आचार्य सुश्रुतले आजभन्दा दुई हजार वर्षअघि एक श्लोकमार्फत आरोग्यता अर्थात् स्वस्थताको परिभाषा गर्नुभएको छ। उक्त श्लोकले सम्पूर्ण तवरको निरोगीतालाई परिभाषित गर्नुका साथै समग्र स्वास्थ्यको मार्गदर्शन गर्दछ। शारीरिक रोगरहित मानव जीवनका लागि आयुर्वेदका सूत्रहरू तथा आधुनिक विज्ञानले गरेका खोज र अनुसन्धानहरू अभूतपूर्व छन्। तर मानसिक, सामाजिक र आध्यात्मिक स्वास्थ्यका पक्षहरू पनि उत्तिकै महत्त्वपूर्ण छन्। अवसाद, बेचैनी, बेखुसी, असन्तोष र निराशा बोकेर सहज जीवनयापनको खोजीमा रहेका व्यक्ति तथा समाजका लागि आयुर्वेदमा उल्लेख गरिएका केही सरल उपायहरूको जानकारी तथा तिनको पालना लाभदायक हुन सक्छ।
आचार्य सुश्रुतले प्रसन्न आत्मा, इन्द्रिय र मनको परिकल्पना गर्नुभएको छ। उहाँका अनुसार व्यक्ति स्वस्थ रहनका लागि आत्मा, इन्द्रिय र मन प्रसन्न हुनुपर्छ। आत्मा आफैंमा छुट्टै विवेचनाको विषय हुन सक्छ। आत्माको प्रसन्नता धार्मिक आचरण, ईश्वरप्रणिधान, स्वाध्याय आदि नियमित र निरन्तर अभ्यासबाट प्राप्त गर्न सकिन्छ।
आयुर्वेदअनुसार एघार वटा इन्द्रियहरूको वर्णन गरिएको छ। पाँच ज्ञानेन्द्रिय (आँखा, कान, नाक, जिब्रो र छाला), पाँच कर्मेन्द्रिय (हात, खुट्टा, वाक् अर्थात् स्वरयन्त्र, मलद्वार र प्रजनन अङ्ग) तथा एक उभय इन्द्रिय (मन)। सबै इन्द्रियहरू आफ्नो-आफ्नो विषय अर्थात् कर्ममा अनुकूल रहनु तथा न्यूनता वा अधिकता नहुनु नै इन्द्रिय-प्रसन्नताको अवस्था मानिन्छ। इन्द्रियहरूको सौम्यता र विषयसँगको उचित सम्बन्धले तिनको कार्यक्षमता उत्कृष्ट रहन्छ र गलत आचरणतर्फ उन्मुख हुने कर्महरू न्यून हुन्छन्।
मनलाई उभय इन्द्रिय अर्थात् ज्ञानेन्द्रिय र कर्मेन्द्रिय दुवै मानिन्छ। मनलाई सबै इन्द्रियहरूको प्रमुख, सञ्चालक एवं नियन्त्रक मानिएको छ। मनसँग विषयको विवेचना, विश्लेषण, ध्यान र सङ्कल्प गर्ने शक्ति हुन्छ। हाम्रा सम्पूर्ण स्वस्थकर कर्महरूमा प्रसन्न मनको भूमिका रहन्छ भने अस्वस्थकर कर्म विकृत मनका कारण उत्पन्न हुन्छन्। मनका विभिन्न अवस्थाहरू हुन्छन्, र मनको अवस्थाअनुसार अन्य दस इन्द्रियहरूले कार्य गर्दछन्। त्यसैले मनको स्वास्थ्य अत्यन्त महत्त्वपूर्ण विषय हो।
सद्वृत्तको पालना मानसिक तथा सामाजिक स्वास्थ्यका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ। सबैलाई सम्मान र माया गर्नु, सही आचरण अवलम्बन गर्नु, सहयोगको भावना राख्नु आदि कार्यले स्वयंमा सकारात्मक सोचको विकास गराउनुका साथै समाजमा पनि सकारात्मकता फैलाउन मद्दत गर्दछ।
यम र नियमको पालना मानसिक तथा सामाजिक स्वास्थ्य प्रवर्द्धनका लागि कोसेढुङ्गा बन्न सक्छ। सत्य वचन र कर्मको पालना गर्नु, चोरीको भावना नराख्नु, भौतिक वस्तुप्रति अत्यधिक आसक्ति नराख्नु, अहिंसा र ब्रह्मचर्यको पालना गर्नु यमअन्तर्गत पर्दछन्। त्यसैगरी सरसफाइ, सन्तोष, तपस्या, ईश्वरप्रतिको भक्ति तथा स्वाध्याय नियमअन्तर्गत पर्दछन्।
योगलाई केवल आसन र शारीरिक व्यायामसँग मात्र जोडेर हेर्नु र अपनाउनु योगको अपूर्ण व्याख्या हुन सक्छ। योगका मानसिक अवधारणाहरू केवल धारणा र ध्यानमा मात्र सीमित छैनन्। अष्टाङ्ग योगका सम्पूर्ण अङ्गहरूको पालना गर्न र गराउन तत्पर हुने हो भने योगको व्यावहारिक तथा व्यावसायिक प्रभावकारिता अझ उचाइमा पुग्न सक्ने सम्भावना प्रचुर छ।
आयुर्वेदलाई केवल दर्शनसँग तुलना गरेर न्युरोट्रान्समिटर र हर्मोनसम्बन्धी तथ्यहरूलाई मात्र सही ठान्नु उपयुक्त हुँदैन। आयुर्वेदका ज्ञान र सिद्धान्तहरूको अनुशरण गर्दै सोचाइमा सकारात्मकता, कर्ममा उत्कृष्टता र व्यवहारमा सौम्यता विकास गर्ने यात्रामा व्यक्ति, समाज, राष्ट्र र विश्वलाई अभिप्रेरित गर्नु नै आजको आवश्यकता हो।