काठमाडौं- नर्स तथा मिडवाइफहरूको न्यूनतम पारिश्रमिक, श्रम शोषणको अन्त्यलगायत १५ बुँदे माग राख्दै आमरण अनशनमा बसेकी नर्स ज्योति रानाभाटको अनशन चौथो जारी छ। स्वास्थ्य अवस्था निरन्तर कमजोर बन्दै गएपछि आइसीयु सार्ने तयारी भइरहेको उनका सहयोगीले जनाएका छन्।
साउन १४ गतेदेखि अनशनरत रानाभाटको स्वास्थ्य अवस्था कमजोर भएपछि वीर अस्पताल सारिएको छ। चिकित्सकहरूले उनलाई आईसीयूमा राख्न सुझाव दिए पनि उनले अस्वीकार र औषधिसमेत लिन नमानेको उनकी सहयोगी कविता सिटौलाले बताइन्।रानाभाटले स्वास्थ्य, शिक्षा, श्रम तथा अर्थ मन्त्रालयका प्रतिनिधि सहभागी हुने उच्चस्तरीय वार्ताको माग गरेकी छन्।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले वीर अस्पताल पुगेर रानाभाटसँग भेटवार्ता गरेका थिए। यद्यपि, उक्त प्रयासबाट कुनै ठोस सहमति हुन सकेको छैन।
उता, नेपाल नर्सिङ संघले यसअघि सरकारसँग भएका सहमति तत्काल कार्यान्वयन गर्न र अनशनरत रानाभाटको जीवनरक्षाका लागि आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेको छ। संघले नर्सहरूको सेवा–सुविधा, तलब–भत्ता तथा कार्य वातावरणमा सुधार नगरे गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न नसकिने चेतावनी दिएको छ।
संघका अनुसार २०८२ कात्तिक ४ गतेदेखि तलब, भत्ता तथा अन्य पेशागत माग राखेर देशव्यापी आन्दोलन गरिएको थियो। त्यसपछि कात्तिक १५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल नर्सिङ संघ तथा अन्य सरोकारवालाबीच भएको सहमतिअनुसार तलब, भत्ता र अन्य सुविधासम्बन्धी विषय हालसम्म पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन।