काठमाडौं- अमेरिकी सरकारले नेपाल भ्रमणसम्बन्धी ट्राभल एडभाइजरीमा यहाँको स्वास्थ्य सेवाको उपलब्धता र आपत्कालीन उपचार क्षमताबारे सचेत गराएको छ।
तीन दिनअघि जारी अमेरिकी ट्राभल एडभाइजरीमा नेपालका स्वास्थ्य संस्थाहरूमा नियमित तथा आकस्मिक स्वास्थ्य सेवा व्यवस्थापन गर्ने क्षमता सीमित रहेको उल्लेख गरिएको छ। विशेषगरी गम्भीर स्वास्थ्य समस्या उत्पन्न भएमा आवश्यक उपचार तत्काल उपलब्ध नहुन सक्ने भन्दै यात्रुहरूलाई सावधानी अपनाउन सुझाव दिइएको छ।
एडभाइजरीअनुसार काठमाडौंका अस्पतालहरू नेपालका अन्य क्षेत्रको तुलनामा तुलनात्मक रूपमा राम्रो भए पनि ती अस्पतालहरूमा भीडभाड हुने, आवश्यक केही उपकरण तथा औषधिको अभाव हुन सक्ने र उपचारअघि नै शुल्क भुक्तानी गर्नुपर्ने अवस्था आउन सक्ने उल्लेख छ।
विदेशी नागरिकको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने व्यवस्था नरहेको भन्दै अमेरिकी नागरिकलाई यात्रा गर्नुअघि पर्याप्त स्वास्थ्य बीमा गर्न पनि सुझाव दिइएको छ। विशेषगरी मेडिकल इभ्याकुएसन (चिकित्सकीय उद्धार) समेत समेटिएको यात्रा स्वास्थ्य बीमा लिन अमेरिकी सरकारले आग्रह गरेको छ।
गम्भीर स्वास्थ्य समस्या देखिएमा नेपालमै आवश्यक उपचार सम्भव नहुन सक्ने र उपचारका लागि अर्को देश जानुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत एडभाइजरीमा दिइएको छ।
यात्राका क्रममा नियमित रूपमा प्रयोग गर्नुपर्ने औषधि पर्याप्त मात्रामा साथमै राख्न र नेपालमा उपचार सेवाको सीमिततालाई ध्यानमा राखेर यात्रा योजना बनाउन अमेरिकी सरकारले सुझाव दिएको छ।