काठमाडौं- भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये ९४ जनाको शव पोस्टमार्टमका लागि काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको छ।
शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार अस्पतालमा ल्याइएका ९४ शवमध्ये हालसम्म ४८ जनाको पोस्टमार्टम सम्पन्न भइसकेको छ। बाँकी ४६ वटा शवको पोस्टमार्टम गर्ने क्रम जारी रहेको उनले जानकारी दिए।
अस्पतालमा ल्याइएका शवहरूमध्ये हालसम्म नौ जनाको मात्र पहिचान खुलेको छ। पहिचान खुलेका शवहरूको पोस्टमार्टम पश्चात् आफन्त तथा परिवारको जिम्मा लगाइसकिएको डा. चौधरीले बताए।
बाढीमा परी बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेकाले शिक्षण अस्पतालमा थप शवहरू आउन सक्ने अनुमान गरिएको छ। हाल पहिचान हुन बाँकी शवहरूको हुलिया, आफन्तबाट प्राप्त विवरण तथा डिएनए परीक्षण लगायतका आवश्यक प्रक्रियामार्फत पहिचानको काम भइरहेको अस्पतालले जनाएको छ।