एक वृद्ध बुबाले दिनमा एउटै प्रश्न धेरै पटक सोध्न थाल्नुहुन्छ। बिहानको औषधि खाइसक्नुभयो कि छैन भन्ने बिर्सनुहुन्छ। पहिले सहजै घरखर्चको हिसाब गर्ने व्यक्ति अब रकमको गणना गर्दा अलमलिन थाल्नुहुन्छ। कहिलेकाहीँ वर्षौँदेखि हिँडिरहेको परिचित बाटोबाट घर फर्किनसमेत कठिनाइ हुन थाल्छ। सुरुमा कसैले यसलाई रोग ठान्दैन। परिवारको सहज प्रतिक्रिया हुन्छ-'उमेर भयो, यस्तै त हो।'
महिना बित्छन्, कहिलेकाहीँ वर्षौँ पनि बित्छन्। छोरीले विस्तारै औषधिको जिम्मा लिन थाल्छिन्। छोराले आर्थिक कारोबार सम्हाल्न थाल्छ। घरबाहिर निस्कँदा कसैले साथ दिनुपर्ने हुन्छ। परिवारले उहाँको घट्दो क्षमताअनुसार आफ्नो व्यवहार र जिम्मेवारी परिवर्तन गर्दै जान्छ, तर वास्तवमा कति ठूलो परिवर्तन भइरहेको छ भन्ने कुरा स्पष्ट रूपमा बुझ्दैन।
एक दिन कुनै गम्भीर घटना हुन्छ। उहाँ बाटो बिराउनुहुन्छ, असामान्य रूपमा शंकालु बन्नुहुन्छ, चिनेको मान्छे चिन्न सक्नुहुन्न वा अचानक धेरै भ्रमित भएर अस्पताल ल्याइन्छ। त्यसपछि मात्र कसैले प्रश्न गर्छ- के यो डिमेन्सिया हुन सक्छ?
हरेक सेप्टेम्बरमा मनाइने विश्व अल्जाइमर महिनाले हामीलाई यही अन्तरतर्फ ध्यान दिन आग्रह गर्छ। सन् २०२६ को सन्देश विशेष अर्थपूर्ण छ- 'जति छिटो थाहा पाउँछौँ, त्यति धेरै गर्न सक्छौँ: डिमेन्सियाको निदान महत्त्वपूर्ण छ।' नेपालका लागि यो केवल जनचेतनाको नारा मात्र हुनु हुँदैन। यसले एउटा महत्वपूर्ण प्रश्न उठाउनुपर्छ- आज नेपालमा कति मानिस डिमेन्सियासँग बाँचिरहेका छन्, तर आफू वा परिवारलाई वास्तवमा के भइरहेको छ भन्ने थाहा छैन?
नेपालमा डिमेन्सिया अब भविष्यको मात्र समस्या होइन
यसको ठ्याक्कै राष्ट्रिय उत्तर हामीसँग छैन। यही तथ्य आफैँमा हाम्रो समस्याको एउटा हिस्सा हो, तर उपलब्ध तथ्यहरू भने चिन्ता गर्न पर्याप्त छन्। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२१ मा विश्वभर करिब ५ करोड ७० लाख मानिस डिमेन्सियासँग बाँचिरहेका थिए, र हरेक वर्ष करिब १ करोड नयाँ केस थपिन्छन्। डिमेन्सियासँग बाँचिरहेका ६० प्रतिशतभन्दा बढी मानिस निम्न तथा मध्यम आय भएका देशमा बस्छन्; जहाँ निदान, उपचार, दीर्घकालीन हेरचाह र सामाजिक सहयोगका संरचना तुलनात्मक रूपमा कमजोर छन्।
अल्जाइमर रोग डिमेन्सियाको सबैभन्दा सामान्य कारण हो र यसले करिब ६०–७० प्रतिशत केस ओगट्ने अनुमान गरिएको छ। विश्वव्यापी रूपमा डिमेन्सिया अहिले मृत्युको सातौँ प्रमुख कारणमध्ये एक हो र वृद्धावस्थामा अशक्तता तथा परनिर्भरताको प्रमुख कारणसमेत बनेको छ।
