काठमाडौं- गर्भावस्थामा हुने उच्च रक्तचापसम्बन्धी समस्याका कारण विश्वभर हरेक वर्ष करिब ४२ हजार महिलाको मृत्यु हुने गरेको छ। यसले मृत जन्म र नवजात शिशुको मृत्युसमेत बढाइरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र साझेदार संस्थाले यसको रोकथाम तथा उपचारका लागि सन् २०२६ देखि २०३५ सम्मको नयाँ विश्वव्यापी कार्ययोजना सार्वजनिक गरेका छन्।
डब्लूएचओका अनुसार विश्वभर गर्भावस्थाका अनुमानित १० देखि १५ प्रतिशतमा उच्च रक्तचापसम्बन्धी समस्या देखिन्छ। यस्ता समस्याले विश्वव्यापी मातृमृत्युको करिब १६ प्रतिशत हिस्सा ओगट्छन्। यसका कारण हरेक वर्ष ५ लाखभन्दा बढी मृत जन्म तथा नवजात शिशुको मृत्यु हुने गरेको छ।
गर्भावस्थामा हुने उच्च रक्तचापसम्बन्धी समस्यामध्ये प्रि-एक्लेम्पसिया गम्भीर अवस्था हो। यसले आमा र शिशुको स्वास्थ्यमा जटिलता निम्त्याउन सक्छ। समयमै पहिचान र उपचार नभएमा आमाको ज्यानसमेत जोखिममा पर्न सक्छ।
रक्तचाप जाँच र उपचारमा पहुँचको अभाव
डब्लूएचओका अनुसार धेरै देशमा गर्भवती महिलाले नियमित रक्तचाप जाँच, पिसाबमा प्रोटिनको परीक्षण तथा आवश्यक औषधि सहज रूपमा पाउन सकेका छैनन्। गर्भावस्थामा जोखिम कम गर्न प्रयोग गरिने एस्पिरिन, उच्च रक्तचाप नियन्त्रण गर्ने औषधि र म्याग्नेसियम सल्फेटजस्ता औषधिको पहुँचमा पनि समस्या छ।
स्वास्थ्यकर्मीको अभाव, कमजोर रेफरल प्रणाली र आकस्मिक प्रसूति सेवाको सीमितताले समयमै उपचार पाउन कठिन भइरहेको छ। विशेषगरी न्यून तथा मध्यम आय भएका देशमा गर्भवती महिलाले आवश्यक स्वास्थ्य सेवा, परीक्षण र औषधि नपाउँदा गम्भीर जटिलता तथा मृत्युको जोखिम बढी हुने गरेको डब्लूएचओले जनाएको छ।
डब्लूएचओको यौन तथा प्रजनन स्वास्थ्य, मातृ, शिशु, किशोर स्वास्थ्य तथा वृद्धावस्थासम्बन्धी विभागकी निर्देशक डा. पास्कल अलोटेले प्रि-एक्लेम्पसिया जुनसुकै गर्भावस्थामा देखिन सक्ने बताएकी छन्। समयमै रक्तचाप जाँच हुने र अवस्था गम्भीर हुँदा गुणस्तरीय आकस्मिक उपचार उपलब्ध हुने वा नहुने कुराले महिलाको जीवनरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
अनुसन्धान र नयाँ उपचारमा लगानी बढाउन जोड
डब्लूएचओले सार्वजनिक गरेको सन् २०२६ देखि २०३५ र त्यसपछिका लागि तयार पारिएको कार्ययोजनाले अनुसन्धान, नयाँ प्रविधि, उपचारसम्बन्धी निर्देशिका, औषधि तथा परीक्षणमा पहुँच, स्वास्थ्य सेवाको कार्यान्वयन र जवाफदेहितालाई प्राथमिकता दिएको छ।
प्रि-एक्लेम्पसिया तथा एक्लेम्पसियाको रोकथाम वा उपचारका लागि विशेष रूपमा विकास गरी नियामक निकायबाट स्वीकृत औषधिको अभाव रहेको कार्ययोजनामा उल्लेख छ। यस क्षेत्रमा अनुसन्धान लगानीको ठूलो हिस्सा रोग पहिचान गर्ने परीक्षणमा केन्द्रित भए पनि नयाँ रोकथामका उपाय र उपचार विकासमा पर्याप्त लगानी हुन नसकेको डब्लूएचओको निष्कर्ष छ।
यसअघि सन् २०२६ को मे महिनामा डब्लूएचओले १४० भन्दा बढी साझेदारको सहभागितामा विश्वव्यापी सम्मेलन आयोजना गरी गर्भावस्थामा उच्च रक्तचापसम्बन्धी समस्या पहिचान, पूर्वानुमान र उपचार सुधार गर्न २० वटा प्राथमिक अनुसन्धान प्रश्न पहिचान गरेको थियो।
सुत्केरीपछि पनि स्वास्थ्य जोखिम
गर्भावस्थामा उच्च रक्तचापसम्बन्धी समस्या भएका महिलामा सुत्केरीपछि पनि दीर्घकालीन स्वास्थ्य जोखिम रहन सक्छ। उनीहरूमा पछि दीर्घकालीन उच्च रक्तचाप, मुटुसम्बन्धी रोग, पक्षाघात र मिर्गौला रोगको जोखिम बढ्ने डब्लूएचओले जनाएको छ।
यस्तो अवस्थाबाट प्रभावित गर्भावस्थामा जन्मिएका बालबालिकामा समयअगावै जन्मिनुका साथै दीर्घकालीन रूपमा मुटुसम्बन्धी तथा चयापचयसम्बन्धी रोगको जोखिम पनि बढ्न सक्छ।
डब्लूएचओले सरकार, अनुसन्धानकर्ता, स्वास्थ्यकर्मी, औषधि उद्योग, दातृ निकाय र नागरिक समाजलाई रोकथाम तथा उपचारका प्रभावकारी उपायमा लगानी र सहकार्य बढाउन आग्रह गरेको छ। समयमै पहिचान, आवश्यक औषधि र गुणस्तरीय आकस्मिक प्रसूति सेवा उपलब्ध गराउन सके गर्भवती महिला तथा नवजात शिशुको मृत्यु र गम्भीर स्वास्थ्य जटिलता घटाउन सकिने संगठनको जोड छ।