काठमाडौं- अन्नपूर्ण न्युरो हस्पिटल तथा हस्पिटलमा कार्यरत कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३० लाख सहयोग प्रदान गरिएको छ।
प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले हस्पिटल तथा स्टाफको तर्फबाट उक्त रकम सहयोग गरिएको हो। विपद्को समयमा राज्य तथा प्रभावित समुदायलाई साथ दिन सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको हस्पिटलले जनाएको छ।
अन्नपूर्ण न्युरो हस्पिटलले विपद्का कारण समस्यामा परेका नागरिकको सहयोगका लागि सबै क्षेत्रबाट मानवीय सहयोग र ऐक्यबद्धता आवश्यक रहेको बताएको छ। हस्पिटल तथा कर्मचारीहरूको संयुक्त प्रयासबाट उपलब्ध गराइएको उक्त सहयोगले विपद् प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा केही योगदान पुग्ने विश्वास गरिएको छ।
पछिल्लो समय प्राकृतिक विपद्का घटनाबाट जनधनको क्षति भइरहेका बेला विभिन्न संघसंस्था, निजी क्षेत्र तथा नागरिकहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्दै आएका छन्। यही क्रममा अन्नपूर्ण न्युरो हस्पिटल तथा स्टाफले पनि रु. ३० लाख सहयोग गरेको हो।