नेपाल पनि तीव्र रूपमा वृद्ध समाजतर्फ अघि बढिरहेको छ। नेपालमा ६० वर्ष वा सोभन्दा माथिको जनसंख्या सन् २००१ मा करिब ६.५ प्रतिशत रहेकोमा सन् २०२१ सम्म आइपुग्दा करिब १०.२ प्रतिशत पुगेको छ। सन् २०५० सम्म यो अनुपात लगभग १७.९ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। अर्थात्, अबको एक पुस्ताभित्र नेपालका झन्डै प्रत्येक पाँच जनामध्ये एक जना ज्येष्ठ नागरिक हुन सक्छन्।
यो जनसांख्यिक परिवर्तनसँगै डिमेन्सियाको समस्या पनि झन् स्पष्ट र ठूलो हुँदै जानेछ। ग्लोबल बर्डेन अफ डिजिजसम्बन्धी एक महत्वपूर्ण अध्ययनले सन् २०१९ मा नेपालमा करिब ८५ हजार ६०० मानिस डिमेन्सियासँग बाँचिरहेका हुन सक्ने अनुमान गरेको थियो। सन् २०५० सम्म यो संख्या बढेर करिब २ लाख ६५ हजार ७०० पुग्न सक्ने प्रक्षेपण गरिएको छ। यसको अर्थ, करिब तीन दशकभित्र नेपालमा डिमेन्सियासँग बाँच्ने मानिसको संख्या २१० प्रतिशतभन्दा बढीले वृद्धि हुन सक्छ- अर्थात् तीन गुणाभन्दा बढी।
यी तथ्य मोडलमा आधारित अनुमान हुन्, राष्ट्रिय घरदैलो सर्वेक्षणबाट प्राप्त प्रत्यक्ष तथ्य होइनन्। त्यसैले यिनलाई सावधानीपूर्वक बुझ्नुपर्छ, तर यिनले एउटा कुरा स्पष्ट भन्छन्- डिमेन्सिया नेपालले 'पछि हेरौँला' भनेर टार्न सक्ने दुर्लभ रोग होइन।
नेपालमै भएका पछिल्ला अध्ययनले पनि चिन्ताजनक संकेत दिएका छन्। धरानका दुई वडामा बसोबास गर्ने ६० वर्ष वा सोभन्दा माथिका १,००९ ज्येष्ठ नागरिकमा गरिएको समुदायमा आधारित एक अध्ययनमा प्रयोग गरिएको परीक्षणअनुसार करिब ८.८ प्रतिशतदेखि १०.७ प्रतिशतसम्म व्यक्तिमा डिमेन्सियाको सम्भावना देखिएको थियो। यो पूर्ण क्लिनिकल निदानमा आधारित राष्ट्रिय प्रचलन दर होइन, तर यसले एउटा महत्वपूर्ण संकेत दिन्छ- हामीले सक्रिय रूपमा खोज्न थाल्यौँ भने समुदायमा अहिले देखिएको स्वास्थ्य तथ्यांकभन्दा धेरै ठूलो संख्यामा संज्ञानात्मक समस्या भेटिन सक्छ।
'उमेर भयो' भनेर बिर्सनु सामान्य ठान्दा
नेपालमा डिमेन्सियाको समयमै निदान हुन नसक्नुको सबैभन्दा ठूलो अवरोधमध्ये एक प्रविधिको कमीभन्दा पनि हाम्रो धारणा हो। हामी अझै पनि उल्लेखनीय स्मरणशक्ति ह्रासलाई वृद्धावस्थाको सामान्य परिणामका रूपमा लिने गर्छौँ।
हो, उमेर बढ्दै जाँदा मस्तिष्कको काम गर्ने गतिमा केही परिवर्तन आउन सक्छ। कहिलेकाहीँ नाम सम्झिन केही समय लाग्न सक्छ। कुनै सामान कहाँ राखिएको थियो भन्ने क्षणिक रूपमा बिर्सन सकिन्छ, तर डिमेन्सिया फरक अवस्था हो। यसले केवल स्मरणशक्ति मात्र होइन, सोच्ने क्षमता, भाषा, निर्णय क्षमता, व्यवहार र दैनिक जीवनका काम स्वतन्त्र रूपमा गर्न सक्ने क्षमतामा पनि असर गर्छ।
