काठमाडौं- स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध अस्पताल तथा स्वास्थ्य संस्थाले बिरामीको अवस्था र चिकित्सकीय आवश्यकतासँग मेल नखाने अनावश्यक परीक्षण गराएमा त्यसबापतको दाबी अस्वीकृत हुने भएको छ।
स्वास्थ्य बीमा बोर्डले असोज २७ गते सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्र पठाउँदै स्वास्थ्य बीमा सेवा प्रभावकारी बनाउन यस्तो निर्देशन दिएको हो।
बोर्डका अनुसार रोगको लक्षण, अवस्था तथा चिकित्सकीय आवश्यकतासँग मेल नखाने भिटामिन डी, भिटामिन बी १२ र थाइराइड फङ्सन टेस्ट (टीएफटी) जस्ता परीक्षण गराएको पाइएमा त्यस्ता परीक्षणको दाबी अस्वीकृत गरिनेछ।
बीमितलाई कोटा प्रणालीबाट दुःख नदिन निर्देशन
बोर्डले स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई सेवा प्रदान गर्दा कोटा प्रणाली लागू गरी अनावश्यक ढिलाइ नगर्न सेवा प्रदायक संस्थालाई निर्देशन दिएको छ।
बीमितमाथि भेदभावपूर्ण व्यवहार गर्ने तथा स्वास्थ्य सेवा प्राप्त गर्न असहज हुने अवस्था सिर्जना नगर्न पनि बोर्डले सचेत गराएको छ।
त्यस्तै, नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बीमाका बीमितलाई तीन–तीन महिनाका लागि औषधि उपलब्ध गराउने व्यवस्था मिलाउन बोर्डले निर्देशन दिएको छ। बोर्डको २०८० मंसिर २७ गते बसेको बैठकले यससम्बन्धी निर्णय गरेको पत्रमा उल्लेख छ।
बीमामा समेटिएका औषधि नगदमा किन्न लगाउन नपाइने
स्वास्थ्य बीमाको सुविधा थैलीमा समावेश भएका औषधि, औषधिजन्य सामग्री तथा सेवाहरू बीमितलाई नगदमा खरिद गर्न लगाउन नपाइने बोर्डले स्पष्ट पारेको छ।
त्यस्तै, स्वास्थ्य बीमाअन्तर्गत पेस गरिने दाबीलाई सेवा प्रदायक संस्थाको आन्तरिक दाबी पुनरावलोकन समितिले अनिवार्य रूपमा जाँच गर्नुपर्नेछ।
समितिले आवश्यक कागजात, उपचार विवरण, परीक्षणको औचित्य र प्रचलित सुविधा थैलीअनुसार सेवा उपलब्ध गराइएको छ वा छैन भन्ने विषय रुजु तथा प्रमाणित गरेपछि मात्रै बोर्डमा दाबी पेस गर्नुपर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
बोर्डले यी निर्देशनविपरीत काम गरेको पाइएमा स्वास्थ्य बीमा ऐन, २०७४ को दफा १२ तथा स्वास्थ्य बीमा नियमावली, २०७५ को नियम १९ बमोजिम कारबाही हुने जनाएको छ।