काठमाडौं– नव नियुक्त स्वास्थ्य मन्त्री दीपक बोहराले आफूले स्वास्थ्यका निर्णयमा हस्तक्षेप नगर्ने बताएका छन्। बुधवार स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीलाई निर्देशन दिँदै यस्तो बताएका हुन्।
सरकार अस्थायी तर कर्मचारी स्थायी सरकार भएको बताउँदै उनले नियम अनुसार नियमित काम गर्न सुझाएका छन् । उनले भने, ‘स्वास्थ्य जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय हो । त्यसैले यो मन्त्रालय अरु भन्दा विशेष छ । निर्धक्क काम गर्नुहोस्, राजनीतिक पूर्वाग्रह राखेर हस्तक्षेप गर्दिनँ।’
सर्वसाधरणले उपचार गराउन नसक्ने अवस्था आएको भन्दै यतातिर सोच्न पनि निर्देशन गरे । उनले भने, ‘रोग लाग्यो भने धेरैले घरखेतै बेच्नुपर्ने र कतिले उपचार बिचमै छोड्नुपर्ने अवस्था मलाई थाहा छ । हामीले यतातिर ध्यान दिनुपर्छ।’
आफू स्वास्थ्य र स्वास्थ्य क्षेत्रसँग परिचित रहेको कुरा दर्शाउन २०४१ सालमा श्रम मन्त्री हुँदाका प्रशंग उप्काए । उनले श्रम मन्त्रालयलाई नेपालकै पहिलो धुम्रपान निषेध मन्त्रालय बनाएको उल्लेख गरे । ‘धुम्रपान निषेध मन्त्रालय बनाउन कर्मचारीबीच चुनावै भयो । केही भोटले धुम्रपान नगर्ने पक्षले जित्यो । त्यो समय यो कामको चर्चा अन्तर्राष्ट्रिय रुपमै भएको थियो,’ उनले सम्झिए।