गोलीगाँठोसम्म लामो थियो। उनले हरेक रात आफ्नो कपाललाई स्वस्थ राख्न १०० पटक कपाल कोर्ने गर्ने गरेको कथन थियो। (यो कथालाई मैले लामो समयसम्म अकाट्य सत्य मानेर विश्वास गरेँ, तर यो लेख लेख्ने क्रममा अनुसन्धान गर्दा मात्र थाहा भयो कि त्यो त संसारभरका हजुरआमाहरूले सुनाउने एउटा दन्त्यकथा मात्र रहेछ!)
अहिले वयस्क भइसकेपछि म केवल नुहाउने समयमा मात्र कपाल राम्रोसँग कोर्ने गर्छु। तर पनि मेरो कपाल पहिले जस्तै देखिन्छ र उस्तै स्वस्थ महसुस हुन्छ।
भिक्टोरियन युगका ती कथाहरूमा केही सत्यता भए तापनि, कपाल कति पटक कोर्नुपर्छ भन्ने पछाडिको विज्ञान निकै जेलिएको छ। यसबारे भौतिकशास्त्रीदेखि लिएर कपाल विशेषज्ञ (हेयर ड्रेसर) सम्मका मानिसहरू अनुसन्धान गरिरहेका छन्। यसको सही जवाफ तपाईंको कपालको प्रकार, काइँयो वा ब्रसको ढाँचा र तपाईंको दैनिक दिनचर्यामा निर्भर गर्दछ।
कपाल कोर्ने इतिहास र परम्परा
कपाल कोर्ने र यसको हेरचाह गर्ने परम्परा प्रागैतिहासिक कालदेखि नै चल्दै आएको हो। 'मानिसहरूले परापूर्व कालदेखि नै आफ्नो सरसफाइ र सौन्दर्यका लागि उपलब्ध स्रोतसाधनको प्रयोग गरेर औजारहरू बनाउँदै आएका छन्, त्यसैले इतिहासभरि नै कपालको हेरचाह विश्वव्यापी रूपमा महत्त्वपूर्ण रहेको देखिन्छ,' द हेयर हिस्टोरियनकी संस्थापक रेचल गिब्सन भन्छिन्।
रातमा १०० पटक कपाल कोर्ने अवधारणा भिक्टोरियन युगबाट सुरु भएको मानिन्छ। त्यस समयमा सामाजिक मान्यताका कारण महिलाहरूले निकै लामो कपाल पाल्ने गर्दथे। कपाललाई उनीहरूको 'सौन्दर्यको ताज' र नारीत्वको प्रतीक मानिन्थ्यो, गिब्सन भन्छिन्। त्यतिबेला कपालको हेरचाह गर्दा सुरुमा काँयोले अल्झिएको कपाल फुकाइन्थ्यो, र कपालमा भएका फोहोर, धुलो तथा जुम्राहरू निकालिन्थ्यो। त्यसपछि 'बदेलको रौं'बाट बनेको प्राकृतिक ब्रसले कपाललाई चिल्लो बनाउन र कपालको प्राकृतिक तेललाई सबैतिर फैलाउन काइँयो लगाउने वा ब्रस गरिन्थ्यो।
त्यस समयका सम्भ्रान्त भिक्टोरियन महिलाहरूले कपाल कोर्दा कपडामा रौं नझुन्डिनका लागि विशेष प्रकारको केप प्रयोग गर्थे र झरेका रौंहरूलाई एउटा भाँडोमा जम्मा गरेर राख्थे, जसलाई पछि कपालको जुडो वा हेयरस्टाइलमा भोल्युम (चुकुल) थप्न प्रयोग गरिन्थ्यो।
सन् १८९८ मा ओहायो, अमेरिकाकी एक अफ्रिकी-अमेरिकी हेयरड्रेसर लाइडा न्यूम्यानले पहिलो पटक सिन्थेटिक (कृत्रिम) रौं भएको ब्रसको आविष्कार गरिन्। यसले कपाल कोर्ने ब्रसको उत्पादन लागत सस्तो बनायो र बजारमा यसको पहुँच बढाएर कपालको हेरचाहमा क्रान्ति नै ल्याइदियो। तर, यससँगै कपालसम्बन्धी केही भ्रमहरू पनि बजारमा फैलिए।
कपालको भौतिक विज्ञान र जटिलता
