जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले तह मिलानमा खेलबाड गरेको भन्दै कर्मचारीले तीन दिनदेखि अस्पतालमा ताला लगाएका छन्। उनीहरुले तह मिलानका लागि पटक-पटक अनुरोध गर्दा समेत सिनेटको बैठकमा प्रस्ताव नलगेको भन्दै अस्पताल पदाधिकारीप्रति आक्रोश पोखेका छन्। कर्मचारीको तालाबन्दीका कारण ओपिडी सेवा सञ्चालनमा आउन सकेको छैन भने प्रशासन कार्य ठप्प छ।
अस्पतालका तेस्रो तहका कर्मचारीले चौथो तहमा मिलान गर्नुपर्ने माग राखेका हुन्।
सम्मानजनक ढंगले तह मिलान नहुँदासम्म ताला नखोल्ने कर्मचारीले बताएका छन्। प्रतिष्ठान प्रशासनले अहिलेसम्म कर्मचारीसँग वार्ता गरेर ताला खुलाउने प्रयास गरेको छैन भने स्थानीय प्रशासनले ताला खुलाएर अस्पतालमा सेवा सञ्चालनमा कुनै पहल नगरेको स्थानीयले बताएका छन्।
निरन्तर तीन दिनसम्म ज्वरो आएर जेकजाँचका लागि अस्पताल पुगेकी घोडेमहादेवकी पानकली रोकाया उपचार नगराई फर्कनुपर्ने अवस्था आएको बताउँछिन्। उनले भनिन्, 'एक त टाढाबाट उपचार गराउन आएका छौं, कर्मचारी आन्दोलनका कारण सेवा लिन नपाउँदा सास्ती खेप्नुपरेको छ।' उनले तत्काल अस्पतालमा लागेको ताला खुलाएर सेवा सञ्चालन गर्नुपर्ने बताइन्।
अस्पतालमा लागेको ताला खुलाएर सहज उपचार सेवा पाउनुपर्ने अधिकारको ग्यारेन्टी गर्न स्थानीयबासीले माग गरेका छन्। अहिले मौसमी रोगको संक्रमण भएका बिरामी अस्पताल आउने गरेका छन्। ओपिडी सेवा बन्द हुँदा दुर्गमबाट आएका बिरामी उपचार नगराई फर्कन वाध्य छन्।
आन्दोलित कर्मचारीहरुले आफ्ना माग सम्बोधनमा प्रशासनले बेवास्ता गरे आकस्मिक सेवा समेत ठप्प पार्ने चेतावनी दिएका छन्। कर्मचारी आन्दोलनले हुने क्षतिको जिम्मा अस्पताल पदाधीकारीले लिनुपर्ने उनीहरुले बताएका छन्। प्रतिष्ठानको नियमालीमा भने बन्द-हड्ताल गर्न नपाइने व्यवस्था छ।
प्रतिष्ठानका रजिस्टार विश्वराज काफ्लेले उच्च स्तरीय कार्यदल गठन गरेर कर्मचारीको माग सम्बोधन गर्ने तयारी भइरहेको बताएका छन्। उनले भने, 'स्थानीय प्रशासनसँग समन्वय गरेर ताला खुलाउन पहल भइरहेको छ।'