काठमाडौं- भोटेकोशीमा आएको हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको स्वास्थ्य उपचार र राहतका लागि आर्या फार्माल्याव प्रालिले सरकारलाई ८२ लाख ५१ हजार ७५० रुपैयाँ बराबरको औषधि हस्तान्तरण गरेको छ।
प्रभावित क्षेत्रमा क्रियाशील स्वास्थ्य चौकी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेवकमार्फत वितरण हुने गरी कम्पनीले उक्त मूल्य बराबरका जीवनरक्षक तथा अति आवश्यक औषधिहरू उपलब्ध गराएको हो।
विपद्का बेला महामारी वा अन्य स्वास्थ्य समस्या फैलिन नदिन र प्रभावित क्षेत्रमा औषधि अभाव हुन नदिन यो सहयोग गरिएको कम्पनीले जनाएको छ। साथै, आगामी दिनमा परिस्थिति अनुसार थप स्वास्थ्य उपकरण वा औषधि आवश्यकता परेमा पुनः सहयोग उपलब्ध गराउन कम्पनी तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
प्राकृतिक विपद्को कठिन घडीमा पीडित नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले राहत, उद्धार र पुनःस्थापनाको कार्यमा निरन्तर सहयोग जारी राख्ने जनाएको छ।