नेपालको स्वास्थ्य क्षेत्रमा पछिल्ला वर्षहरूमा स्वास्थ्यकर्मी र बिरामीबीचको सम्बन्धमा अविश्वास, आक्रोश र द्वन्द् ह्वात्तै बढ्दै गएको देखिन्छ। अस्पतालमा चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीमाथि गालीगलौज, हातपात र सामाजिक सञ्जालमार्फत आरोप–प्रत्यारोपका घटना सुनिनु अब सामान्यजस्तो लाग्न थालेको छ। अर्कोतर्फ, बिरामी तथा आफन्तकापनि आफ्नै गुनासा छन्। समयमै सेवा नपाएको, राम्रोसँग कुरा नगरिएको वा आफूलाई बेवास्ता गरिएको। तर के यो समस्या केवल चिकित्सक र बिरामीबीचको व्यक्तिगत समस्या मात्र हो र ? होइन, यसको जरा हाम्रो सामाजिक सोच, भू-राजनीतिक परिवेश, कमजोर स्वास्थ्य प्रणाली, स्वास्थ्य संस्थाको कार्यसंस्कृति, कर्मचारीबीचको विभेद र एकअर्काप्रतिको सम्मान तथा विश्वासको कमीमा गहिरोसँग जोडिएको छ। “हामी सँगसँगै हिँडौँ, मिलेर संवाद गरौँ र हाम्रा मनहरू एकअर्कासँग जोडिऊन्”। यो पुर्बिय, सनातनिय वैदिक सन्देश स्वास्थ्य सेवा क्षेत्रमा आज झन् बढी सान्दर्भिक भएको छ। किनकि आज हाम्रा अस्पतालहरुमा औषधि, उपकरण र प्रविधिको अभावभन्दा पनि विश्वास, संवाद र मानवीयताको अभाव बढी महसुस हुन थालेको छ।
डाक्टर बन्ने अवसर सबैले पाउँदैनन्।
डाक्टर,इन्जिनीयर,अधिकृत वा नर्स बन्न राम्रो पढाइ, मेहनत र प्रतिस्पर्धात्मक क्षमता आवश्यक हुन्छ। तर त्यसभन्दा पनि ठूलो कुरा हो- अवसर र वातावरण। कल्पना गरौँ, कालिकोटको कुनै दुर्गम गाउँमा कोदो गोडिरहेकी किसानकी छोरी, अथवा वालाङचोकगोलामा भेडा चराइरहेको एउटा गोठालो केटो। के उनीहरूमा डाक्टर वा इन्जिनियर बन्ने क्षमता हुँदैन र ? पक्कै हुन्छ। तर उनीहरूले राम्रो विद्यालय, पुस्तक, शिक्षक, इन्टरनेट, आर्थिक सहयोग र उचित शैक्षिक वातावरण पाएनन् भने त्यो प्रतिभा कसरी प्रस्फुटित हुन्छ? त्यसैले आज कोही चिकित्सक भए, नर्स भए , इन्जिनियर भए, शिक्षक भए, प्राविधिक भए र कोही कार्यालय सहयोगी भए भन्दैमा एउटा ठूलो र अर्को सानो मानिस हुँदैन।
हरेक पेशाको आफ्नै गरिमा हुन्छ। हरेक जिम्मेवारीको आफ्नै महत्व हुन्छ।
संस्कृतमा भनिएको छ- “विद्या ददाति विनयं, विनयाद् याति पात्रताम्। विद्याले मानिसमा विनम्रता ल्याउँछ। विनम्रताबाट योग्यता र पात्रता प्राप्त हुन्छ। साँचो शिक्षा भनेको केवल ज्ञान बढाउनु होइन, विनम्रता बढाउनु पनि हो। ज्ञान बढ्दै जाँदा अहंकार बढ्यो भने त्यो विद्याको उद्देश्यविपरीत हुन्छ। त्यसैले हामी स्वास्थ्यकर्मीले पनि सबैभन्दा पहिले यही कुरा बुझ्नुपर्छ—पद ठूलो हुँदैमा मानिस ठूलो हुँदैन; आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने मानिस नै वास्तवमा ठूलो मानिस हो।
