काठमाडौं - चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रममा विद्यार्थी भर्नाका लागि सञ्चालन हुने एकीकृत प्रवेश परीक्षा मईसीईई-बीएल को अनलाइन आवेदन फाराम भर्ने म्याद थप गरेको छ।
आयोगले भोटेकोशी बाढीका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै आवेदनको समय थप गरेको जनाएको छ। यसअघि २०८३ भदौ १५ गते अपराह्न ५ बजेसम्म आवेदन दिन सकिने व्यवस्था रहेकामा अब उम्मेदवारले भदौ २३ गते अपराह्न ५ बजेसम्म आवेदन शुल्क बैंकमा दाखिला गर्न सक्नेछन्।
बैंकमा शुल्क दाखिला गरेको भौचरका आधारमा उम्मेदवारले भदौ २५ गते अपराह्न ५ बजेसम्म अनलाइन आवेदन पेश गर्न सक्नेछन्। आयोगका अनुसार भदौ २५ गते अपराह्न ५ बजेदेखि भदौ ३१ गते अपराह्न ५ बजेसम्म भने दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ।
एमईसीईई-बीएलमा सहभागी हुन इच्छुक तथा तोकिएको योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्नेछ। आयोगले यसअघि २०८३ श्रावण २५ गते बिहान ९ बजेदेखि आवेदन खुला गरेको थियो।
एकीकृत प्रवेश परीक्षामा सहभागी हुने विद्यार्थीले निर्धारित समयभित्र आवेदन प्रक्रिया पूरा गर्न आयोगले आग्रह गरेको छ। परीक्षा सञ्चालन हुने मिति र समय भने पछि प्रकाशन गरिने आयोगले जनाएको छ।
चिकित्सा शिक्षा आयोग, परीक्षा निर्देशनालय, सानोठिमी भक्तपुरले २०८३ भदौ १५ गते जारी गरेको सूचनामा म्याद थपसम्बन्धी जानकारी दिएको हो। आयोगका अनुसार थप जानकारीका लागि आयोगको वेबसाइट www.mec.gov.np तथा कार्यालयका सूचनाहरू हेर्न सकिनेछ।