मधेश प्रदेशमा मानसिक स्वास्थ्यलाई अझै पनि स्वास्थ्य क्षेत्रको प्राथमिकताका रूपमा पर्याप्त महत्त्व दिइएको छैन। यद्यपि उपलब्ध तथ्यांकले भने यस विषयलाई बेवास्ता गर्न नहुने स्पष्ट संकेत गर्छ। राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० अनुसार, मधेश प्रदेशका वयस्कमा कुनै पनि मानसिक विकारको जीवनकालीन प्रचलन २.१ % र वर्तमान प्रचलन १.५ % रहेको थियो । सोही सर्वेक्षण अनुसार मधेशका २.० % वयस्कमा हाल आत्महत्यासम्बन्धी विचार र ०.४ % मा आत्महत्याको प्रयास गरेको इतिहास देखिएको थियो।
अझ पछिल्लो नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले पनि मानसिक स्वास्थ्यलाई बेवास्ता गर्न नहुने अवस्था देखाउँछ । १५–४९ वर्षका मधेश प्रदेशका महिलामध्ये २२ % र पुरुषमध्ये ७ %मा सर्वेक्षणअघि दुई हप्तामा एन्जनइटीका लक्षण देखिएका थिए। त्यस्तै,डिप्रेसनका लक्षण महिलामा ५ % र पुरुषमा १ % देखिएका थिए । यी क्लिनिकल डायग्नोसिस नभई स्क्रिनिङबाट देखिएका लक्षण हुन्।
मानसिक स्वास्थ्यसम्बन्धी सेवा उपयोगको अवस्थाले पनि ध्यान खिच्छ। स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचआईएमएस)को वार्षिक स्वास्थ्य प्रतिवेदन २०८१/८२ अनुसार मधेश प्रदेशमा सामान्य मानसिक स्वास्थ्यसम्बन्धी समस्या का लागि २२ हजार ६८ वटा ट्रिटमेन्ट/सर्विस-युटिलाइजेनस केसेस रिपोर्ट भएका छन् । यो तथ्यांकलाई मधेशमा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको वास्तविक संख्या भनेर बुझ्न भने मिल्दैन; यसले स्वास्थ्य संस्थामा रिपोर्ट भएका सेवा उपयोगका घटनालाई जनाउँछ।
यसैबीच, जनगणनामा आधारित सरकारी प्रतिवेदनअनुसार मधेश प्रदेशमा ६४० वटा सुसाइड डेथ्स र प्रति एक लाख जनसंख्यामा १०.५ को सुसाइड मोर्टालिटी रेट रिपोर्ट गरिएको थियो।
यी तथ्यांकले एउटा महत्वपूर्ण प्रश्न उठाउँछन् मधेशमा मानसिक स्वास्थ्यलाई स्वास्थ्य प्रणालीको प्राथमिकतामा राख्ने बेला अब आएन र?
मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिए पनि सबै व्यक्ति स्वास्थ्य संस्थासम्म पुग्छन् भन्ने हुँदैन । मानसिक स्वास्थ्यलाई अझै पनि “कमजोर मन”, “पागलपन” वा व्यक्तिगत असफलतासँग जोडेर हेर्ने सामाजिक धारणा कतिपय अवस्थामा उपचार खोज्ने व्यवहारमा बाधक बन्न सक्छ ।
विशेषगरी ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी जानकारीको कमी, सेवा कहाँ पाइन्छ भन्ने अन्योल र सामाजिक कलंकका कारण समस्या लुकाउने प्रवृत्ति हुन सक्छ।
समस्या हुनु एउटा कुरा हो, तर समस्या भएपछि सहयोग खोज्न सक्नु अर्को महत्वपूर्ण कुरा हो । त्यसैले चुनौती केवल “कति मानिसमा समस्या छ ?” भन्ने होइन, “समस्या भएका कति मानिसले समयमै सहयोग पाएका छन् ?” भन्ने पनि हो।
किशोरकिशोरी र युवाको मानसिक स्वास्थ्यलाई मधेशमा विशेष प्राथमिकता दिन आवश्यक छ। पढाइ, परीक्षा, रोजगारीको अनिश्चितता, भविष्यको चिन्ता, पारिवारिक अपेक्षा, सामाजिक सम्बन्ध, बुलिङ तथा सामाजिक सञ्जालसँग सम्बन्धित दबाबले उनीहरूको मानसिक स्वास्थ्यमा असर पार्न सक्छ।
