काठमाडौं- पिपल्स डेन्टल कलेज एन्ड हस्पिटलका फ्याकल्टीहरूले गर्दै आएका आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगित भएका छन्। नेपाल चिकित्सक संघ र नेपाल डेन्टल एसोसिएसनको पहलमा अस्पताल प्रशासन र फ्याकल्टी प्रतिनिधिहरूबीच भएको संयुक्त छलफल सकारात्मक निष्कर्षमा पुगेपछि आन्दोलनका कार्यक्रमहरू स्थगित गरिएको हो।
आज मंगलबार पिपल्स डेन्टल कलेजको कार्यालयमा कलेज प्रशासन, नेपाल डेन्टल एसोसिएसनका प्रतिनिधि र नेपाल चिकित्सक संघका प्रतिनिधिको उपस्थितिमा भएको छलफलले विभिन्न बुँदाहरूमा सहमति जुटाएको छ।
पिपल्स डेन्टल कलेजले यसअघि मिति २०८३/०६/१४ देखि लागू हुने गरी करार सेवा निरन्तरता नदिने भनी गरेको निर्णय फिर्ता लिने सहमति भएको छ। साथै, फ्याकल्टीहरूको श्रम अदालतको मुद्दा फिर्ता लिने र ४ जना फ्याकल्टीहरूलाई दिइएको स्पष्टीकरण पत्र फिर्ता लिई बदर गर्ने सहमति गरिएको छ।
छलफलमा सहभागि एक प्रतिनिधिका अनुसार कलेजले करार सेवा निरन्तरता नदिने भनिएको निर्णय फिर्ता लिने, श्रम अदालतको मुद्दा र स्पष्टीकरण पत्रहरू बदर गर्ने सहमति भएको छ। साथै, फ्याकल्टीहरूले बिहान ९ देखि बेलुका ५ बजेसम्मको कार्यालय समय पालना गर्ने, आन्दोलनको अवधिको पारिश्रमिक व्यवस्थापन मिलाउने तथा दुर्घटना बीमा नीति बनाउने लगायतका बुँदाहरूमा आपसी समझदारी कायम भएको छ। यो समझदारीसँगै आन्दोलनका कार्यक्रम स्थगन भएको हो।