समाज रूपान्तरण गर्नु हामी सबैको जिम्मेवारी हो ।
अस्पतालमा कहिलेकाहीँ देखिने सामान्यजस्तै लाग्ने दृश्यले पनि हामीलाई धेरै कुरा सिकाउँछ। भर्खरै सिजेरियन सेक्शन गरेर बच्चा पाएकी आमालाई उभ्याएर, आफैँ आरामसँग कुर्सीमा बसेर “यहाँका स्वास्थ्यकर्मीले उपचारमा लापरबाही गरे, सुत्केरीलाई पनि ख्याल गर्दैनन्” भनेर कराउने श्रीमान् हामीले दिनहुँ भेट्छौ। सुत्केरी महिलालाई उपचार मात्र गर्नु पर्याप्त हुँदैन, कसरी सम्मान गर्ने, कसरी सहयोग गर्ने र कसरी ख्याल गर्ने भन्ने कुरा सिकाउनु पनि हामी सबै स्वास्थ्यकर्मीको स्वास्थ्य सेवाकै एउटा समस्टिगत हिस्सा हो। “उनीहरूलाई थाहा छैन, अशिक्षत छन् ” भनेर हामी पन्छिन मिल्दैन।उनीहरुलाई पनि सुत्केरीलाई कसरि इज्जत दिनु पर्छ, कसरि आदर गर्नु पर्छ भनेर हामीले सिकायेमा मात्रै हामी समाजका वास्तविक क्रान्तिकारी हौ. त्यसैगरी स्वास्थ्यकर्मी पनि मानिस नै हुन्। अत्यधिक बिरामीको चाप, सीमित जनशक्ति, स्रोतसाधनको कमी, प्रशासनिक दबाब र व्यक्तिगत समस्याबीच दिनरात सेवा गरिरहेका हुन्छन्। हरेक खराब परिणामको दोष स्वास्थ्यकर्मीलाई मात्र दिनु पनि न्यायोचित हुँदैन। तसर्थ हरेक स्वास्थ्यकर्मी आफ्नै परिवारका हिस्सा सोचीएमा मात्र स्वास्थ्यकर्मी र बिरामी बिच तादाम्यता आउनेछ। “परोपकाराय फलन्ति वृक्षाः, परोपकाराय वहन्ति नद्यः।” अर्थात् रुखले आफ्नो फल आफैँ खाँदैन, नदीले आफ्नो पानी आफैँ पिउँदैन; उनीहरू अरूका लागि बाँच्छन्। स्वास्थ्यकर्मीको पेशा पनि मूलतः यही भावनामा आधारित हुनुपर्छ। तर परोपकार गर्ने मानिसलाई पनि सम्मान, सुरक्षा र मानवीय व्यवहार चाहिन्छ। त्यसैले समस्या समाधानको पहिलो खुड्किलो भनेको दुवै पक्षको मानवीय पीडा बुझ्नु हो।
हाम्रो स्वास्थ्य संस्थाभित्रै अर्को ठूलो द्वन्द्व छ।
हामी स्वास्थ्यकर्मी र बिरामीबीचको द्वन्द्वको कुरा धेरै गर्छौँ। तर हाम्रो स्वास्थ्य संस्थाभित्रै स्वास्थ्यकर्मीबीच पनि ठूलो दूरी छ। स्थायी, अस्थायी, करार, ज्यालादारी, समितिका कर्मचारी, शिक्षक र विद्यार्थी-सबैका आ–आफ्ना पहिचान र समूह छन्। लोकसेवा आयोगको परीक्षा पास गरेर सरकारी सेवामा प्रवेश गरेका केही कर्मचारीमा “हामी लोकसेवा लडेर आएका हौँ” भन्ने दम्भ छ । देशको दुरदराजमा वर्षौँ बसेर सेवा गरेका कर्मचारीमा “हामीले यति