चस्मा कहाँ राखियो भनेर कहिलेकाहीँ बिर्सनु एउटा कुरा हो, तर खाना खाइसकेको कुरा पटक–पटक बिर्सनु अर्कै कुरा हो। कुनै व्यक्तिको नाम सम्झिन ढिलो हुनु एउटा कुरा हो, तर वर्षौँदेखि चिनेको व्यक्तिलाई नै चिन्न नसक्नु अर्कै कुरा हो। हिसाब गर्दा कहिलेकाहीँ गल्ती हुनु एउटा कुरा हो, तर वर्षौँसम्म घरको आर्थिक व्यवस्थापन गरेको व्यक्ति अचानक पैसा चलाउन नसक्ने हुनु अर्कै कुरा हो।
डिमेन्सिया वृद्धावस्थामा बढी देखिने रोग हो, तर वृद्धावस्थाको सामान्य वा अनिवार्य हिस्सा होइन।
जब क्रमशः घट्दै गएको स्मरणशक्ति र सोच्ने क्षमतालाई 'उमेरकै कारण' भनेर बेवास्ता गरिन्छ, बहुमूल्य समय गुम्छ। यसमा कलंक अर्थात् स्टिग्माले पनि ठूलो भूमिका खेल्छ। स्मरणशक्ति, व्यवहार वा सोचसँग सम्बन्धित समस्यालाई अझै कतिपय परिवारले मानसिक कमजोरी, 'पागलपन' वा सामाजिक प्रतिष्ठा गुम्ने अवस्थासँग जोडेर हेर्ने गर्छन्। वृद्ध व्यक्तिले पनि यदि समस्या स्वीकारेमा आफूलाई अक्षम ठानिने, निर्णय प्रक्रियाबाट हटाइने, सम्पत्ति वा आर्थिक नियन्त्रण गुम्ने डर महसुस गर्न सक्छन्। त्यसैले धेरै परिवारले समस्या लुकाउँदै र व्यवस्थापन गर्दै जान्छन्- जबसम्म अवस्था नियन्त्रणबाहिर जाँदैन।
स्वास्थ्य सेवाले पनि समस्या छुटाइरहेको छ
हाम्रो स्वास्थ्य प्रणालीले समेत कहिलेकाहीँ डिमेन्सियाको अदृश्यतालाई निरन्तरता दिन्छ। एक वृद्ध व्यक्ति उच्च रक्तचाप, मधुमेह, जोर्नी दुखाइ वा मुटु रोगका लागि बारम्बार अस्पताल आउनुहुन्छ। हामी रक्तचाप नाप्छौँ, सुगर हेर्छौँ, औषधि मिलाउँछौँ र घर पठाउँछौँ। तर हामी कति पटक साथमा आएको परिवारका सदस्यलाई सोध्छौँ- 'उहाँको स्मरणशक्ति वा व्यवहारमा पछिल्लो समय कुनै परिवर्तन आएको छ?'
वा बिरामीलाई सोध्छौँ- 'औषधि, पैसा र दैनिक काम पहिलेझैँ आफैँ सम्हाल्न सकिरहनुभएको छ?'
कहिलेकाहीँ यस्ता सरल प्रश्नले रगत परीक्षण वा स्क्यानभन्दा पहिले समस्या देखाइदिन सक्छन्। यसको अर्थ सबै ज्येष्ठ नागरिकलाई एउटै स्मरणशक्ति परीक्षण गरेर डिमेन्सिया घोषणा गर्नुपर्छ भन्ने होइन, तर जब बिरामी, परिवार वा स्वास्थ्यकर्मीले संज्ञानात्मक वा कार्यक्षमतामा परिवर्तन देख्छन्, त्यसलाई गम्भीरतापूर्वक मूल्यांकन गर्ने व्यवस्था हुनुपर्छ।
'निको नहुने रोगको निदान गरेर के फाइदा?'
