आफ्नो सम्पूर्ण थकानलाई ओठका मुस्कानभित्र चुपचाप गुम्स्याएर, अरूको अन्तर्वेदनासँग निरन्तर युद्ध गर्दै, मनका कुण्ठित वेदनाहरूलाई मौनताको कारागारमा थुनेर आफ्ना जवानीका उज्याला दिनहरू, निद्राका मधुर सपना, ऊर्जा र अभिलाषाहरू दिनप्रतिदिन समयको गर्भमा विलीन हुँदै गइरहँदा पनि आफ्नै परिवारको प्रतीक्षाभन्दा माथि उठेर अपरिचित परिवारको जीवनमा आशाको दीप प्रज्वलित गर्ने महान् नायक हुन् सेतो कोटभित्रका सिपाही।
स्वास्थ्यकर्मी त्यो पात्र हो, जो जीवन र मृत्युबीचको साँघुरो पुलमा उभिएर आफ्नो प्राणको ज्योति ननिभ्दासम्म मानवताको पक्षमा निरन्तर संघर्ष गरिरहन्छ। जब मानिसहरू परिवारसँगको सुखद निद्रामा हराउँछन्, जब चाडपर्वको खुसीले घर–आँगनमा रौनक छाउँछ, तब उनीहरू अस्पतालका ती चिसा गल्लीहरूमा आशाको अन्तिम किरण समातेर बसेका मानिसहरूको सासको पहरा दिइरहेका हुन्छन्।
उनीहरूका लागि दशैंको रातो टीका, तिहारको झिलिमिली वा नयाँ वर्षको उत्सवभन्दा पनि बहुमूल्य हुन्छ कुनै आमाको मुहारमा फर्किएको मुस्कान, पुनः सामान्य लयमा धड्किएको कुनै बुबाको मुटु र फेरि बाँच्ने साहस जुटाएको एउटा नयाँ जीवन।
स्वास्थ्यकर्मीले सेवाको सपथ खाएका हुन्छन्, तर अपमान सहने होइन। उनीहरूले केवल कागजमा होइन, आफ्नै रगत, पसिना र मिहिनेतले सेवाको सपथ लेखेका हुन्छन्। तर विडम्बना, यही यात्राको अन्त्यमा कहिलेकाहीँ फूल होइन, पत्थरको वर्षा भेटिन्छ।
लाखौँ स्वास्थ्यकर्मी छन्, जसले आफ्ना आँसुहरू मास्कभित्रै सुकाउँछन्। उनीहरूको पीडा ड्युटीको रजिस्टरमा कहिल्यै लेखिँदैन। त्यो कर्तव्यको पर्दाभित्रै लुकाइन्छ। सबैभन्दा तीतो यथार्थ के छ भने, यमराज भनिने कालको मुखबाट कसैलाई बचाउँदा ताली बजाउने हात विरलै भेटिन्छन्। तर यदि बिरामीको अवस्था आफैंमा गम्भीर छ र दुर्भाग्यवश उसको मृत्यु हुन्छ भने, सिधै स्वास्थ्यकर्मीको काँधमा दोषको भारी थुपार्ने प्रवृत्ति हाम्रो समाजमा अझै जीवित छ।
हो, आजको समाजको सबैभन्दा सजिलो काम नै हो- स्वास्थ्यकर्मीको चरित्रमाथि प्रश्न उठाउनु, आक्षेप लगाउनु र हिंसात्मक व्यवहार गर्नु। तर के हामीले कहिल्यै सोचेका छौँ? यदि यी सेवा गर्ने हातहरूले विश्राम लिए भने के हुन्छ? यदि यी रातभर जाग्राम बस्ने आँखाहरू नै थाकेर बन्द भए भने के हुन्छ?
हामीले प्रश्न स्वास्थ्यकर्मीमाथि होइन, हाम्रो सङ्कीर्ण सोच र चेतनामाथि उठाउनुपर्छ। हामी हाम्रो समाजलाई कस्तो मोडतिर लैजाँदै छौँ? जहाँ सेवा गर्ने हातलाई सम्मानको सट्टा शंकाको उपहार दिइन्छ, जीवन बचाउने प्रयासलाई धन्यवाद त परको कुरा, आरोपको चर्को स्वर र कहिलेकाहीँ हिंसाको प्रतिफल दिइन्छ।
कोभिड–१९ महामारीका ती भयावह दिनहरूलाई आज फेरि सम्झन चाहन्छु। जुन बेला संसारभर त्रास फैलिएको थियो, एक मानिस अर्को मानिससँग डराउनुपर्ने अवस्था सिर्जना भएको थियो। संसार घरभित्र सुरक्षित बसेको बेला कोभिडको कालसँग प्रत्यक्ष सामना गर्दै अरूको सास जोगाउने त्यिनै स्वास्थ्यकर्मी थिए। पीपीईभित्र पसिनाले रुझेका शरीर, मास्कभित्र लुकेका घाउहरू, मानसिक दबाब, पीडा, निद्राविहीन रातहरू र मृत्युको छायाँसँगको सामना- यी सबै उनीहरूको दैनिक जीवन बनेका थिए।
केही समय सबैले ताली बजाए, फूल वर्षाए, "फ्रन्टलाइन हिरो" भने। तर महामारीको आँधी शान्त हुनेबित्तिकै फेरि उही दोहोरियो, स्वास्थ्यकर्मीप्रतिको अविश्वास, अपमान र हिंसा।
जब सेतो कोटभित्रको मनुष्य आफैं बिरामी पर्छ, तब उसलाई सुनाइन्छ- "ए, आफैं धामी, आफैं झाँक्री? स्वास्थ्य सेवा दिने व्यक्ति भएर पनि बिरामी परेको? तिमीलाई पनि रोग लाग्छ र?" यस्ता शब्दहरू स्वास्थ्यकर्मीका लागि नयाँ होइनन्। दिनहुँ यिनै प्रश्न, यिनै व्यङ्ग्य र यिनै तिरस्कारका स्वरहरू उनीहरूको कानमा ठोक्किरहन्छन्।
यथार्थको धरातलमा हेर्ने हो भने, उनीहरूसँग उपचार गर्ने सीप हुन्छ, तर अमर रहने शक्ति हुँदैन। सेवा गर्ने सपथ हुन्छ, तर पीडा नहुने वरदान हुँदैन।