दुःख गरेका छौँ, हाम्रो योगदान र हैसियत माथि हुनुपर्छ” भन्ने भावना हुनु स्वाभाविक पनि हो। त्यस्तै करार वा समितिका कर्मचारीले पनि “हामी पनि परीक्षा वा अन्तर्वार्ता दिएरै आएका हौँ, हाम्रो योगदानपनि कम छैन” भन्ने गर्दछन । लोकसेवाको परीक्षा समयमा नखुल्नु, उतिर्ण नहुनु अथवा विभिन्न कारण बस दुर्गम जान नसक्नुले पनि उनीहरु समिति वा करारको जागिर खान बाध्य भएका हुन सक्छन । कतिपय अवस्थामा राजनीतिक नेतृत्वसँगको निकटताले पनि केही कर्मचारीहरु आफू अरूभन्दा शक्तिशाली भएको अनुभूति गर्दछन। यी सबै मानसिकताले एउटै संस्थाभित्र समूह निर्माण गर्दछ। समूह बनेपछि सहकार्यभन्दा शक्ति प्रदर्शन सुरु हुन्छ। शक्ति प्रदर्शन सुरु भएपछि अन्ततः त्यसको असर बिरामीको सेवामा पर्छ। तर एउटा कुरा स्पष्ट हुनुपर्छ- सम्मानमा समानता चाहिन्छ; जिम्मेवारी र अधिकारमा स्पष्टता पनि चाहिन्छ।
विभिन्न तह र पदको कानुनी जिम्मेवारी फरक हुन सक्छ र हुन्छ पनि । पाँचौँ वा छैटौ तहको कर्मचारीले सातौँ वा आठौ तहको कर्मचारीको अधिकार स्वतः दाबी गर्न मिल्दैन। तर त्यसले पाँचौँ तहको कर्मचारीको मानवीय सम्मान कम गर्दैन। त्यसैगरी लोकसेवा प्रवेश नगरेको वा विभिन्न परिस्थितिका कारण सरकारी सेवामा आउन नसकेका व्यक्तिको योगदानलाई पनि अवमूल्यन गर्नु उचित हुँदैन।
‘हामी’ होइन, ‘म’ को संस्कृति
स्वास्थ्य क्षेत्रमा अर्को गम्भीर समस्या भनेको ‘हामी’ को ठाउँमा ‘म’ को संस्कृति विकसित हुनु हो। “म वरिष्ठ हुँ।” “मसँग सबैले झुक्नुपर्छ।” “मसँग राम्रो सम्बन्ध राखेपछि मात्र सहयोग पाइन्छ।” “मभन्दा तलको कर्मचारीले मलाई प्रश्न गर्न मिल्दैन।” यस्ता सोचले स्वास्थ्य संस्थालाई सेवा केन्द्रभन्दा शक्ति प्रदर्शन गर्ने ठाउँ बनाउँछन्। वरिष्ठ चिकित्सकले कनिष्ठ चिकित्सकलाई दबाउने, वरिष्ठ नर्सले जुनियर नर्सलाई हेप्ने, आफूभन्दा फरक विधाका स्वास्थ्यकर्मीलाई कम मूल्याङ्कन गर्ने प्रवृत्ति अझै पूर्ण रूपमा हटेको छैन। प्रमुख क्लिनिकल विषयका चिकित्सकले माइनर विषयका चिकित्सकलाई आफूभन्दा सानो ठान्ने, आधारभूत विज्ञानका चिकित्सकलाई त “डाक्टर नै होइनन्” भन्ने मानसिकता राख्ने प्रवृत्ति पनि त्यही पद, विधा र विशेषज्ञताको अहंकारको उपज हो। तर अस्पतालमा कसैको भूमिका एक्लै पर्याप्त हुँदैन। चिकित्सक, नर्स, प्रयोगशाला, रेडियोलोजी, फार्मेसी, एनेस्थेसिया, प्रशासन, सरसफाइ कर्मचारी र सुरक्षा गार्डसम्म सबैको योगदान जोडिएपछि मात्र राम्रो स्वास्थ्य सेवा सम्भव हुन्छ। “वसुधैव कुटुम्बकम्।” - संसार नै एउटा परिवार हो भने अस्पताल त झन् एउटा सानो परिवार हुनुपर्छ।
