काठमाडौं- आगामी कात्तिक ६ गते बस्ने मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षा विधेयक अध्यादेश मार्फत ल्याउने विषयमा निर्णय गर्ने भएको छ। आमरण अनशनरत डा गोविन्द केसीका मागका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलले यस्तो सहमति गरेको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले नै अध्यादेश मार्फत विधेयक ल्याउने भनेपछि छलफल सकारात्मक हुँदै गएको हो। छलफलमा सरकारी वार्ता टोलीसहित शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, पूर्व स्वास्थ्य मन्त्री गगन थापा, प्राध्यापक केदारभक्त माथेमा, डा केसीका तर्फबाट डा अभिषेक सिंह लगायत सभागी छन्।
चिकित्सा शिक्षा विधेयक अध्ययादेश मार्फत ल्याउन मन्त्रिपरिषदले आगामी ६ गते निर्णय गर्ने सहमतिपछि डा केसीका अन्य मागका विषयमा छलफल भइरहेको डा सिंहले जानकारी दिए।
मन्त्रिपरिषदले अध्यादेश मार्फत विधेयक ल्याउने निर्णय गरेपछि उक्त विधेयक राष्ट्रपतिकहाँ स्वीकृतिका लागि पठाइन्छ। राष्ट्रपतिले स्वीकृत गरेपछि विधेयक कानुन रुपमा आउनेछ। संसद नभएको समयमा सरकारले अध्याधेशबाट विधेयक ल्याउने गर्छ।