'नयाँ सबै राम्रो, पुराना सबै खराब' भन्ने सोचबाट नेपाल अघि बढिरहेको छ। तर के साँच्चै सबै नयाँ राम्रा र सबै पुराना नराम्रा हुन्छन्? पक्कै होइन। तर उल्टो पनि सत्य हो- सबै पुराना राम्रै हुन्छन् भन्ने पनि होइन।
यही द्वन्द्व, यही बहस र यही मनोविज्ञान हालैको एनएमए निर्वाचनमा देखियो। परिवर्तनका नारा गुञ्जिए, पुरानालाई गाली गरियो, नयाँलाई आशाको केन्द्र बनाइयो। तर परिणाम फरक आयो। किनभने भावना र वास्तविकता सधैं एउटै हुँदैनन्। मूल प्रश्न भने पुरानो वा नयाँ होइन, संस्था, व्यक्ति र प्रणाली समयसँगै परिवर्तन हुन चाहन्छ वा चाहँदैन भन्ने हो।
एनएमए अर्थात् नेपाल मेडिकल एसोसिएसनको स्थापना सन् १९५६ मा भयो। त्यतिबेला नेपालमा डाक्टरहरू औँलामा गन्न सकिन्थे। स्थापनाकालदेखि यसको मुख्य उद्देश्यहरू थिए- चिकित्सा पेशाको मर्यादा र अधिकारको रक्षा, सार्वजनिक स्वास्थ्यको पैरवी, चिकित्सकबीच एकता, चिकित्सा शिक्षा र अनुसन्धानको प्रवर्द्धन, र राज्यसँग चिकित्सकको आवाज बन्नु।
यो एउटा संस्था मात्रै होइन, नेपाली चिकित्सकहरूको सामूहिक आवाज हो। सात दशक पार गरेको यो संस्था आज हजारौँ चिकित्सकको साझा घर हो। तर प्रश्न उही छ- घर छ, तर त्यो घरमा अपनत्व छ कि छैन?
परिवर्तनसँग नहिँड्दा के हुन्छ?
यत्रो ठूलो संस्था भए पनि कतै यसले आफ्नो बाटो गुमायो भन्ने प्रश्न उठ्छ। कारण स्पष्ट छ- परिवर्तनसँग तालमेल मिलाउन नसक्नु।
संसारमा एक मात्र स्थिर कुरा परिवर्तन हो। समय बदलिन्छ, पुस्ता बदलिन्छ र सोच बदलिन्छ। परिवर्तन रोक्न खोज्नु भनेको बगिरहेको नदीलाई हातले थाम्न खोज्नु जस्तै हो, केही क्षण रोकिएजस्तो देखिए पनि अन्ततः नदी आफ्नै बाटो जान्छ।
इतिहासले त्यही संस्थालाई सम्झिन्छ, जसले परिवर्तनलाई बुझ्यो, स्वीकार गर्यो र आफूलाई ढाल्यो। अरू केवल नाममा बाँच्छन्, प्रभावमा होइन। एनएमए पनि यदि परिवर्तनसँग हिँडेन भने संस्था त रहला, भवन रहला, चुनाव रहला तर नयाँ पुस्ता टाढिँदै जानेछ। अन्ततः संस्था 'शरीर त हुने तर आत्मा नहुने' अवस्थामा पुग्न सक्छ।
नयाँ डाक्टरसँग सदस्यता प्रकियाबाटै दूरी
नयाँ मेडिकल अफिसरहरू, जसलाई एनएमएले आफ्नो 'मूल आधार' भन्छ, उनीहरूलाई नै यसको उद्देश्य र महत्व राम्रोसँग बुझाउन सकिएको छैन। सदस्यता प्रक्रियादेखि नै दूरी सुरु हुन्छ। ३५०० रुपैयाँ तिरेपछि वर्षौं पर्खनुपर्ने अनुभवले नयाँ डाक्टरलाई संस्था आफ्नै लाग्दैन।
चुनावको बेला 'हाम्रो मान्छे' बनाउने, पछि प्रश्न उठाउँदा असहज वातावरण बनाउने प्रवृत्तिले सदस्यहरू केवल दर्शक जस्ता बन्छन्। यसैले सदस्यता पैसा तिरेर 'ट्याग' लगाउने प्रक्रिया होइन, बुझाइ र सहभागितामा आधारित हुनुपर्छ।
त्यसैले अब एनएमएले परिवर्तन देखावटी होइन, महशुस हुनेगरी गर्नुपर्छ । त्यसका लागि निम्न कुरामा सुधार जरुरी छ :
१. सदस्यता प्रक्रिया
३००० रुपैयाँ तिरेपछि वर्षौं कुर्ने प्रणाली बदलिनुपर्छ। कम्तीमा ६ महिनाको अवधिमा नयाँ डाक्टरलाई सक्रिय रूपमा जोड्नुपर्छ। स्नातकपछि डाक्टरहरू अन्योलमा हुन्छन्, त्यही बेला एनएमए मार्गदर्शन बन्नुपर्छ।