‘गुगल डक्टर’को अर्को चुनौती
सूचना प्रविधिले स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याएको छ। आज बिरामीले रोग, औषधि र उपचारबारे धेरै कुरा इन्टरनेटबाट जान्न सक्छन। तर समस्या त्यतिबेला सुरु हुन्छ, जब इन्टरनेटमा भेटिएको जानकारीलाई नै अन्तिम चिकित्सकीय सत्य मानिन्छ। “गुगलले त यस्तो भनेको छ।” “मैले युट्युबमा यस्तो उपचार देखेँ।” “फलानो देशमा यस्तो औषधि चल्छ।” यस्ता जानकारी चिकित्सकसँग छलफल गर्ने आधार बन्न सक्छन्। तर चिकित्सकीय निर्णयको विकल्प बन्न सक्दैनन्। अर्कोतर्फ स्वास्थ्यकर्मीले पनि बिरामीले इन्टरनेटमा जानकारी खोजेको भन्दै उसलाई अपमान गर्नु हुँदैन। बरु सही र गलत सूचना छुट्याउन सहयोग गर्नुपर्छ। ज्ञान बढ्नु राम्रो हो; तर ज्ञानसँगै विवेक पनि बढ्नुपदर्छ।
‘स्वास्थ्यकर्मीले झुक्नैपर्छ’ भन्ने मानसिकता पनि गलत ।
स्वास्थ्यकर्मी सेवाका लागि हुन्। तर सेवक हुनु भनेको अपमान सहनुपर्छ भन्ने होइन। बिरामीलाई सम्मान गर्नुपर्छ। तर स्वास्थ्यकर्मीलाई पनि सम्मान चाहिन्छ। “मैले सरकारलाई कर तिरेको छु, त्यसैले डाक्टरले मेरो अगाडि झुक्नुपर्छ” भन्ने सोचले स्वास्थ्य सेवाको सम्बन्धलाई ग्राहक र विक्रेताको सम्बन्धमा सीमित गरिदिन्छ। स्वास्थ्य सेवा व्यापार मात्र होइन। दशकौ रातभरी नसुति,पारिबारिक सुख-शयल तिलान्जली दिई अथक प्रयास गरि कमाइएको ज्ञानको उपज हो डाक्टरी पेशा तर १० मिनेट मा येत्रो पैसा कमाउने भनेर दशौ बर्षको मेहेनत लाई अबमुल्यन गरिनु किमार्थ पाच्य कुरो होइन । स्वास्थ्य सेवा त विज्ञान, विश्वास, जिम्मेवारी र मानवताको संयोजन हो, मानब सेवा हो । त्यसैले बिरामीको अधिकार जति महत्वपूर्ण छ, स्वास्थ्यकर्मीको सम्मान र सुरक्षाको अधिकार पनि उत्तिकै महत्वपूर्ण छ।
मूल समस्या : प्रणाली नै कमजोर छ ।
हामीले एउटा कटु सत्य स्वीकार गर्नैपर्छ— “हाम्रो देशमा प्रणाली अपवाद बनेको छ अनि अपवाद नै प्रणाली बनेको छ।” यदि प्रणाली ठीकसँग चलेको भए स्वास्थ्य क्षेत्रमा यति धेरै भद्रगोल हुने थिएन। आजको पुस्तामा देखिएको असन्तुष्टि र विद्रोहपनि , यही लामो समयदेखि जमेको अव्यवस्थाको प्रतिक्रिया हो। स्वास्थ्य सस्थामा जनशक्ति व्यवस्थापन कमजोर छ। कामको स्पष्ट जिम्मेवारी छैन। जवाफदेहिता समान छैन। कर्मचारीबीच विभेद छ। राजनीतिक हस्तक्षेप व्यापक छ। सेवा प्रवाहका मापदण्डहरुका