काठमाडौं– रेटिना (दृष्टि पर्दा) अर्थात् आँखाको जाली च्यातिने समस्याको समयमै उपचार नपाउँदा धेरैले आँखा गुमाइरहेको बताइएको छ। तिलगंगा आँखा अस्तपतालको तथ्यांकअनुसार ५० प्रतिशत यस्तो समस्याका बिरामी अन्तिम चरणमा मात्रै अस्पताल आइपुग्छन्।
‘रेटिनाबारे चेतना नहुँदा अधिकांश शिशुहरू आँखाको पूरै दृष्टि गुमाइरहेका छन्। समयमै उपचार गरेसमाधान हुने समस्या हाे यो,’ अस्पतालका रेटिना सर्जन डा. सन्यम बजिमयले भने।
मधुमेह भएका र समय नपुगी जन्मिने बच्चाहरुलाई रेटिना लाग्ने सम्भावना बढी हुने बताइएको छ । ३५ वर्ष भन्दा माथि उमेरका महिलाबाट जन्मने पहिलो शिशुमा पनि रेटिनाको समस्या देखिने गरेको डा बजिमयले बताए।
बच्चा नौ महिना भन्दा अघि जन्मिएमा र दुई केजी भन्दा कम तौलको जन्मिएमा रेटिनाको समस्या आउने सम्भावना हुने बताइएको छ। समय नपुगी जन्मिने हरेक ४ शिशु मध्य एकमा रेटिनाको समस्या देखिने डा. सन्यम बताउँछन् । उनका अनुसार यस्ता शिशुहरूलाई २४ घण्टा अक्सिजन दिएर राख्नु पर्ने भएकाले रेटिनाको समस्या आउन सक्छ । ‘समयअगावै जन्मिएका शिशुलाई अस्पतालले आँखा अस्पतालमा रिफर गर्नुपर्ने हो तर त्यसो नगरिदिनाले पनि यसको समस्या बढेको छ,’ डा. बजिमय भन्छन्।
समयमै जानकारी दिएको अवस्थामा तिलगंगाबाट रेटिना बिशेषज्ञको टोली अस्पताल गएर समय नपुगी र कम तौल भएर जन्मिने शिशुको आँखा जाँच गर्ने र यस्ता शिशुका अभिभावकलाई परामर्श दिने अभियान सुरु गरेको बजिमयले बताए।
आँखाभित्र रक्तस्राव हुने, आँखाको पर्दा च्यातिने र विस्तारै दृष्टि क्षमता घट्दै जानु रेटिना समस्याका प्रमुख लक्षण हुन्। यसैगरी अस्तव्यस्त 18, ३५ वर्ष नाघेपछि बच्चा जन्माउनु, गर्भवति महिलाले धुर्मपान गर्दा रेटिनाको समस्या देखिन सक्ने डा एली प्रधानले बताइन्।
यस्ता शिशुले समयमै उपचार पाएमा रेटिनाको समस्या पूर्ण रूपमा समाधान हुने डा. बजिमय बताउँछन् । समय नपुगी जन्मिएको शिशुमा समस्या आइनसकेको भएपनि महिनाको एक पटक आँखाको परीक्षण गराउन डा बजिमय सुझाव दिन्छन्।
विश्वव्यापी तथ्यांक हेर्दा रेटिना रोगमा नेपाल १० नम्बरमा भएको बजिमयले बताउँछन्। मधुमेह भएकाले नियमित रुपमा आँखा जँचाउन चिकित्सक सुझाउँछन्। मधुमेह लागेमा ६ महिनाको एक पटक आँखा जँचाउनुपर्छ । अन्यले पनि सकेसम्म ६ महिनामा नभए वर्षमा एकपल्ट आँखाके जाँच गराउँदा राम्रो हुने डा बजियम बताउँछन्।