आजको स्वास्थ्य सेवा पहिलेभन्दा धेरै जटिल बन्दै गएको छ। मानिसहरूको आयु बढ्दै गएको छ, मधुमेह, उच्च रक्तचाप, मुटुरोग, क्यान्सर तथा मिर्गौला रोगजस्ता नसर्ने रोगहरू तीव्र रूपमा बढिरहेका छन्, र धेरै बिरामीले एकैसाथ धेरै औषधि सेवन गर्नुपर्ने अवस्था छ। औषधिले जीवन बचाउँछ, रोग नियन्त्रण गर्छ र जीवनस्तर सुधार्छ। तर औषधिको संख्या बढ्दै जाँदा गलत औषधि प्रयोग, औषधिबीचको अन्तरक्रिया, अनावश्यक औषधि, गम्भीर साइड इफेक्ट तथा औषधिसम्बन्धी त्रुटिको जोखिम पनि बढ्दै जान्छ। यही चुनौतीको समाधानका रूपमा विश्वका विकसित देशहरूले कन्सलटेन्ट फर्मासिस्ट को अवधारणालाई स्वास्थ्य सेवाको अभिन्न अंग बनाएका छन्।
कन्सलटेन्ट फर्मासिस्ट भनेका औषधि विज्ञान र क्लिनिकल उपचारमा उच्च दक्षता हासिल गरेका विशेषज्ञ फार्मासिस्ट हुन्। उनीहरूको भूमिका औषधि बेच्ने वा वितरण गर्ने मात्र होइन, बिरामीका लागि सबैभन्दा सुरक्षित, प्रभावकारी र वैज्ञानिक आधारमा औषधि छनोट गर्ने, चिकित्सक तथा नर्ससँग मिलेर उपचार योजना तयार गर्ने, औषधिको प्रभाव मूल्याङ्कन गर्ने, औषधिबाट हुन सक्ने जोखिम घटाउने तथा बिरामीलाई सही औषधि सही तरिकाले प्रयोग गर्न सहयोग गर्ने हो।
बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलियालगायतका देशहरूमा कन्सलटेन्ट फर्मासिस्ट हरू अस्पताल, विशेषज्ञ सेवा केन्द्र, वृद्धाश्रम तथा प्राथमिक स्वास्थ्य सेवामा सक्रिय रूपमा कार्यरत छन्। उनीहरू चिकित्सकसँगै वार्ड राउन्डमा सहभागी हुन्छन्, जटिल बिरामीहरूको औषधि उपचारको समीक्षा गर्छन्, औषधिको मात्रा समायोजन गर्छन्, औषधिबाट हुने दुष्प्रभावको निगरानी गर्छन्, एन्टिबायोटिकको उचित प्रयोग सुनिश्चित गर्छन् तथा स्वास्थ्यकर्मीहरूलाई नवीनतम उपचारसम्बन्धी जानकारी प्रदान गर्छन्।
विश्वभर भएका अनुसन्धानहरूले देखाएका छन् कि कन्सलटेन्ट फर्मासिस्ट को सक्रिय सहभागिताले औषधिसम्बन्धी त्रुटि घट्छ, बिरामीको उपचार परिणाम सुधारिन्छ, hospital मा पुनः भर्ना हुने सम्भावना कम हुन्छ, औषधिको दुरुपयोग नियन्त्रण हुन्छ र स्वास्थ्य सेवाको खर्च समेत घट्छ। विशेष गरी दीर्घरोग भएका बिरामी, धेरै औषधि सेवन गर्ने ज्येष्ठ नागरिक तथा जटिल अवस्थाका बिरामीहरूको उपचारमा उनीहरूको भूमिका अत्यन्त प्रभावकारी देखिएको छ।
नेपालमा पनि पछिल्ला वर्षहरूमा फार्मेसी शिक्षामा उल्लेखनीय प्रगति भएको छ। बि फर्म पछि डाक्टर अफ फार्मेसी कार्यक्रम सुरु भएपछि औषधिको वैज्ञानिक प्रयोग, क्लिनिकल फार्मेसी, बिरामी परामर्श, औषधि सुरक्षा तथा प्रत्यक्ष बिरामी सेवामा दक्ष जनशक्ति उत्पादन हुन थालेको छ। तर विडम्बना, यस्ता दक्ष जनशक्तिको ज्ञान र सीपलाई स्वास्थ्य प्रणालीले अझै पूर्ण रूपमा उपयोग गर्न सकेको छैन।