२. 'प्रिअप' पहल
एनएमएले “प्रिअप” जस्तो पहल सुरु गर्न सक्छ, जसले नयाँ डाक्टरलाई वास्तविक क्लिनिकल निर्णयमा सहयोग पुर्याउँछ।बोन्डिङ, इन्टर्नसिप वा प्रारम्भिक कामको बेला धेरै व्यावहारिक समस्या आउँछन्। जस्तै ईसीजी रिडिङ, छालाका अवस्था, इमर्जेन्सी प्रोटोकल, , रिफरल अवस्थाका लागि एनएमएले 'प्रिअप' सुरू गर्नुपर्छ। इमर्जेन्सी र ननइमर्जेन्सी दुवैको प्रोटकल तयार पारेर नयाँ डाक्टरलाई अभिमुखीकरण गराउन पर्छ। यस्ता साना कुराले धेरै मेम्बर जोडिन्छन् र यो सझा घर बन्छ।
३. इन्टरजेनेरेसनल लर्निङ प्लेटफर्म
वरिष्ठ चिकित्सकको अनुभव र युवा डाक्टरको जिज्ञासा जोड्नुपर्छ। भाइबर वा ह्वाट्सएप आधारित प्रोफेसनल नेटवर्क बनाउँदा, कुनै गाउँमा काम गर्ने डाक्टरले ईसीजी पठाएर तुरुन्त सुझाव पाउन सक्छ। कुनै डर्म्याटोलोजिकल लिजन देख्दा सीनियर बाट तत्काल रेसपोन्स आओस् यो सानो कदमले ठूलो प्रभाव पार्छ।
४. सुरक्षा र भरोसा
नेपालमा डाक्टरमाथि हिंसाका घटना बढिरहेका छन्। केवल कानुनले मात्र सुरक्षा सुनिश्चित हुँदैन। अस्पतालमा कुटिने, धम्की पाइने, मेडिको-लिगल जोखिम झेल्ने चिकित्सकलाई केवल 'हामी साथमा छौं' भन्ने फेसबुक स्टाटसले पुग्दैन। एनएमएले इन्डेम्निटी इन्स्योरेन्स र स्वास्थ्य बीमा जस्ता ठोस प्रणाली ल्याउनुपर्छ, जसले डाक्टर र उनीहरूको परिवारलाई वास्तविक सुरक्षा दिन सकोस्।
५. सीएमई
आजको समय इभिडेन्स-बेस्ड मेडिसिनको हो। एनएमएले अनलाइन र अफलाइन दुवै माध्यमबाट नियमित सीएमई प्लेटफर्म बनाउनुपर्छ। काठमाडौंमा मात्र होइन, बाजुरासम्म अपडेटेड ज्ञान पुग्नुपर्छ। यसले उपचार सुधार गर्छ र समाजमा विश्वास बढाउँछ।
६. सामाजिक र मनोरञ्जन गतिविधि
आज धेरै युवा डाक्टरका लागि एनएमए केवल चुनावको बेला आउने सूचना मात्र बनेको छ। यो धारणा बदल्नुपर्छ। नेटवर्किङ, सामाजिक कार्यक्रम, मनोरञ्जन गतिविधि मार्फत 'यो हाम्रो परिवार हो' भन्ने भावना विकास गर्नुपर्छ।
७. पारिश्रमिक (तलब र सुविधा)
चिकित्सकहरूको पेशागत जीवनको सबैभन्दा संवेदनशील तर बारम्बार बेवास्ता हुने पक्ष हो- पारिश्रमिक। आज पनि धेरै ठाउँमा डाक्टरहरूले न्यून तलबमा काम गर्नुपर्छ, अनि त्यसमाथि त्यो तलब पनि समयमा नपाउने समस्या सामान्य जस्तै बनेको छ। यो आर्थिक समस्या मात्र होइन, पेशागत सम्मान, सुरक्षा र आत्मविश्वासको आधार हो। एनएमएले यदि यस क्षेत्रमा ठोस भूमिका खेल्न सक्छ भने मात्र चिकित्सकहरूको मनोबल बलियो हुन्छ र संस्था वास्तवमै उनीहरूको साझा आवाज बन्न सक्छ।
परिवर्तन जरुरी छ । यदि एनएमए परिवर्तन भएन भने भवन त रहला, चुनाव त होला, पोस्टर त होलान् तर युवा डाक्टरहरू त्यहाँ हुने छैनन्। त्योबेला विकल्पहीन विकल्प बाँकी रहन्छ- संस्था बाँचेकोमा खुशी हुने कि आत्मा हराएकोमा दुःखी हुने। त्यसैले एनएमएलाई केवल चुनावी संस्था होइन, प्रोफेसनल इकोसिस्टम, मेन्टरशिप प्लेटफर्म र सुरक्षा कवच बनाउनु आजको आवश्यकता हो।