जीवनमा केही क्षण यस्ता हुन्छन्, जहाँ खुसी, गर्व र भावुकता एकैसाथ अनुभूति हुन्छ। त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) डीनको कार्यालयद्वारा आयोजित २०८३ सालको वार्षिकोत्सव समारोह मेरो लागि यस्तै एउटा अविस्मरणीय क्षण बन्यो।
सर्वप्रथम एमबीबीएस कार्यक्रमअन्तर्गत विभिन्न विषयमा उत्कृष्ट अंक हासिल गरी स्वर्ण पदक प्राप्त गर्नुहुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछु। विशेषगरी, कम्युनिटी मेडिसिन विषयमा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई स्वर्गीय डा. जित सिंह मल्ल स्वर्ण पदक पुनः प्रदान गरिएको देख्दा मन अत्यन्तै भावुक बन्यो।
स्वर्गीय डा. जित सिंह मल्ल मेरा हजुरबुवा मात्र हुनुहुन्न, उहाँ मेरो प्रेरणाको स्रोत पनि हुनुहुन्छ। उहाँको दृढ विश्वास थियो- 'शिक्षा नै राष्ट्र निर्माणको सबैभन्दा बलियो आधार हो।' यही विश्वासका साथ उहाँले करिब चार दशकअघि चिकित्सा शिक्षामा उत्कृष्टता प्रोत्साहन गर्ने उद्देश्यले आईओएममा स्वर्ण पदक, छात्रवृत्ति तथा अन्य शैक्षिक कोषहरू स्थापना गर्नुभएको थियो।
वि.सं. २०४४ साल असोज ६ गते तत्कालीन आईओएम डीन डा. मदनप्रसाद उपाध्यायसँग भएको सम्झौताअनुसार उहाँले कम्युनिटी मेडिसिन विषयमा सर्वोत्कृष्ट विद्यार्थीका लागि स्वर्ण पदक, एमडी/एमएस तहका विद्यार्थीका लागि छात्रवृत्ति तथा शैक्षिक पूर्वाधार विस्तारका लागि महत्त्वपूर्ण योगदान गर्नुभएको थियो। ती कार्यहरू केवल आर्थिक सहयोग थिएनन्; ती भावी चिकित्सकलाई उत्कृष्टता, इमानदारी र सेवाभावतर्फ प्रेरित गर्ने दूरदर्शी सोचका प्रतिबिम्ब थिए।
केही वर्षदेखि स्वर्ण पदक वितरण हुन नसकेको जानकारी पाएपछि मनमा एउटा चासो र जिम्मेवारीको भावना जाग्यो। त्यसपछि यस विषयमा थप केही काम अगाडि बढाउनुपर्छ भन्ने मलाई लागिरहेको थियो। केही महिनाअघि तत्कालीन नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीज्यूसँग आईओएम डीन कार्यालयमा यस विषयमा छलफल गर्ने अवसर प्राप्त भयो। त्यस क्रममा मैले हजुरबुवाले स्थापना गर्नुभएको पुरस्कार किन निरन्तर वितरण हुन सकेन भन्ने विषय विनम्रतापूर्वक उठाएको थिएँ। त्यही भेटमा यस वर्षदेखि पुरस्कार पुनः वितरण गरिने प्रतिबद्धता व्यक्त गरिएको थियो।
अहिले त्यो प्रतिबद्धता व्यवहारमा कार्यान्वयन भएको देख्दा अत्यन्तै खुसी र भावुक भएको छु। यो केवल एउटा पदक वितरण भएको अनुभूति मात्र रहेन। मलाई लाग्यो, चार दशकअघि एउटा चिकित्सकले देख्नुभएको सपना फेरि एकपटक साकार भएको छ। त्यो क्षणले हजुरबुवाको स्मृतिलाई मात्र होइन, शिक्षा र सेवाप्रतिको उहाँको आदर्शलाई पनि पुनः जीवन्त बनाइदियो।
यस कार्यलाई सम्भव बनाउन विशेष पहल गर्नुहुने आईओएमका डीन प्रा. डा. मोहन राज शर्माज्यूप्रति म हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछु। उहाँले पुरस्कार छनोट तथा वितरण समितिलाई पुनः सक्रिय बनाउँदै आगामी वर्षहरूमा पनि यसलाई नियमित रूपमा सञ्चालन हुने आधार तयार गरिदिनुभएको छ। त्यसैगरी, यस वर्षको वार्षिकोत्सव कार्यक्रमको सफल समन्वय गर्नुहुने सहायक डीन (प्रशासन) प्रा. डा. तुलसी अधिकारीज्यूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै, सम्पूर्ण प्रक्रियामा हरेक पटक सकारात्मक, सहयोगी र आत्मीय साथ दिनुहुने डा. असीम भट्टराईज्यूप्रति पनि विशेष आभार व्यक्त गर्दछु।
मेरो विश्वासमा, कुनै पनि संस्थाले स्वीकार गरेको अक्षयकोष, पुरस्कार वा छात्रवृत्ति केवल आर्थिक कोष होइन। ती दाताले संस्थामाथि राखेको विश्वास, विद्यार्थीप्रतिको अपेक्षा र समाजप्रतिको उत्तरदायित्वका प्रतीक हुन्। यस्ता प्रतिबद्धताहरूको निरन्तरता नै संस्थाको विश्वसनीयताको आधार हो। जब यस्ता परम्पराहरूलाई सम्मान गरिन्छ, त्यसले भविष्यका दाताहरूलाई पनि शिक्षा र समाजका लागि योगदान गर्न प्रेरित गर्दछ।
आज मेरो मनमा अर्को भावना पनि प्रबल छ। हजुरबुवाले देख्नुभएको सपना अधुरो नहोस् भन्ने चाहना हाम्रो सम्पूर्ण परिवारको साझा जिम्मेवारी हो। उहाँले स्थापना गर्नुभएको पुरस्कार, छात्रवृत्ति र शैक्षिक कोषहरू भावी पुस्तालाई प्रेरणा दिँदै निरन्तर अगाडि बढिरहून् भन्ने हाम्रो दृढ संकल्प छ।
यस अवसरमा हजुरबुवाको नाममा स्थापित पदक, छात्रवृत्ति तथा अन्य शैक्षिक कोषहरूको संरक्षण र निरन्तरताका लागि सहयोग गर्नुहुने आईओएम परिवार, सम्बन्धित सबै पदाधिकारी तथा यस अभियानमा साथ दिनुहुने मेरो सम्पूर्ण परिवारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
अन्त्यमा, स्वर्गीय डा. जित सिंह मल्लज्यूको योगदान र आदर्शले आगामी पुस्ताका चिकित्सकहरूलाई उत्कृष्टता, इमानदारी र सेवाभावको मार्गमा निरन्तर प्रेरणा दिइरहोस् भन्ने कामना गर्दछु। उहाँ शारीरिक रूपमा हामीसँग नभए पनि उहाँको सोच, मूल्य र दूरदृष्टि यस्ता कार्यमार्फत सधैं जीवित रहनेछन्।
(नेत्ररोग विशेषज्ञ डा. तेजसु सिंह मल्ल नेपाल चिकित्सक संघका सह–कोषाध्यक्ष तथा नेपाल अप्थाल्मिक सोसाइटीका महासचिव हुन्।)