डिमेन्सियाबारे कुरा गर्दा बारम्बार उठ्ने प्रश्न यही हो- यदि अल्जाइमर रोगलाई पूर्ण रूपमा निको पार्ने उपचार अहिले पनि उपलब्ध छैन भने निदान गरेर के फाइदा?
यो प्रश्नको उत्तर स्पष्ट छ- रोग निको पार्न सक्नु र रोगको निदान गर्नु दुई फरक कुरा हुन्।
हामी मधुमेहको निदान गर्छौँ, यद्यपि धेरैजसो मधुमेह पूर्ण रूपमा निको हुँदैन। पार्किन्सन रोगको निदान गर्छौँ, यद्यपि यसको आधारभूत रोग प्रक्रियालाई पूर्ण रूपमा समाप्त गर्न सकिँदैन। मुटुको दीर्घ रोगको निदान गर्छौँ, किनकि रोग पहिचान भएपछि लक्षण घटाउन, जटिलता रोक्न, भविष्यको योजना बनाउन र जीवनको गुणस्तर सुधार गर्न सकिन्छ। डिमेन्सियामा पनि यही सिद्धान्त लागू हुन्छ।
त्यसमाथि, स्मरणशक्ति घटेको प्रत्येक व्यक्तिमा अल्जाइमर रोग नै हुन्छ भन्ने छैन। उदासीपन, डिलिरियम, थाइराइडका समस्या, भिटामिन बी-१२ को कमी, औषधिको प्रतिकूल असर, संक्रमण, श्रवण क्षमता वा दृष्टि कमजोर हुनु, निद्रासम्बन्धी समस्या तथा अन्य स्नायु वा शारीरिक रोगले समेत सोच्ने र सम्झिने क्षमतामा असर पार्न सक्छन्। यीमध्ये केही उपचारयोग्य हुन्छन्, भने केही डिमेन्सियासँगै देखिएर लक्षणलाई अझ बिगारिरहेका हुन्छन्।
त्यसैले राम्रो मूल्यांकनको पहिलो उद्देश्य नै हो- व्यक्तिको संज्ञानात्मक क्षमता किन घटिरहेको छ भन्ने पत्ता लगाउनु।
डिमेन्सिया पुष्टि भएपछि यसको सम्भावित प्रकार र अवस्था बुझ्दा उपचार र हेरचाहको योजना बनाउन मद्दत मिल्छ। केही व्यक्तिमा औषधिले स्मरणशक्ति वा व्यवहारसम्बन्धी लक्षणमा सुधार ल्याउन सक्छ। अन्य रोगको उपचार व्यवस्थित गर्न सकिन्छ। भ्रम बढाउने औषधि समीक्षा गर्न सकिन्छ। घर र दैनिक जीवनका जोखिम पहिचान गर्न सकिन्छ। पुनर्स्थापना, सामाजिक सहभागिता र कार्यक्षमता जोगाउने उपाय सुरु गर्न सकिन्छ।
निदानले परिवारलाई 'के भइरहेको छ' भन्ने उत्तर दिन्छ
डिमेन्सियाको निदानको सबैभन्दा ठूलो लाभ कहिलेकाहीँ औषधिभन्दा पनि ठूलो हुन्छ। यसले परिवारलाई के भइरहेको छ भन्ने उत्तर दिन्छ।
एक वृद्ध आमाले आफूले पैसा कहाँ राखेको भन्ने बिर्सेर बारम्बार छोरा/बुहारीले चोरिन् भनेर आरोप लगाउनुभयो भने, डिमेन्सियाको ज्ञान नभएको परिवारले यसलाई जानाजानी गरिएको आरोप वा खराब व्यवहारका रूपमा बुझ्न सक्छ। कलह बढ्छ, सम्बन्ध बिग्रन्छ।