अधिकांश फार्मासिस्टहरू अझै पनि औषधि व्यवस्थापन, खरिद तथा वितरणमा सीमित छन्। उनीहरूले हासिल गरेको उन्नत क्लिनिकल ज्ञान प्रत्यक्ष बिरामी उपचारमा प्रयोग गर्ने अवसर निकै न्यून छ। यसले केवल फार्मेसी पेसालाई मात्र होइन, सम्पूर्ण स्वास्थ्य प्रणालीलाई पनि ठूलो अवसरबाट वञ्चित गरिरहेको छ।
नेपालमा URI नसर्ने रोगको बढ्दो भार, वृद्ध जनसंख्याको वृद्धि, धेरै औषधि प्रयोग गर्ने बिरामीको संख्या बढ्दै जानु तथा एन्टिबायोटिक प्रतिरोध जस्ता चुनौतीहरू तीव्र बन्दै गएका छन्। यी समस्याको प्रभावकारी व्यवस्थापनका लागि औषधि उपचारका विशेषज्ञको आवश्यकता पहिलेभन्दा धेरै बढेको छ।
यदि नेपालका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा कन्सलटेन्ट फर्मासिस्ट को व्यवस्था गरियो भने उनीहरूले औषधिको वैज्ञानिक समीक्षा, औषधिसम्बन्धी समस्या पहिचान, बिरामी परामर्श, औषधिको सुरक्षित प्रयोग, एन्टिबायोटिकको उचित व्यवस्थापन, अनुसन्धान तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा महत्त्वपूर्ण योगदान दिन सक्छन्।
यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल फार्मेसी परिषद्, औषधि व्यवस्था विभाग, विश्वविद्यालय, अस्पताल तथा सम्बन्धित व्यावसायिक संस्थाहरूले संयुक्त रूपमा नीति निर्माण, दक्ष जनशक्ति विकास तथा कन्सलटेन्ट फर्मासिस्ट को स्पष्ट कार्यक्षेत्र निर्धारण गर्नु आवश्यक छ। साथै अस्पतालहरूमा यस्ता विशेषज्ञ फार्मासिस्टका लागि स्थायी पद सिर्जना गर्नु आजको आवश्यकता हो।
कन्सलटेन्ट फर्मासिस्ट को व्यवस्था गर्नु भनेको केवल फार्मेसी पेसाको विस्तार गर्नु मात्र होइन। यो सुरक्षित औषधि प्रयोग, उपचारको गुणस्तर सुधार, health खर्च घटाउने, बिरामीको जीवनस्तर उकास्ने तथा नेपालको स्वास्थ्य प्रणालीलाई अझ प्रभावकारी बनाउने दीर्घकालीन लगानी हो।
नेपालले सर्वसुलभ, गुणस्तरीय र बिरामी–केन्द्रित स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य हासिल गर्न चाहन्छ भने कन्सलटेन्ट फर्मासिस्टको भूमिकालाई अब उपेक्षा गर्न मिल्दैन। आधुनिक स्वास्थ्य सेवा केवल औषधि उपलब्ध गराउने विषय होइन; सही बिरामीलाई, सही औषधि, सही मात्रा, सही समयमा, सुरक्षित र प्रभावकारी रूपमा प्रयोग गराउने प्रणाली निर्माण गर्नु नै आधुनिक स्वास्थ्य सेवाको मूल उद्देश्य हो।
यही उद्देश्य पूरा गर्न कन्सलटेन्ट फर्मासिस्ट हरू नेपालको स्वास्थ्य प्रणालीका लागि एउटा हराइरहेको तर अत्यन्त आवश्यक कडी बन्न सक्छन्। अब समय आएको छ- उनीहरूको ज्ञान, सीप र क्षमतालाई स्वास्थ्य सेवाको मूल प्रवाहमा समावेश गर्ने।