विद्यालय तथा कलेजमा मानसिक स्वास्थ्यबारे खुलेर छलफल गर्ने वातावरणको कमी हुँदा विद्यार्थीले तनाव वा भावनात्मक समस्या लुकाएर राख्न सक्छन्।
त्यसैले विद्यालयमा मानसिक स्वास्थ्यसम्बन्धी साक्षरता, परामर्श सेवा तथा हेपाइ तथा दुर्व्यवहार रोकथाम र आवश्यक परे स्वास्थ्य संस्थामा रेफरल गर्ने प्रणाली विकास गर्न आवश्यक छ।
महिलाको मानसिक स्वास्थ्य
मधेशमा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सेवातर्फ केही महत्वपूर्ण पहल पनि सुरु भएका छन्। २०२५ मा युनिसेफको सहयोगमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरमा चाइल्ड एन्ड एडलोसेन्ट टेलि-मेन्टल हेल्थ क्लिनिक स्थापना गरिएको छ। यस सेवामार्फत किशोरकिशोरीको स्क्रिनिङ तथा काउन्सेलिङ गर्नुका साथै काठमाडौंस्थित कान्ति चिल्ड्रेन्स हस्पिटलका विशेषज्ञसँग टेलि-कन्सेल्टेसन मार्फत जोड्ने व्यवस्था गरिएको छ।
यस सेवामा काम गरिरहेकी साइकियाट्रिक नर्स का अनुसार, बालबालिका र वयस्कले मानसिक तनावलाई फरक तरिकाले अनुभव र व्यक्त गर्न सक्छन्। तालिमपछि आफूले युवा बिरामीलाई केवल चिकित्सकीय दृष्टिले मात्र नभई उनीहरूको कुरा सुनेर बुझ्न अझ सक्षम भएको उनले बताएकी छन्।
यो उदाहरणले विशेषज्ञ सेवा सबै ठाउँमा प्रत्यक्ष रूपमा उपलब्ध नभए पनि टेलि-मेन्टल हेल्थ मार्फत विशेषज्ञसँग जोड्ने प्रणाली मधेशका लागि उपयोगी विकल्प हुन सक्ने देखाउँछ।
एउटा वास्तविक कथा : सहयोग पाएपछि फर्किएको आशा
मधेशमै मानसिक स्वास्थ्य सेवाको आवश्यकता र त्यसले पार्ने प्रभाव देखाउने एउटा उदाहरण युनिसेफ नेपालले सार्वजनिक गरेको छ । गोपनीयताका लागि नाम र पहिचानसम्बन्धी विवरण परिवर्तन गरिएको १६ वर्षीया किशोरी मधेशमा आफ्नो दिदीसँग बस्न थालेपछि अनलाइन ह्यारासमेन्टको सामना गर्नुपरेको थियो। धम्कीपूर्ण सन्देशका कारण उनी बिस्तारै सामाजिक रूपमा अलग हुन थालिन् र नियमित रूपमा विद्यालय जान पनि छाडिन्।
समयमै मनोसामाजिक सहयोग तथा परामर्श पाएपछि उनले पुनः आत्मविश्वास हासिल गर्दै विद्यालय फर्किने बाटो समातिन्। यो घटनाले किशोरकिशोरीमा मानसिक स्वास्थ्य समस्या पहिचानसँगै सुरक्षित वातावरण, विश्वासिलो व्यक्ति, काउन्सेलिङ र समयमै रेफरल कति महत्वपूर्ण हुन्छ भन्ने देखाउँछ।
यस्ता घटनाले मानसिक स्वास्थ्य समस्या केवल अस्पतालमा पुगेर औषधि खाने विषय होइन भन्ने पनि देखाउँछन् । परिवार, विद्यालय र समुदायको सहयोग पनि उपचार प्रक्रियाको महत्वपूर्ण हिस्सा हो।
महिलाको मानसिक स्वास्थ्य पनि छुट्टै ध्यान दिनुपर्ने विषय हो। घरेलु हिंसा, आर्थिक निर्भरता, पारिवारिक निर्णयमा सीमित सहभागिता, विवाह तथा मातृत्वसम्बन्धी दबाब र प्रजनन स्वास्थ्यसँग जोडिएका समस्याले महिलाको मानसिक स्वास्थ्यलाई प्रभावित गर्न सक्छन्।
यसका लागि प्रजनन स्वास्थ्य, मातृ स्वास्थ्य तथा मानसिक स्वास्थ्य सेवाहरू लाई एकीकृत रूपमा अघि बढाउन आवश्यक छ। स्वास्थ्य संस्थामा महिलाले आफ्नो मानसिक स्वास्थ्यसम्बन्धी समस्या सुरक्षित र गोप्य रूपमा व्यक्त गर्न सक्ने वातावरण पनि आवश्यक हुन्छ।