तर रोग बुझिसकेपछि परिवारको प्रश्न परिवर्तन हुन्छ। “उहाँले हामीसँग यस्तो किन गरिरहनुभएको छ?” भन्ने प्रश्नको ठाउँमा “उहाँको मस्तिष्कमा के भइरहेको छ, र हामीले कसरी प्रतिक्रिया दिनुपर्छ?” भन्ने प्रश्न आउँछ।
यो परिवर्तन आफैँमा हेरचाहको महत्वपूर्ण हिस्सा हुन सक्छ।
समयमै निदानले परिवारलाई समय दिन्छ
डिमेन्सिया प्रायः क्रमशः बढ्दै जाने रोग हो। रोग अगाडि बढेसँगै जटिल निर्णय गर्ने क्षमता पनि घट्न सक्छ। त्यसैले प्रारम्भिक निदानले एउटा यस्तो अवसर दिन्छ, जुन रोगको पछिल्लो चरणमा उपलब्ध नहुन सक्छ।
भविष्यको हेरचाहबारे कुरा गर्ने समय मिल्छ। महत्वपूर्ण कागजात व्यवस्थित गर्ने समय मिल्छ। आवश्यक परे आर्थिक वा स्वास्थ्यसम्बन्धी निर्णयमा कसले सहयोग गर्ने भन्ने विषयमा छलफल गर्न सकिन्छ। औषधि व्यवस्थापन, खाना पकाउँदा सुरक्षा, एक्लै यात्रा गर्ने क्षमता, बाटो बिराउने जोखिम तथा आर्थिक ठगीको सम्भावनाबारे मूल्यांकन गर्न सकिन्छ।
सबैभन्दा महत्वपूर्ण कुरा- डिमेन्सियासँग बाँचिरहेको व्यक्ति आफैँले यी निर्णयमा भाग लिन पाउने समय हुन्छ।
त्यसैले प्रारम्भिक निदानलाई स्वतन्त्रता खोस्ने प्रक्रिया होइन, बरु व्यक्तिको स्वायत्तता सकेसम्म लामो समय जोगाउने अवसरका रूपमा बुझ्नुपर्छ। यसको विकल्प अक्सर संकटपछि हुने निदान हो- बाटो बिराएपछि, लडेपछि, औषधि गलत खाएर अस्पताल भर्ना भएपछि, गम्भीर व्यवहार परिवर्तन भएपछि वा परिवारको हेरचाह गर्ने व्यक्ति पूर्ण रूपमा थाकिसकेपछि।
यस्तो संकटमा आधारित हेरचाह परिवारका लागि पीडादायी मात्र होइन, स्वास्थ्य प्रणालीका लागि पनि महँगो हुन्छ।
डिमेन्सियाको आर्थिक र पारिवारिक भार
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१९ मा डिमेन्सियाका कारण विश्वव्यापी आर्थिक लागत करिब १.३ ट्रिलियन अमेरिकी डलर पुगेको थियो। यसको करिब आधा लागत परिवार तथा आफन्तले दिने अनौपचारिक हेरचाहसँग सम्बन्धित थियो। डिमेन्सिया भएका व्यक्तिको हेरचाहमा परिवार तथा आफन्तले औसतमा दैनिक झन्डै पाँच घण्टा समय दिन्छन्, र विश्वव्यापी रूपमा डिमेन्सिया हेरचाहमा खर्च हुने समयको करिब ७० प्रतिशत महिलाले प्रदान गर्छन्।
नेपालजस्तो देशमा, जहाँ दीर्घकालीन हेरचाहको अधिकांश भार परिवारले नै वहन गर्छ, यसको अर्थ अझ गम्भीर छ। डिमेन्सियाको निदान एउटा व्यक्तिको मात्र निदान होइन; यसले एउटा परिवारलाई प्रभावित गर्छ।
