काठमाडौं- भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि नेपाल न्यूरोसर्जनस् समाजले प्रधानमन्त्री दैवीप्रकोप राहत तथा उद्धार कोषमा ५ लाखभन्दा बढी रकम जम्मा गरेको छ।
देशका विभिन्न भाग, विशेष गरी रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा बाढीले व्यापक जनधनको क्षति पुर्याएपछि समाजले सहायता स्वरूप पाँच लाख एक सय एक रुपैयाँ सहयोग कोषमा जम्मा गरेको हो।
नेपाल न्यूरोसर्जनस् समाजका अध्यक्ष प्रा. डा. राजीव झा र महासचिव डा. बिनोद राजभण्डारीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता नागरिकहरूको सकुशल उद्धारको कामनासमेत गरिएको छ।
विपद्को यस विषम परिस्थितिमा उद्धार तथा राहत कार्यमा खटिएका नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, स्वदेशी तथा विदेशी उद्धारकर्मी, नागरिक समाज र स्वयंसेवीहरूप्रति समाजले सम्मान व्यक्त गरेको छ। साथै, यस कठिन घडीमा अन्य सहयोगी मनहरूलाई पनि उदारतापूर्वक राहत तथा उद्धार कार्यमा सहभागी हुन समाजले आह्वान गरेको छ।