धेरै पटक कपाल कोर्दा कपाल तीव्र रूपमा बढ्छ भन्ने एउटा आम धारणा छ। सन् २०२५ मा गरिएको एक सर्वेक्षण अनुसार अझै पनि ४६ प्रतिशतभन्दा बढी मानिसहरू यो कुरामा विश्वास गर्छन्। तर, क्यालिफोर्नियाकी सैलुन सञ्चालक निक्की कोर्जिनका अनुसार यो पूर्णतः भ्रम मात्र हो। धेरै ब्रस गर्दैमा कपाल चाँडो बढ्दैन।
वैज्ञानिकहरूले कपाल कोर्दा हुने क्षति र यसको प्रभाव मापन गर्न विभिन्न शुत्रहरू तयार पारेका छन्। उनीहरूका अनुसार अत्यधिक रूपमा कपाल कोर्दा वा ब्रस गर्दा कपालको जरा खुकुलो हुने र कपाल झर्ने समस्या हुन सक्छ।
अनुसन्धानकर्ताहरूको एउटा टोलीले दुईवटा कपालका रौंहरू आपसमा अल्झिँदा र त्यसलाई जबरजस्ती तनेर फुकाउँदा के हुन्छ भन्नेबारे प्रयोगशालामा परीक्षण गर्यो। नतिजा अनुसार, धेरै पटक जोडसँग कपाल कोर्दा कपाल भित्रैदेखि टुट्ने पाइयो। स्वस्थ कपाल भएका मानिसहरूमा पनि निरन्तरको दबाबले गर्दा कपालको बाहिरी भागबाट भित्री भागसम्म धाँजा पर्ने वा चुँडिने समस्या देखियो।
'हाम्रो बुझाइमा कपाल दुईवटा हाँगामा टुट्नुको मुख्य कारण नै यही हो, किनभने कपाल बढी बाङ्गिँदा त्यसमा अत्यधिक तनाव उत्पन्न हुन्छ,' ट्रिनिटी कलेज डब्लिन, आयरल्यान्डका इन्जिनियरिङका प्राध्यापक डेभिड टेलर भन्छन्, 'वास्तवमा हामीले कति पटक कपाल कोर्यौँ भन्ने संख्या भन्दा पनि कपाल कोर्दा कति बल वा बलियो दबाब दियौँ भन्ने कुराले बढी क्षति पुर्याउँछ।'
'ट्राइ प्रिन्स्टन' (TRI Princeton) नामक कपाल अनुसन्धान संस्थाका ट्रेफोर इभान्सले पनि कपाल कोर्ने प्रक्रियाले कपालमा 'क्रोनिक थकान वा क्षति' (Cumulative fatigue damage) पुर्याउने तथ्याङ्कीय पुष्टि गरेका छन्।
यद्यपि, प्रयोगशालाको यो नतिजा र व्यावहारिक जीवनमा केही फरक हुन सक्ने उनी बताउँछन्। धेरैजसो मानिसका लागि कपालमा गरिने रासायनिक वा तापयुक्त उपचारको तुलनामा सामान्य काइँयो लगाँदा वा ब्रस गर्दा हुने क्षति निकै न्यून हुन्छ। इभान्सका अनुसार कपाल कोर्दा हुने क्षति 'क्षतिको ठूलो महासागरमा सानो थोपा' जस्तै मात्र हो।
कपाल कोर्नुका लुकेका फाइदाहरू
'हल्का र सही तरिकाले कपाल कोर्नु हानिकारक होइन,' कोर्जिन भन्छिन्, 'समस्या कपाल कोर्नुमा होइन, कसरी कोरिन्छ भन्नेमा हो।'
नियमित रूपमा कपाल कोर्दा कपालमा ठूला गिँर्खाहरू पर्न पाउँदैनन् र कपाल गुजिल्टिनबाट जोगिन्छ। जसले गर्दा पछि कपाल कोर्दा जबरजस्ती तान्नु पर्दैन र कपाल टुट्न पाउँदैन। 'हप्तामा एक पटक मात्र जबरजस्ती कपाल कोर्नु भन्दा दिनमा एक वा दुई पटक हल्कासँग कोर्नु निकै फाइदाजनक हुन्छ,' कपालको हेरचाहसम्बन्धी ब्रान्ड सञ्चालन गरिरहेका बायोकेमिस्ट जेरेड रेनाल्ड्स भन्छन्।
नियमित कपाल कोर्दा टाउकोको छालामा जम्मा भएका मरेका कोषहरू, झरेका कपाल र फोहोरहरू बाहिर निस्कन्छन्। यदि यी फोहोरहरू टाउकोमै जमिरहे भने यसले छालामा चिलाउने वा सङ्क्रमण गराउन सक्छ।
कपाल कसरी कोर्ने?