हेरचाहकर्ताले औषधि, अस्पताल, दैनिक काम, व्यक्तिगत सरसफाइ, आर्थिक व्यवस्थापन र सुरक्षाको जिम्मेवारी सम्हाल्नुपर्छ। रोग अगाडि बढ्दै जाँदा निद्रा बिग्रन सक्छ, बिरामी बाटो बिराउन सक्छ, व्यवहार परिवर्तन हुन सक्छ र चौबीसै घण्टा निगरानी आवश्यक हुन सक्छ। यसले हेरचाहकर्ताको शारीरिक तथा मानसिक स्वास्थ्य, रोजगारी र आर्थिक अवस्थामा समेत प्रभाव पार्न सक्छ।
त्यसैले प्रत्येक डिमेन्सिया सेवाले 'बिरामीलाई के चाहिन्छ?' भन्ने मात्र होइन, 'हेरचाहकर्तालाई सुरक्षित र निरन्तर रूपमा हेरचाह गर्न के सहयोग चाहिन्छ?' भन्ने प्रश्न पनि सोध्नुपर्छ।
नेपाललाई केवल जनचेतना होइन, स्पष्ट हेरचाह मार्ग चाहिन्छ
सेप्टेम्बरमा र्याली आयोजना गर्न सजिलो छ। पोस्टर छाप्न सजिलो छ। 'समयमै अस्पताल जानुहोस्' भन्न पनि सजिलो छ, तर व्यक्ति वास्तवमै अस्पताल पुगेपछि के हुन्छ?
यही प्रश्न अब हामीले सोध्नुपर्छ।
नेपाललाई डिमेन्सियाका लागि स्पष्ट हेरचाह मार्ग चाहिन्छ। समस्या पहिचान समुदाय र प्राथमिक स्वास्थ्य सेवाबाटै सुरु हुनुपर्छ। अग्रपंक्तिका स्वास्थ्यकर्मीले चिन्ताजनक स्मरणशक्ति र दैनिक कार्यक्षमता ह्रासको संकेत चिन्न सक्नुपर्छ। प्राथमिक तहका चिकित्सक तथा नर्सले आधारभूत संज्ञानात्मक इतिहास लिन, औषधि समीक्षा गर्न, अन्य रोगको प्रभाव मूल्यांकन गर्न, दैनिक कार्यक्षमता हेर्न र कुन व्यक्तिलाई थप विशेषज्ञ मूल्यांकन आवश्यक छ भन्ने निर्णय गर्न सक्नुपर्छ।
नेपाललाई हाम्रो भाषा, शिक्षा र संस्कृतिअनुकूल संज्ञानात्मक मूल्यांकन विधि पनि चाहिन्छ। उच्च शिक्षित अंग्रेजीभाषी व्यक्तिका लागि विकसित परीक्षणलाई विद्यालय नै नगएका ग्रामीण नेपाली ज्येष्ठ नागरिकमा उही अर्थमा प्रयोग गर्न सकिँदैन। भाषा, साक्षरता, शिक्षा, सुनाइ, दृष्टि र सांस्कृतिक पृष्ठभूमिले परिणामलाई प्रभाव पार्छन्।
जसलाई विशेषज्ञ सेवा चाहिन्छ, उनीहरूका लागि जेरियाट्रिक मेडिसिन, मनोचिकित्सा, न्युरोलोजी वा अन्य उपयुक्त विशेषज्ञ सेवासम्म पुग्ने स्पष्ट र व्यवस्थित बाटो हुनुपर्छ।
निदान नै अन्तिम बिन्दु हुनु हुँदैन
कुनै व्यक्ति अस्पतालबाट 'अल्जाइमर रोग' लेखिएको कागज, एउटा प्रेस्क्रिप्सन र त्यसपछि केही पनि नभएको अवस्थामा फर्किनु उपयुक्त हेरचाह होइन।
निदानपछि रोगबारे स्पष्ट जानकारी, उपयुक्त उपचार, कार्यक्षमता र सुरक्षाको मूल्यांकन, परिवार तथा हेरचाहकर्तालाई शिक्षा, नियमित फलोअप र मनोसामाजिक सहयोग आवश्यक हुन्छ। आवश्यकता अनुसार पुनर्स्थापना, पोषण, मानसिक स्वास्थ्य, सामाजिक सुरक्षा तथा दीर्घकालीन हेरचाहसँग पनि सेवा जोडिनुपर्छ।
