काठमाडौं– आईओएमको एमबिबिएस प्रवेश परीक्षामा डिभाइसमार्फत चिट चोरी घटनामा नेपाल प्रहरीका उपरीक्षक(एसपी)का छोरा नै संलग्न रहेको खुलेको छ । डिभाइससहित पक्राउ परेकामध्ये सक्षमराज भण्डारी एसपीका छोरा हुन्।
एसपी सुदीपराज भण्डारीका छोरा सक्षमराज समेत गत शनिबार प्रहरीले पक्राउ गरेको थियो । उनीसहित ६ जना बिद्यार्थीलाई प्रहरीले एक रात थुनेर छाडिदिएको हो।
सप्तरीका समीर कुमार झाको गिरोहले बिद्यार्थीहरुलाई म्याग्नेटिभ डिभाइसमार्फत चिट चोराएको थियो । जसमा संलग्न १८ जना पक्राउ परेका थिए । जसमध्ये १२ जनालाई प्रहरीले मुद्दा चलाएको छ। झाले प्रतिबिद्यार्थी पाँच लाख रुपैयाँसम्म लिएर चिट चोराएका थिए । छोरालाई एमबिबिएसमा नाम निकाल्न एसपी भण्डारीले समेत छोरालाई गलत बाटोमा लगाएकोमा अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु चकित छन्।
प्रहरीले बिकासराजसहित विद्यार्थीहरू राहुल झा, सक्षमराज शिखा झा, महेन्द्र ठाकुर, राजीव सिंह र सञ्जय यादव पक्राउ परेका थिए । उनीहरूलाई उल्टो प्रहरीले पीडित बनाएको छ।
को हुन् नाइके झा ?
गिरोहका समीर कुमार झा तिनै व्यक्ति हुन्, जो दुई वर्षअघि प्रश्नपत्र नै बिक्री गर्दै गर्दा पक्राउ परेका डा. प्रभातकुमार कुशवाहको गिरोहमा आबद्ध थिए । कुशवालका सहयोगी उनले अहिले नयाँ प्रविधिमार्फत प्रवेश परीक्षामा चिट चोराएको प्रहरीले जनाएको छ ।
मेडिकल ल्याबका सामानको कारोबार गर्ने झा लामो समयदेखि एमबिबिएस भर्नामा चलखेल गर्दै आएका व्यक्ति भएको प्रहरीले जनाएको छ । १९ असोज २०७१ मा डा. कुशवाहको गिरोहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो । सोही समूहका केही व्यक्तिले भारतबाट म्याग्नेटिभ साउन्ड स्पिकर खरिद गरी ल्याएका थिए । सिम हाल्न मिल्ने र फोन गरेको पहिलो रिङमा त्यस्तै उठ्ने प्रविधिमार्फत चिट चोराएका थिए।
बयान जारी शनिबार पक्राउ परेका गिरोहका १० जनालाई विद्युतीय कारोबार र ठगी मुद्दामा कारबाही अघि बढाइएको छ । नाइके झासहित १० जनालाई आइतबार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए ।
गिरोहका नाइके झासहित शैलेन्द्र कुमार झा, देवेश झा, नवराज निरौला, आशुतोष झा, हिरेन्द्र शर्मा, मुकेश राय, सञ्जयकुमार यादव,सुविशदेव र सौभरकुमारलाई विद्युतीय कारोबार ऐन र ठगी मुद्दामा कारबाही अघि बढाएको हो । उनीहरुको बयान भइरहेको र त्यसबाट आईओएमका केही व्यक्तिहरुको समेत संलग्नता खुल्न सक्ने एक प्रहरी अधिकारीले बताए।
ज्ञानेन्द्र ठाकुर र अजय यादवलाई त्यस्तै भारतीय नागरिकद्वय शिक्षा ऐअनुसार कारबाही अघि बढाइएको छ । त्यसका लागि ज्ञानेन्द्र ठाकुरले सहयोग गरेका थिए । त्रिविमा एमडी अध्ययनरत यादब एक विद्यार्थीको परीक्षा दिन जाँदा पक्राउ परेका थिए । उनीहरूलाई किर्ते मुद्दामा पनि कारबाही हुने काठमाडौं परिसरका डिएसपी बेलबहादुर पाण्डेले बताए।
पक्राउ परेका शैलेन्द्रकुमार झा एजुकेसन कन्सलटेन्सी सञ्चालक हुन् । उनको बुद्धनगरमा रेसनल एजुकेसन कन्सलटेन्सी छ । डिभाइसमार्फत चिट चोर्ने केही विद्यार्थी उनले खोजेका थिए । पक्राउ परेका अन्य व्यक्तिहरू केही समीर झाका सहयोगी त केही विद्यार्थी र झाबीचका मध्यस्कर्ताहरू छन् ।