मानसिक स्वास्थ्य समस्याका बारेमा खुलेर कुरा गर्न नसक्नु मधेशमा मात्र होइन, नेपालमै महत्वपूर्ण चुनौती हो। मानसिक समस्यालाई कमजोरी, चरित्रको समस्या वा “पागलपन” का रूपमा बुझ्ने सोचले व्यक्तिलाई उपचार खोज्नबाट रोक्न सक्छ।
कतिपय अवस्थामा परिवारले स्वास्थ्य संस्थामा लैजानुभन्दा पहिले परम्परागत वा धार्मिक उपाय खोज्ने सम्भावना पनि हुन्छ। यस्तो अवस्थामा समुदायका अगुवा, महिला समूह, शिक्षक, स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिलाई मानसिक स्वास्थ्यबारे आधारभूत जानकारी दिन आवश्यक हुन्छ।
मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिलाई दोष दिने वा उनीहरूको समस्या सामान्यीकरण गर्नेभन्दा सुन्ने, बुझ्ने, गोपनीयता कायम गर्ने र आवश्यक सेवामा जोड्ने वातावरण निर्माण गर्नुपर्छ।
मधेशमा जनगणनामा आधारित तथ्यांकले ६४० सुसाइड डेथ्स देखाएको छ। त्यसैले मानसिक स्वास्थ्यको चर्चा गर्दा सुसाइड प्रिभेन्सनलाई छुट्टै प्राथमिकता दिन आवश्यक छ।
आत्महत्या रोकथामका लागि जोखिममा रहेका व्यक्तिको समयमै पहिचान, मनोसामाजिक सहयोग, परिवारको सहयोग, स्वास्थ्य संस्थामा उचित रेफरल र नियमित फलोअप महत्वपूर्ण हुन्छ।
तर सुसाइड प्रिभेन्सनलाई संकटको समयमा मात्र गरिने कामका रूपमा हेर्नु हुँदैन। मानसिक स्वास्थ्यसम्बन्धी समस्या समयमै पहिचान गर्ने, स्टिग्मा घटाउने, उपचारमा पहुँच बढाउने र समुदायमा सहयोग खोज्ने व्यवहारलाई प्रोत्साहन गर्ने काम पनि यसको महत्वपूर्ण हिस्सा हो।
यसका लागि स्वास्थ्यकर्मी, विद्यालय, परिवार, समुदाय, स्थानीय सरकार र सञ्चारमाध्यमबीच समन्वय आवश्यक छ।
मधेशमा मानसिक स्वास्थ्य सुधारका लागि प्रदेश सरकारदेखि स्थानीय तह र समुदायसम्म बहुक्षेत्रीय प्रयास आवश्यक छ।
स्थानीय तहमा
मानसिक स्वास्थ्यलाई स्थानीय तहको वार्षिक स्वास्थ्य योजना तथा कार्यक्रमभित्र समावेश गर्नुपर्छ। स्वास्थ्य संस्थामा काउन्सिलिङ तथा रेफरल सेवा विस्तार गर्नुका साथै समुदायस्तरमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक छ।
विद्यालयमा
विद्यालयमा मानसिक स्वास्थ्यसम्बन्धी साक्षरता, परामर्श सेवा तथा हेपाइ तथा दुर्व्यवहार रोकथाम र जोखिममा रहेका विद्यार्थीलाई आवश्यक सेवामा रेफरल गर्ने प्रणाली विकास गर्नुपर्छ।
स्वास्थ्य संस्थामा
स्वास्थ्यकर्मीको क्षमता विकास, नियमित स्क्रिनिङ, काउन्सिलिङ, आवश्यक औषधिको उपलब्धता, रिफरल तथा फलो-अप प्रणालीलाई सुदृढ गर्नुपर्छ। मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवामा एकीकृत गर्दा सेवाको पहुँच अझ व्यापक बनाउन सकिन्छ।
प्रदेशस्तरमा
प्रदेश सरकारले मेन्टल-हेल्थ वर्कफोर्सको योजना तथा व्यवस्थापन, सेवा र बजेट विस्तार, सुसाइड प्रिभेन्सन, नियमित डाटा कलेक्सन तथा एनालाइसिस र स्थानीय तहका कार्यक्रमको मोनिटरिङमा विशेष ध्यान दिनुपर्छ।
तथ्यांकलाई अझ बलियो बनाउने आवश्यकता
मधेशमा मानसिक स्वास्थ्यको वास्तविक अवस्था बुझ्न प्रदेश तथा जिल्लास्तरको नियमित, गुणस्तरीय र छुट्टाछुट्टै तथ्यांक आवश्यक छ।