यही ठाउँमा मेमोरी क्लिनिक महत्वपूर्ण हुन सक्छ।
मेमोरी क्लिनिक केवल स्मरणशक्ति जाँच्ने ठाउँ होइन
मेमोरी क्लिनिकलाई केवल एउटा कोठा, एउटा परीक्षण र एउटा प्रेस्क्रिप्सनमा सीमित गर्नु हुँदैन। यसको उद्देश्य मूल्यांकन, निदान, उपचार, परामर्श, परिवारलाई रोगबारे जानकारी, सुरक्षा योजना, हेरचाहकर्तालाई सहयोग र नियमित फलोअपलाई एउटै समन्वित सेवामा जोड्नु हुनुपर्छ।
शिक्षण अस्पताल र प्रादेशिक अस्पतालमा क्रमशः यस्ता सेवाहरू विकास गर्न सकिन्छ। ती सेवालाई जिल्ला र प्राथमिक स्वास्थ्य केन्द्रसँग रेफरल प्रणालीमार्फत जोड्न सकिन्छ। टेलिकन्सल्टेसन तथा मानकीकृत रेफरल प्रणालीले विशेषज्ञ सेवा नपुगेका क्षेत्रमा समेत सहयोग पुर्याउन सक्छ।
हामीलाई प्रत्येक स्वास्थ्य चौकीमा न्युरोलोजिस्ट वा जेरियाट्रिसियन नै चाहिँदैन, तर प्रत्येक स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई कम्तीमा पनि यी तीन कुरा थाहा हुनुपर्छ- डिमेन्सियाको शंका कहिले गर्ने? प्रारम्भिक रूपमा के गर्ने? र बिरामीलाई कहाँ पठाउने?
अब नेपालले के गर्नुपर्छ?
विश्व अल्जाइमर महिना केवल ब्यानर, र्याली र एकदिने कार्यक्रममै सीमित हुनु हुँदैन। नेपालले दीर्घकालीन राष्ट्रिय दृष्टिकोण अपनाउन आवश्यक छ:
पहिलो: डिमेन्सिया सामान्य वृद्धावस्था होइन भन्ने कुरा व्यापक जनचेतनाको विषय बन्नुपर्छ। परिवारले स्मरणशक्ति र दैनिक कार्यक्षमतामा आएको क्रमिक परिवर्तनलाई समयमै चिन्न सक्नुपर्छ।
दोस्रो: प्राथमिक स्वास्थ्य सेवाको क्षमता बढाउनुपर्छ। चिकित्सक, नर्स तथा अन्य अग्रपंक्तिका स्वास्थ्यकर्मीलाई संज्ञानात्मक ह्रास चिन्न, प्रारम्भिक मूल्यांकन गर्न र आवश्यक रेफरल गर्न व्यावहारिक तालिम आवश्यक छ।
तेस्रो: स्पष्ट निदान तथा रेफरल प्रणाली विकास गर्नुपर्छ। बिरामी र परिवारले मेडिसिन, मनोचिकित्सा, न्युरोलोजी र अन्य सेवाबीच अनियमित रूपमा भौँतारिनुपर्ने अवस्था हुनु हुँदैन।
चौथो: प्रादेशिक र शिक्षण अस्पतालहरूमा पहुँचयोग्य मेमोरी तथा जेरियाट्रिक संज्ञानात्मक सेवा विस्तार गर्नुपर्छ। यस्ता सेवाहरूलाई केही सीमित केन्द्रमा मात्र केन्द्रित नगरी क्रमशः नेटवर्कको रूपमा विकास गर्नुपर्छ।
पाँचौँ: निदानपछि निरन्तर हेरचाह सुनिश्चित गर्नुपर्छ। उपचार, पुनर्स्थापना, हेरचाहकर्तालाई सहयोग, सामाजिक सेवा र नियमित फलोअपलाई एउटै निरन्तर सेवाको हिस्सा बनाउनुपर्छ।
