संसारमा दुई प्रकारका मानिस छन् । एकथरी जसले आफूले आफैलाई अमर ठान्छन् । आफू हिँडेको बाटो उत्तम भनि दाबी गर्छन् । आफ्नो विचारलाई अरुकालागि मानक बनाउने प्रयास गर्छन्। उनीहरु आफू चन्द्रलोकमा जन्मिएर पृथ्वी घुम्न आएको जस्तो गर्विलो भाषामा कुरा गर्छन् । अर्को थरी भने आफूले जेसुकै राम्रो गरेपनि आफैलाई दोषी देख्छन्। निरह ठान्छन् । सायद यही आत्मग्लानी र निरन्तरको निराशाले जीवनलाई अन्त्य गर्ने निर्णय सम्म पुर्याउँछ कि?
मानिस जुनसुकै धरातलमा जन्मिए पनि सबैमा एउटा मस्तिष्क छ । यही मस्तिष्क भित्र खुशी, दुःख, पीडा आफूलाई अन्त्य गर्ने विचार वा अनन्त कालसम्म बाँच्ने इच्छा अटाएका हुन्छन्। मानव इतिहासमा जीवन र मरणका कथाहरू पनि थुप्रैपटक लेखिए । कोही बहादुर वैभवले भरिपूर्ण भएर पनि आत्महत्या रोजे । कसैले रोगव्याधि, पीडा सहेर पनि पुरा जीवन सङ्घर्ष गरे । जीवनको अन्तिम सास रहेसम्म बाँचे। यद्यपि, समाजमा आत्महत्या गर्नेहरुको इतिहास सबैकालमा कलंङ्कित छ । डर, लाज र त्रास सँग जोडिएको देखिन्छ । आत्महत्याका घटनालाई लुकाइन्छ । समाजले कलङ्कित गर्छ ।
परामर्श मनोविज्ञान अध्ययनको क्रममा र पछि काम गर्ने क्रममा आत्महत्याबाट ज्यान गुमाएकाहरुका घटनाको कथा सुनेँ, देखेँ र बुझ्ने अवसर पाएँ। मनोसामाजिक परामर्शकर्ताहरुलाई सुपरिवेक्षणको क्रममापनि यस्ता अनुभव दोहोरिरहे। तर एउटा प्रश्नले सधैँ पछ्याइरह्यो, आखिर मानिस किन आफ्नै जीवन अन्त्य गर्न तयार हुन्छ? किन बाँच्न मन नलाग्ने अवस्था आउँछ? कि आवेगको परिणाम हो वा आशा सकिएको अनुभूति भएर वा मानसिक रोगको प्रभाव ?
यसको उत्तर सरल छैन । यसको कारण बहुआयामिक रहेको विभिन्न अध्ययनले देखाएका छन्। यसको परिणामलाई जैविक, मानसिक, सामाजिक र सांस्कृतिक पक्षहरुमा बाँडेर हेर्न सकिन्छ। केही मानिस तनाव, डिप्रेसनसँग जुधिरहेका हुन्छन्। कोही आफन्तको मृत्यु, रोगव्याधि, बिछोड दीर्घ रोग वा आर्थिक संकट भोगिरहेका हुन्छन्। कतिपयले सामाजिक लाञ्छना, भेदभाव र सम्बन्ध विच्छेदबाट गुज्रिनु परेको हुन्छ। मैले एक ठाउँमा पढेको थिए, “मानिस जन्मिदा त परी भएरै जन्मिन्छ तर पछि समाजले भ्यागुता बनाइदिन्छ” । सायद यो कथनले मानिसमा पर्ने सामाजिक नकारात्मक प्रभावलाई बुझाउन खोजेको होला।
