धनगढी — शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले सुदूरपश्चिम प्रदेशका चार वटा अस्पताललाई विश्वविद्यालयका शिक्षण अस्पतालका रूपमा उपयोग गर्ने गरी सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समझदारी गरेको छ।
विश्वविद्यालय र मन्त्रालयबीच भएको समझदारीअनुसार सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र लम्कीचुहा प्रादेशिक अस्पताललाई विश्वविद्यालयको क्लिनिकल शिक्षा, तालिम तथा अनुसन्धानका लागि उपयोग गरिनेछ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीका अनुसार यस समझदारीको उद्देश्य गेटास्थित विश्वविद्यालयको आफ्नै शिक्षण अस्पतालको विकल्प खोज्नु नभई प्रदेशभर रहेका अस्पतालको क्षमता उपयोग गर्दै चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विस्तार गर्नु हो।
उनका अनुसार प्रदेशका अस्पतालमा उपलब्ध विशेषज्ञ चिकित्सक, स्वास्थ्य जनशक्ति, पूर्वाधार र बिरामी सेवासँग समन्वय गरी विश्वविद्यालयले चिकित्सा शिक्षाको सुरुवात तथा विस्तार गर्न सक्नेछ। यसबाट सुदूरपश्चिममा पहिलेदेखि सञ्चालनमा रहेका अस्पताललाई क्लिनिकल शिक्षा र अनुसन्धानको आधारका रूपमा उपयोग गर्न सकिनेछ।
विश्वविद्यालयले यसै वर्षदेखि एमबीबीएसलगायत चार विधामा पठनपाठन सुरु गर्ने तयारी गरेको छ। त्यसका लागि गेटामा आवश्यक शैक्षिक तथा अस्पतालसम्बन्धी पूर्वाधार, जनशक्ति र ३०० शय्याको आफ्नै शिक्षण अस्पताल विकास भइरहेको उपकुलपति जोशीले बताए।
‘गेटास्थित शिक्षण अस्पताल विश्वविद्यालयको मुख्य आधार हो,’ उपकुलपति प्रा.डा. जोशीले भने, ‘प्रदेशका अन्य अस्पतालसँग गरिएको समझदारी गेटाको विकल्प होइन। विश्वविद्यालय ऐनले दिएको व्यवस्थाअनुसार संघ, प्रदेश तथा स्थानीय तहअन्तर्गतका अस्पताल र स्वास्थ्य संस्थासँग सहकार्य गरी शिक्षा र स्वास्थ्य सेवालाई सुदूरपश्चिमभर विस्तार गर्ने पहल हो।’
उनले भने, '२० वर्षका लागि समझदारी गरिएको विषयलाई लिएर गेटामा विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल नबनाउने भन्ने भ्रम सिर्जना भएको भए त्यो गलत हो।' गेटामा आवश्यक अस्पताल, जनशक्ति, वार्ड तथा सम्पूर्ण शैक्षिक पूर्वाधार विकासको काम अघि बढिरहेको उनले स्पष्ट पारे।
चार अस्पतालसँग गरिएको समझदारीको अवधि सुरुमा पाँच वर्ष राख्ने सोच रहे पनि विश्वविद्यालय र प्रदेशका अस्पतालबीचको सहकार्य दीर्घकालीन बनाउँदा सुदूरपश्चिमका नागरिकलाई थप लाभ पुग्ने प्रदेश सरकारको सुझावपछि अवधि २० वर्ष कायम गरिएको उपकुलपति प्रा.डा. जोशीले बताए।
यद्यपि, समझदारीपत्रमा दुवै पक्षको सहमतिमा एक वर्षको पूर्वसूचना दिएर समझदारी अन्त्य गर्न सकिने व्यवस्था रहेको पनि उनले जानकारी दिए।
विश्वविद्यालयले गेटामा आफ्नै शिक्षण अस्पताल विकास गर्नुका साथै प्रदेशका विभिन्न अस्पतालसँग सहकार्य गरेर चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानलाई सुदूरपश्चिमभर विस्तार गर्ने लक्ष्य लिएको छ।
‘गेटामा विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल विकास हुन्छ, प्रदेशभरका अस्पतालसँग सहकार्य पनि निरन्तर हुन्छ,’ उपकुलपति प्रा.डा. जोशीले भने, ‘यी एकअर्काका विकल्प होइनन्, सुदूरपश्चिमको स्वास्थ्य सेवा र चिकित्सा शिक्षा बलियो बनाउने साझा प्रयास हुन्।’