यससँगै नेपाललाई थप विश्वसनीय राष्ट्रिय तथ्यांक, स्थानीय रूपमा उपयुक्त र प्रमाणित संज्ञानात्मक मूल्यांकनका उपकरण, डिमेन्सियासम्बन्धी सूचना प्रणाली तथा स्वास्थ्य र सामाजिक सुरक्षालाई जोड्ने राष्ट्रिय डिमेन्सिया रणनीति/कार्यनीति छिट्टै निर्माण हुनु आवश्यक छ।
विश्व अल्जाइमर महिनाको वास्तविक सफलता
सेप्टेम्बरमा डिमेन्सियाबारे धेरै कार्यक्रम र छलफल हुनेछन्। त्यो आवश्यक र स्वागतयोग्य छ, तर नेपालमा विश्व अल्जाइमर महिनाको सफलता सेप्टेम्बर २१ मा कति कार्यक्रम आयोजना भए भनेर मात्र मापन गर्नु हुँदैन।
हामीले फरक प्रश्न सोध्नुपर्छ। के स्मरणशक्ति क्रमशः घट्दै गएको कुनै वृद्ध नेपालीले विशेषज्ञ सेवा लिन सयौँ किलोमिटर यात्रा नगरी प्रारम्भिक मूल्यांकन पाउन सक्छ? के प्राथमिक स्वास्थ्यकर्मीले सामान्य वृद्धावस्था र चिन्ताजनक संज्ञानात्मक ह्रासबीचको फरक चिन्न सक्छन्? के निदानपछि परिवारले विश्वसनीय र बुझ्न सकिने जानकारी पाउँछ? के हेरचाहकर्ता पूर्ण रूपमा थाक्नुअघि सहयोग पाउँछन्? के हाम्रा प्रादेशिक अस्पतालहरू तीव्र रूपमा वृद्ध हुँदै गएको जनसंख्याका लागि तयार हुँदैछन्? र आगामी १० वा २० वर्षका लागि आवश्यक सेवा योजना बनाउन हामीसँग पर्याप्त विश्वसनीय राष्ट्रिय तथ्यांक छ?
सन् २०१९ मै नेपालमा करिब ८५ हजार ६०० मानिस डिमेन्सियासँग बाँचिरहेका हुन सक्ने र सन् २०५० सम्म यो संख्या करिब २ लाख ६५ हजार ७०० पुग्न सक्ने अनुमान रहेको अवस्थामा अब पर्खिरहनु पनि एउटा नीतिगत निर्णय नै हो।
'उमेर भयो' बाट 'समयमै पहिचान गरौँ' तर्फ
हामीले “उमेर भयो, यस्तै त हो” भन्ने सोचबाट अगाडि बढ्नुपर्छ। महत्वपूर्ण स्मरणशक्ति तथा सोच्ने क्षमताको ह्रास स्वास्थ्य मूल्यांकनको विषय हो भन्ने कुरा स्वीकार गर्नुपर्छ।
पहिचानबाट निदानतर्फ जानुपर्छ; निदानबाट उपचार र सहयोगतर्फ जानुपर्छ; र केही सीमित विशेषज्ञ केन्द्रबाट देशव्यापी, निरन्तर र समन्वित डिमेन्सिया हेरचाह प्रणालीतर्फ अघि बढ्नुपर्छ।
डिमेन्सियाको निदान निश्चय नै डरलाग्दो हुन सक्छ, तर रोगको नाम नजान्दा रोग रोकिन्न। यसले केवल हामीले समयमै गर्न सक्ने काम ढिलो गराउँछ।
त्यसैले यस वर्षको विश्व अल्जाइमर महिनाको सन्देश नेपालका लागि विशेष अर्थपूर्ण छ-
जति छिटो थाहा पाउँछौँ, त्यति धेरै गर्न सक्छौँ।
(प्रा. डा. रमेश कंडेल, ज्येष्ठ नागरिक स्वास्थ्य विशेषज्ञ, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ, नेपाल)