काठमाडौं– चिकित्साशास्त्र अध्ययन संस्थानले लिएको एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउने गिरोहलाई प्रहरीले साइबर अपराध र ठगी मुद्दामा कारबाही अघि बढाएको छ । गिरोहका १० जनालाई साइबर र ठगी मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए । त्यस्तै दुई जनालाई शिक्षा ऐन अन्तर्गत कारबाही अघि बढाएको छ । बिद्यार्थीहरुलाई भने प्रहरीले छाडिदिएको छ ।
गिरोहका नाइके समिर झासहित शैलेन्द्र कुमार झा, देवेश झा, नवराज निरौला, आशुतोष झा, हिरेन्द्र शर्मा, मुकेश राय, संजय कुमार यादब, ज्ञानेन्द्र ठाकुर र अजय यादबलाई विधुतिय कारोबार ऐनअनसार कारबाही अघि बढाएको हो । त्यस्तै, भारतीय नागरिकद्धय सुविशदेव र सौभरकुमारलाई शिक्षा ऐनअनुसार कारबाही अघि बढाइएको छ । त्रिवि आइओएममा एमडी अध्ययनरत सुशिवदेवले एक बिद्यार्थीको परिक्षा दिन जाँदा पक्राउ परेका थिए ।
संगठित रुपमा नै झाको गिरोहले कानभित्र लुकाइने गोप्य डिभाइसमार्फत चिट चोराएको थियो । प्रतिव्यक्ति पाँच लाख रुपैयाँ लिएर उनीहरुले चिट चोराउदै आएका थिए । प्रश्नपत्र पहिले नै गिरोहले पाएकोमा भने यसमा आईओएमको समेत संलग्नताको आशंका गरिएको छ ।