काठमाडौं- स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेदलाई मौलिक चिकित्साका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
आयुर्वेद विभागले राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले आयुर्वेदलाई प्रभावकारी बनाउन मौलिक चिकित्सा पद्धतिका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
मन्त्री पोखरेलले भने, ‘नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि आयुर्वेद र योगको महत्व छ । हामीले संयुक्त राष्ट्रसंघमा योग दिवस मनाउने प्रस्ताव पहिल्यै नलगेर गल्ती ग¥यौँ अब बुद्ध जयन्तीको अवसरमा ध्यान दिवस पनि मनाउने प्रस्ताव लैजानुपर्छ ।’
उनले नयाँ स्वास्थ्य नीतिमा आयुर्वेदका सम्पूर्ण विषयलाई समेट्ने प्रतिबद्धता पनि जनाए।
आयुर्वेद विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले प्रत्येक विद्यालयबाटै योग र स्वास्थ्य 18बारे विद्यार्थीमा शिक्षा दिनु आवश्यक भएको बताए। उनले पर्याप्त बजेटको अभावमा आयुर्वेद र योगसम्बन्धी प्रभावकारी कार्यक्रम सञ्चालन नभएकाले यसमा लगानी बढाउनसमेत आग्रह गरे।
योगाभ्यास र पञ्चकर्मबारे जनतालाई सेवा दिनका लागि बूढानीलकण्ठमा अन्तर्राष्ट्रियस्तरको योग सेन्टर बन्ने भएको छ।
आयुर्वेद विभागको करिब १४ रोपनी जग्गामा ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेन्टर’ निर्माण लागिएको हो।
सामान्य जनतादेखि विशिष्ट, अति विशष्टि व्यक्तिसम्मका लागि बन्ने ठूलो योग सेन्टरमा अहिले प्रशासनिक भवन बन्दैछ, जसका लागि एक करोड ५० लाख छुट्याइएको छ, अन्य भवनका लागि नक्साङ्कन भइरहेको छ भन्दै महानिर्देशक उपाध्यायले पूरै भवनका लागि गुरुयोजना बनाउन लागिएको र यसका लागि करिब रु एक अर्ब खर्च हुने अनुमान गरिएको जानकारी दिए।
उक्त सेन्टरमा स्वास्थ 18, सन्तुलित खानपान, योग, पञ्चकर्म, अकुपञ्चरलगायतको सेवा दिई नसर्ने रोगबारे कार्यक्रम हुने बताइएको छ।
राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अवसरमा आजै टेकुदेखि नरदेवीस्थित आयुर्वेद चिकित्सालयसम्म प्रभातफेरी गरिएको थियो।
स्वास्थ्यमन्त्री पोखरेलले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका बिरामीलाई फलफूल वितरणसमेत गरेका थिए।