कपाल कोर्ने सबैभन्दा उत्तम तरिका तपाईंको कपालको प्रकारमा भर पर्छ। मियामी, अमेरिकाकी सैलुन सञ्चालक निकोला लिन्चका अनुसार सीधा (Straight) वा हल्का घुम्रिएको (Wavy) कपाल भएका मानिसहरूले हप्तामा कम्तीमा तीन पटक वा आवश्यकता अनुसार दिनमा दुई पटकसम्म कपाल कोर्नु उपयुक्त हुन्छ।
'तर, सीधा वा हल्का घुम्रिएको कपाल भएकाहरूले कपाल भिजिरहेको (Wet hair) अवस्थामा कहिल्यै पनि कोर्नु हुँदैन,' लिन्च भन्छिन्। भिज्दा कपाल बाक्लो र बलियो महसुस भए तापनि यो वास्तवमा निकै कमजोर अवस्थामा हुन्छ।
यसको वैज्ञानिक कारण के हो भने, कपालको रौं मुख्य दुई भागले बनेको हुन्छ- भित्री भाग (Cortex) र बाहिरी भाग (Cuticle)। बाहिरी भाग हाम्रो नङ जस्तै केराटिन नामक प्रोटिनको तहले बनेको हुन्छ, जुन घरको छानामा टायल खप्ट्याएर राखिए जस्तै मिलेर बसेको हुन्छ। जब सीधा कपाल भिज्छ, ती टायलका प्रकृतिका तहहरूका किनाराहरू खुल्छन् र तन्किन्छन्, जसले गर्दा कपाल सजिलै टुट्ने वा बीचैमा काटिने सम्भावना बढी हुन्छ।
अर्कोतर्फ, अत्यधिक घुम्रिएको वा कर्ली कपाल भएका मानिसहरूका लागि भने यो नियम ठ्याक्कै उल्टो हुन्छ। उनीहरूले कपाल सुक्खा भएको बेला कहिल्यै कोर्नु हुँदैन। उनीहरूले केवल नुहाउने वा कपाल धुने समयमा मात्र अल्झिएको कपाल फुकाउनुपर्छ।
स्पेलम्यान कलेज, जर्जियाकी रसायनशास्त्रकी प्राध्यापक मिशेल गेन्सका अनुसार घुम्रिएको कपालको भौतिक र रासायनिक गुण सीधा कपालको भन्दा निकै फरक हुन्छ। उनले टेक्सचर्ड कपालको प्रकारलाई वैज्ञानिक रूपमा वर्गीकरण गर्ने विधि विकास गरेकी छन्। उनका अनुसार कपाल जति बढी घुम्रिएको वा जेलिएको हुन्छ, त्यसमा हुने रासायनिक बन्डहरू पनि परिवर्तन हुन्छन्, जसले कपालको मजबुती र टुट्ने प्रक्रियालाई असर गर्छ।
गेन्सको प्रारम्भिक अनुसन्धानले के देखाउँछ भने, घुम्रिएको कपालमा क्युटिकलको पत्रहरू साना र निकै बाक्ला हुन्छन्, जसका कारण कपालले लामो समयसम्म ओस वा चिस्यान सोसेर राख्न सक्दैन र कपाल चाँडै सुक्खा भई अल्झिने र टुट्ने गर्दछ।
यसबाहेक, आधुनिक फेसनका नाममा कपाललाई सिधा बनाउने (स्ट्रेट), रिल्याक्सिङ गर्ने वा थप कपाल बाट्ने (ब्राइडिङ) जस्ता अत्यधिक केमिकल र मेसिन प्रयोग गर्दा कपालमा झन् ठूलो क्षति पुग्ने प्रा.डा. गेन्स बताउँछन्। त्यसैले, यस्तो कपाल भएका मानिसहरूले कपाल कोर्नुअघि अल्झिएको फुकाउने कन्डिसनर वा 'डिट्याङ्गलिंग' क्रिम वा सिरमको प्रयोग गर्नु आवश्यक हुन्छ ताकि काँयो वा ब्रस सजिलैसँग चिप्लियोस् र कपाल नतन्कियोस्।
सही काइँयो वा ब्रसको छनोट
कपाल जुनसुकै प्रकारको भए पनि सही काइँयो वा ब्रसको छनोट गर्नु सबैभन्दा महत्त्वपूर्ण पक्ष हो।
'यदि तपाईंको कपाल घुम्रिएको छ, वा सीधा कपाललाई नै भिजेको बेला कोर्नुपर्ने बाध्यता छ भने, कहिल्यै पनि कडा काइँयोको प्रयोग नगर्नुहोस्। यसका लागि बजारमा पाइने लचिलो र नरम दाँत भएको विशेष काइँयो वा ब्रस प्रयोग गर्नुस्,' लिन्च सल्लाह दिन्छिन्।
सुक्खा कपालका लागि भने टाउकोको छालालाई अनुकूल हुने र प्राकृतिक तेललाई कपालको टुप्पोसम्म पुर्याउन मद्दत गर्ने नरम काइँयो वा ब्रस प्रयोग गर्नुपर्छ।
कपालको यही संवेदनशीलतालाई ध्यानमा राखेर अहिले वैज्ञानिक तथा विशेषज्ञहरूले प्लास्टिकका लामा दाँत र बदेलको रौं जस्ता साना काइँयो र ब्रसहरू मिसाएर 'हाइब्रिड ब्रस' समेत बनाइरहेका छन्। यसले कपालको अल्झिएको भाग पनि सजिलै फुकाउँछ, कपाललाई चम्किलो बनाउँछ र यसको प्राकृतिक स्वस्थता पनि कायम राख्छ।
इतिहास हेर्ने हो भने, इस्वी संवत् पूर्व ३२०० भन्दा अगाडिका इजिप्टका चिहानहरूमा हात्तीको दाँतबाट बनेका काइँयोहरू र रुखका हाँगाहरूबाट बनेका ब्रसहरू भेटिएका थिए। भविष्यमा कपालको रसायन र भौतिक विज्ञानको बुझाइ अझ फराकिलो हुँदै जाँदा कपाललाई सुरक्षित राख्ने अझ नयाँ र वैज्ञानिक प्रविधिहरू आउने निश्चित छ।
बीबीसीबाट भावानुवाद