रसुवा- रसुवामा आएको प्राकृतिक प्रकोपका कारण सडक सञ्जाल अवरुद्ध भएपछि स्वास्थ्य सेवा प्रभावित हुन नदिन जनस्वास्थ्य कार्यालय, रसुवाले दुर्गम तथा बाढीप्रभावित क्षेत्रमा वैकल्पिक माध्यमबाट औषधि तथा स्वास्थ्य सामग्री पुर्याउन थालेको छ।
बाढी तथा पहिरोका कारण नियमित यातायात सेवा अवरुद्ध भएका स्थानमा स्वास्थ्य सेवाको निरन्तरता कायम राख्न आवश्यकताका आधारमा हेलिकप्टर तथा सरकारी सवारीसाधनमार्फत औषधि र स्वास्थ्य सामग्री पठाइएको जनस्वास्थ्य कार्यालय, रसुवाले जनाएको छ।
कार्यालयका अनुसार स्याफ्रुबेँसी हुँदै जाने सडक अवरुद्ध भई आमाछोदिङ्मो गाउँपालिकामा सडकमार्गबाट पहुँच पुग्न नसक्ने अवस्था बनेपछि स्थानीय समुदायका लागि आवश्यक आधारभूत औषधि तथा स्वास्थ्य सामग्री हेलिकप्टरमार्फत पठाइएको छ। स्थानीय स्वास्थ्य शाखा प्रमुखको मागका आधारमा उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोगका औषधि तथा अन्य आकस्मिक स्वास्थ्य सामग्री पठाइएको कार्यालयले जनाएको छ।
त्यस्तै, उत्तरगया गाउँपालिकाअन्तर्गत भोटेकोशी नदीवारि रहेका विभिन्न स्वास्थ्य संस्था तथा होल्डिङ सेन्टरमा आवश्यक औषधि र स्वास्थ्य सामग्री सरकारी सवारीसाधनमार्फत पठाइएको छ।
बाढीका कारण नदीपारिका स्वास्थ्य संस्थाहरूमा समेत पहुँच सहज नभएपछि उत्तरगया गाउँपालिकाका ठूलोगाउँ स्वास्थ्य चौकी र डाँडागाउँ स्वास्थ्य चौकीमा स्थानीय आवश्यकताका आधारमा आवश्यक औषधि हेलिकप्टरमार्फत पठाइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
विपद्का कारण विस्थापित तथा प्रभावित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन धुन्चेस्थित रसुवा होल्डिङ सेन्टर र उत्तरगया गाउँपालिकाका तीनवटा होल्डिङ सेन्टरमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ। ती केन्द्रहरूमा रहेका बाढीप्रभावित व्यक्तिको नियमित स्वास्थ्य परीक्षणका लागि पालिकाका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी र जनप्रतिनिधिसँग समन्वय गरी चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली खटाइएको कार्यालयले जनाएको छ।
विपद्को समयमा हुन सक्ने सम्भावित रोगको निगरानी, रोकथाम तथा प्रतिकार्यलाई निरन्तरता दिइरहेको जनस्वास्थ्य कार्यालय, रसुवाका प्रमुख निरध्वज घर्तीमगरले जानकारी दिए।
स्वास्थ्य सेवाको पहुँचबाट कुनै पनि प्रभावित नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उपलब्ध स्रोत-साधनको अधिकतम प्रयोग गर्दै औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन गरिरहेको कार्यालयले जनाएको छ।