काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण आफन्तजन सम्पर्कविहीन तथा हराइरहेका नेपाली र विदेशी नागरिकका परिवारलाई नेपाल प्रहरीले डीएनए परीक्षणका लागि रगतको नमुना उपलब्ध गराउन आग्रह गरेको छ।
नेपाल प्रहरीले मिति २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि फेला परेका पहिचान नखुलेका शव तथा शरीरका अंग वा भागको डीएनए परीक्षणमार्फत पहिचान गर्न सम्बन्धित परिवारका सदस्यबाट नमुना संकलन गर्न लागेको हो।
प्रहरीका अनुसार हराइरहेका व्यक्तिको पहिचानका लागि सबैभन्दा नजिकको रगतको नाता अर्थात् फर्स्ट डिग्री रिलेटिभ मध्ये बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको ताजा रगतको नमुना आवश्यक पर्नेछ।
रगतको नमुना उपलब्ध गराउन सम्बन्धित आफन्तले दुई प्रति पासपोर्ट साइजको फोटो सहित नेपाल प्रहरी अस्पताल, महाराजगञ्जस्थित प्याथोलोजी ल्याब वा आफूलाई पायक पर्ने नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
त्यस्तै, विदेशमा रहेका हराइरहेका व्यक्तिका आफन्तका लागि पनि प्रहरीले वैकल्पिक व्यवस्था गरेको जनाएको छ। विदेशमा रहेका व्यक्तिको हकमा बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले सम्बन्धित मुलुकमै डीएनए प्रोफाइलिङ गराई त्यसको डीएनए प्रोफाइलको सफ्टकपी तुलना (Comparison) का लागि नेपाल प्रहरीको आधिकारिक इमेल [[email protected]](mailto:[email protected]) मा पठाउन सकिने व्यवस्था गरिएको छ।
बाढीपछि फेला परेका तर पहिचान खुल्न नसकेका शव तथा शरीरका अंगको वैज्ञानिक परीक्षणमार्फत वास्तविक पहिचान गर्न डीएनए परीक्षण महत्वपूर्ण हुने भएकाले हराइरहेका आफन्तका परिवारलाई यथाशीघ्र सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।
डीएनए परीक्षणसम्बन्धी थप जानकारी तथा समन्वयका लागि प्रहरी निरीक्षक शम्भु बहादुर के.सी.लाई ९८४१६१६०९५ मा सम्पर्क गर्न सकिनेछ।