कार्यान्वयन पछ्य कमजोर छन्। बिरामीको गुनासो सुन्ने प्रभावकारी संयन्त्र छैन न स्वास्थ्यकर्मीको सुरक्षा र मानसिक स्वास्थ्यले पनि पर्याप्त प्राथमिकता पाएका छन। यस्तो अवस्थामा स्वास्थ्यकर्मीहरू दिनहुँ एउटा समस्या टाल्न व्यस्त हुन्छन्। एउटा समस्या समाधान गर्न नपाउँदै अर्को समस्या आइपुग्छ। त्यसैले हरेक घटनापछि, केवल “डाक्टर दोषी” वा “बिरामी दोषी” भनेर निष्कर्ष निकाल्नु समस्याको सतही उपचार मात्र हो।
व्यक्ति मात्र बदल्दैमा पुग्दैन, प्रणाली पनि बदलिनुपर्छ, हामी सबै मिल्नैपर्छ।
आज स्वास्थ्यकर्मीहरू आफैँ पनि धेरै ठाउँमा विभाजित छन्। त्यसैले कहिले नेताबाट, कहिले वकिलबाट, कहिले पत्रकारबाट, कहिले सामाजिक सञ्जालबाट त कहिले आफ्नै संस्थाभित्रबाट दबाब आउँदा हामी कमजोर देखिन्छौँ। यसको अर्थ अरू सबै गलत छन् भन्ने होइन। बरु हामीले आफ्नै कमजोरी पनि स्वीकार गर्नुपर्छ। स्वास्थ्यकर्मीबीच नै सम्मान, एकता र सहकार्य कमजोर भयो भने बाहिरबाट आउने दबाबको सामना गर्न अझ कठिन हुन्छ। तर एकताको अर्थ गल्ती लुकाउनु किमार्थ होइन। गलत उपचार भए छानबिन हुनुपर्छ। लापरबाही भए कारबाही हुनुपर्छ। बिरामीमाथि दुर्व्यवहार भए स्वास्थ्यकर्मीले पनि जवाफ दिनुपर्छ। तर आरोप प्रमाणित हुनुअघि भीडको फैसला, सामाजिक सञ्जालको फैसला वा राजनीतिक दबाबका आधारमा स्वास्थ्यकर्मीलाई दोषी ठहर गर्ने संस्कृतिको पनि अन्त्य हुनैपर्छ।
समाधान कहाँबाट सुरु गर्ने?
समाधान कुनै ठूलो भाषणबाट होइन, सानो व्यवहारबाट सुरु हुन्छ।
प्रत्येक स्वास्थ्यकर्मीले आफ्नो पदभन्दा आफ्नो जिम्मेवारी ठूलो हो भन्ने बुझ्नुपर्छ। स्थायी,अस्थायी,करार वा ज्यालादारी भनेर कर्मचारीलाई मानवीय सम्मानमा विभाजन गर्नु हुँदैन। वरिष्ठ–कनिष्ठबीचको दुर्व्यवहार र हेपाहा प्रवृत्तिको संस्कृति अन्त्य गर्नुपर्छ। वरिष्ठता अनुभवको सम्मान हो; अरूलाई हेप्ने लाइसेन्स होइन। सबै विधाका स्वास्थ्यकर्मीबीच पारस्परिक सम्मान आवश्यक छ। आजको चिकित्सा विज्ञान बहुविषयगत (Multidisciplinary) भइसकेको छ। एउटै व्यक्तिले सम्पूर्ण स्वास्थ्य सेवाको जिम्मेवारी एक्लैले धान्न सक्दैन। बिरामीसँगको संवाद सुधार्नुपर्छ। समस्या पर्दा मात्र “नमस्ते” गर्ने होइन, दैनिक व्यवहारमै सम्मानजनक संवादको संस्कार बसाल्नुपर्छ। धेरै विवाद गलत उपचारबाट मात्र होइन, गलत सञ्चारबाट सुरु भएका छन् ।