सर्वेक्षणबाट प्राप्त एङ्जाइटी तथा डिप्रेसनका सिम्प्टम्स, एचआईएमएसमा रिपोर्ट भएका सर्भिस युटिलाइजेसन केसेस र क्लिनिकल डायग्नोसिस एउटै कुरा होइनन्। त्यसैले यी तथ्यांकलाई एउटै अर्थमा प्रयोग गर्नु हुँदैन।
आगामी दिनमा प्रदेशस्तरमा मानसिक स्वास्थ्य निगरानी, सेवा उपयोग, उपचारको खाडल र सहयोग खोज्ने व्यवहार सम्बन्धी तथ्यांक नियमित रूपमा संकलन तथा विश्लेषण गर्न आवश्यक छ। यसले नीति तथा कार्यक्रमलाई अनुमानमा होइन, प्रमाणमा आधारित बनाउन सहयोग गर्नेछ।
मधेशमा मानसिक स्वास्थ्यलाई अब स्वास्थ्य क्षेत्रको अतिरिक्त विषयका रूपमा हेरेर पुग्दैन। उपलब्ध तथ्यांकले मानसिक स्वास्थ्य र सुसाइडलाई महत्वपूर्ण सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा लिनुपर्ने संकेत गरिरहेका छन् । त्यसमाथि स्वास्थ्य प्रणालीमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा उपयोगका तथ्यांक पनि देखिइरहेका छन् ।
मधेशमा बालबालिका तथा किशोरकिशोरीका लागि टेलि-मेन्टल हेल्थ जस्ता नयाँ सेवा सुरु हुनु सकारात्मक कदम हो। तर यस्ता सेवाको पहुँच अझै विस्तार गर्न, स्थानीय स्वास्थ्यकर्मीको क्षमता बढाउन र समुदायसम्म मानसिक स्वास्थ्यसम्बन्धी जानकारी पुर्याउन आवश्यक छ।
मानसिक स्वास्थ्य सेवाको विस्तारसँगै समाजमा रहेको स्टिग्मा हटाउने, समयमै समस्या पहिचान गर्ने र आवश्यक उपचार तथा साइकोलोजिकल सपोर्टमा सहज पहुँच सुनिश्चित गर्ने काम समानान्तर रूपमा अघि बढाउनुपर्छ।
मानसिक स्वास्थ्यमा लगानी गर्नु केवल मानसिक रोगको उपचार गर्नु होइन; स्वस्थ परिवार, स्वस्थ समुदाय र उत्पादनशील समाज निर्माण गर्नु पनि हो।
त्यसैले अब प्रश्न “मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने कि नदिने?” भन्ने होइन, “मधेशमा मानसिक स्वास्थ्यलाई कति छिटो र कसरी प्राथमिकतामा राख्ने?” भन्ने हुनुपर्छ ।
मधेशमा मानसिक स्वास्थ्य : चुनौती बढ्दैछ, प्राथमिकता कहिले?
मधेश प्रदेशमा मानसिक स्वास्थ्य अझै पनि स्वास्थ्य क्षेत्रको पर्याप्त प्राथमिकतामा पर्न सकेको छैन। तर उपलब्ध तथ्यांकले भने अवस्था बेवास्ता गर्न नहुने संकेत गर्छ।
राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० अनुसार, मधेशका वयस्कमा मानसिक विकारको जीवनकालीन प्रचलन २.१% र वर्तमान प्रचलन १.५% रहेको थियो। त्यस्तै, २.०% वयस्कमा आत्महत्यासम्बन्धी विचार र ०.४% मा आत्महत्याको प्रयासको इतिहास देखिएको थियो।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले पनि १५–४९ वर्षका मधेशका महिलामध्ये २२% र पुरुषमध्ये ७% मा पछिल्लो दुई सातामा anxiety का लक्षण देखिएको जनाएको छ।
समस्या कति छ भन्ने मात्र होइन समस्या भएका व्यक्तिले समयमै सहयोग र उपचार पाएका छन् कि छैनन् भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ।
मानसिक स्वास्थ्यलाई अब अस्पतालमा मात्र सीमित नराखी विद्यालय, प्राथमिक स्वास्थ्य सेवा, परिवार र समुदायसँग जोडेर अघि बढाउने बेला आएको छ।