काठमाडौं- घाइते खुट्टा र अनसनबाट तंग्रिँदै गरेको शरीर लिएर वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसी दार्चुलाको विकट व्यास गाउँपालिकास्थित छाङ्रु (कालापानी क्षेत्र) मा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालनका लागि प्रस्थान गरेका छन्।
हालैको अनसन र खुट्टाको शल्यक्रियापश्चात् पूर्ण रूपमा स्वास्थ्य लाभ भइनसकेको अवस्थामा पनि डा. केसी आफ्नो झोला बोकेर विकट गाउँतर्फ लागेका हुन्। प्रतिकूल मौसम र कमजोर शारीरिक अवस्थाका कारण केही समय पर्खिन डा अमृत जैशीले गरेको आग्रहलाई मुस्कुराउँदै पन्छाएर उनी दूरदराजका सर्वसाधारणलाई स्वास्थ्य सेवा दिन सार्वजनिक यातायातमा कालापानी क्षेत्रमा निस्किएका हुन्।
निःशुल्क स्वास्थ्य सेवा उपलब्ध नभएका र दूरदराजका दुर्गम बस्तीहरूमा पुगेर नागरिकको उपचार गर्ने अभियानलाई निरन्तरता दिँदै डा. केसी यसपटक नेपालको उत्तर-पश्चिम सीमावर्ती क्षेत्र कालापानी नजिकैको छाङ्रु पुग्न लागेका हुन्।