काठमाडौं - हालै आएको बाढीबाट प्रभावित महिला तथा किशोरीको स्वास्थ्य, सुरक्षाका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) नेपालले राहत तथा स्वास्थ्य सेवा परिचालन गरेको छ।
यूएनएफपीएका अनुसार प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सरसफाइ तथा संरक्षणसम्बन्धी सामग्री उपलब्ध गराउन डिग्निटी किट, किशोरी किट तथा आश्रयका लागि त्रिपाल प्रभावित क्षेत्रमा पठाइएको छ।
बाढीका कारण गम्भीर मानसिक तनावमा रहेका तथा विपद्बाट प्रभावित व्यक्तिलाई आवश्यक मनोसामाजिक सहयोग उपलब्ध गराउन मनोसामाजिक परामर्शदाता समेत फिल्डमा परिचालन गरिएको छ। परामर्शदाताले प्रभावितलाई मनोवैज्ञानिक प्राथमिक उपचार तथा भावनात्मक सहयोग प्रदान गरिरहेका छन्।
त्यसैगरी, नुवाकोटमा मोबाइल स्वास्थ्य टोली परिचालन गरिएको छ। उक्त टोलीले प्रभावित क्षेत्रमा आमा तथा नवजात शिशुको स्वास्थ्य र प्रजनन स्वास्थ्यसम्बन्धी अत्यावश्यक तथा जीवनरक्षक स्वास्थ्य सेवा प्रदान गरिरहेको यूएनएफपीएले जनाएको छ।
विपद्को समयमा प्रभावित महिला तथा किशोरीको स्वास्थ्य, सुरक्षा र स्वच्छताको संरक्षणलाई प्राथमिकतामा राख्दै यूएनएफपीएले तत्काल आवश्यक सामग्री तथा स्वास्थ्य सेवा उपलब्ध गराइरहेको छ।