विश्वमा हरेक वर्ष सात लाखभन्दा बढी मानिसले आत्महत्याका कारण ज्यान गुमाउने गरेको विभिन्न अध्ययनले देखाएका छन् । एरिस्टोटल देखि सकारात्मक मनोविज्ञानको मुल मान्यता के हो भने मानिसले सुख र सन्तुष्टि खोज्छ। त्यसैगरि चार्ल्स डार्विनको जीवन रक्षा सिद्धान्त अनुसार जीवन जिउने इच्छा जन्मजातै हुन्छ वा सयौं वर्ष बाँच्न मन लाग्छ । डा. मार्क ल्यारीले आत्महत्याको बाटो रोज्ने व्यक्तिले पनि प्राथमिक रूपमा आफ्नो जीवनलाई अन्त्य गर्न चाहेको हुँदैनन् भनेर व्याख्या गरेको पाईन्छ ।
आत्महत्याको कारण व्यक्तिले केवल आफूलाई मात्रै गुमाउँदैन । उसले विभिन्न आश्रित व्यक्तिहरूलाई पीडामा छोडेर गएको हुन्छ । यसले आफूसँगै परिवार र समाजलाई पनि प्रभावित गर्ने हुन्छ । केही अध्ययनको एउटा आत्महत्याले १३५ जनालाई प्रत्यक्ष प्रभाव पार्न सक्ने देखाएका छन्। बाँचेकाहरू शोक, अपराधबोध, गुमाईको पीडा, सामाजिक लान्छना र कलंकका सिकार भएका हुन्छन् । हरेक वर्ष सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस् मनाईन्छ । नेपालमा दैनिक सरदर २० जनाको आत्महत्याको कारण मृत्यु हुने गरेको देखिन्छ।
मनोविज्ञानका अनुसार आत्महत्या प्राय: जीवन समाप्त पार्ने इच्छा मात्र होइन, असह्य मानसिक र भावनात्मक पीडा, परिस्थितिजन्य तनाव, मन तथा भावनाको रोग लागेर वा आशा सकिए पछि आत्महत्याको बाटो रोजेका हुनसक्दछन्। तर हाम्रो समाजमा आत्महत्याको बारेमा खुलेर छलफल भएको देखिदैन् । यदि यो विषय खुला छलफल भएमा र रिपोर्टिङमा आएमा आत्महत्या रोकथामका लागि योजना बनाउन मद्दत मिल्दछ । यसका लागि सामुदाय, विद्यालय, कार्यस्थल वा हरेक ठाउँमा खुला छलफल गरिनुपर्दछ ।
यसमा सञ्चार माध्यमको भूमिका पनि महत्त्वपूर्ण हुन्छ। आत्महत्याका घटनालाई सनसनीपूर्ण ढंगले प्रस्तुत गर्नुको सट्टा, आशा तथा जीवनमा पाएका सफलताका कथाहरुलाई स्थान दिइनुपर्दछ। त्यसैगरी, विश्व स्वास्थ्य सङ्गठनको सिफारिस गरे अनुसार, आत्महत्या गर्न प्रयोगहुनसक्ने स्रोतहरूको पहुँचलाई कम गर्ने, युवा-युवतीहरूलाई जीवन जीउने सीप सिकाउने, जोखिममा रहेका व्यक्तीलाई समयमै पहिचान गरी उपचारमा जोड्ने र प्रभावकारी नीति तथा रणनीति लागु गर्ने कुरालाई प्राथमिकता दिनुपर्दछ।
आत्महत्या रोकथाम सबैको साझा जिम्मेवारी हो। आत्महत्याका संकेतहरुलाई समयमै पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउन र उपचारमा जोड्न सके धेरै जीवन बचाउन सकिन्छ । आवश्यकता परे नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा मनोसामाजिक परामर्शकर्ता, मनोविद, मनोचिकित्सक तथा आत्महत्याको रोकथामका लागि राष्ट्रिय हेल्पलाइन ११६६ मा फोन गरी निःशुल्क मनोपरामर्श सेवा लिन सकिन्छ।