अस्पतालमा गुनासो तथा समस्या समाधानका लागि स्पष्ट, पारदर्शी र प्रभावकारी संयन्त्र हुनुपर्छ। बिरामीले गुनासो गर्न पाउने र स्वास्थ्यकर्मीले पनि आफ्नो पक्ष राख्न पाउने निष्पक्ष प्रणाली आवश्यक छ। बिरामीले पनि अस्पताललाई “यो मेरो पनि घर हो” भन्ने अनुभूति गर्न सक्नुपर्छ र स्वास्थ्यकर्मीले पनि “यो बिरामी मेरो जिम्मेवारी हो” भन्ने भावना राख्नुपर्छ।
इमानदारीताको खडेरी प्रतेक अस्पतालबाट हट्नु जरुरि: समाजलाई दोष दिनुअघि हामी प्रत्येक स्वास्थ्यकर्मीले आफैँलाई एउटा प्रश्न सोधौँ- “यदि म बिरामीको ठाउँमा भएको भए, म कस्तो व्यवहार चाहन्थेँ?” र बिरामी तथा समाजले पनि स्वास्थ्यकर्मीलाई एउटा प्रश्न सोधोस्— “यदि मेरो आफ्नै परिवारको सदस्य दिनरात अस्पतालमा सेवा गरिरहेको हुन्थ्यो भने, म उसलाई कस्तो सम्मान दिन्थेँ?” सायद यी दुई प्रश्नको इमानदारिता सहितको उत्तरबाट धेरै द्वन्द् आफैँ कम हुन सक्छन । स्वास्थ्य सेवा कुनै एक चिकित्सक, कुनै एक नर्स वा कुनै एक कर्मचारीले चलाउने क्षेत्र होइन। यो हामी सबैको साझा जिम्मेवारी हो। हामीले पदको घमण्ड होइन, पेशाको गरिमा; अधिकारको दाबी मात्र होइन, जिम्मेवारी; व्यक्तिगत शक्ति होइन, संस्थागत प्रणाली; र ‘म’ होइन, ‘हामी’ लाई प्राथमिकता दिनुपर्छ।
संस्कृतमा भनिन्छनि “धर्मो रक्षति रक्षितः।” अर्थात्, हामीले धर्म अर्थात् कर्तव्य र नैतिकताको रक्षा गर्यौँ भने त्यसैले हाम्रो रक्षा गर्छ। स्वास्थ्यकर्मीहरूमा आज खड्किएको एउटा ठूलो खडेरी इमानदारीताको खडेरी हो। आफ्नो ड्युटीप्रति इमानदारी, आफ्नो पेशाप्रति इमानदारी, बिरामीप्रतिको व्यवहारमा इमानदारीपन र संस्थाप्रतिको जिम्मेवारीमा हामी सबैको जीवन र समग्रमा समाज नै सहज, व्यवस्थित र सुद्रिड बन्न सक्छ। अन्त्यमा, स्वस्थ समाज बनाउन स्वस्थ अस्पताल चाहिन्छ। स्वस्थ अस्पताल बनाउन स्वस्थ कार्यसंस्कृति चाहिन्छ र स्वस्थ कार्यसंस्कृतिको सुरुवात अरूबाट होइन- हामी प्रत्येक स्वास्थ्यकर्मीबाटै हुनुपर्छ। स्वास्थ्यकर्मी र बिरामीबीचको दूरी बढ्दै जाँदा स्वास्थ्य सेवा कमजोर हुन्छ तर विश्वास बढ्यो भने संवाद बढ्छ अनि संवाद बढ्यो भने सम्मान बढ्छ। अन्ततः सम्मान बढ्यो भने सहकार्य बढ्छ र सहकार्य बढेपछि अस्पताल मात्र होइन—सम्पूर्ण समाज नै स्वस्थ बन्छ। “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।”सबै सुखी होऊन्, सबै निरोगी होऊन्- स्वास्थ्य सेवाको अन्तिम उद्देश्य पनि आखिर यही त होइन र?
(लेखक:पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापक तथा प्रमुख वालरोग विशेषज्ञका रुपमा कार्यरत हुनुहुन्छ।)