काठमाडौं– डा गोविन्द केसीको माग अनुसार ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश’ तयार भएको छ। अध्यादेशलाई सोमबार बस्ने मन्त्रिपरिषद्ले पास गरी राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ पठाउने तयारी भएको छ।
डा केसीको माग सम्बोधन गर्न गठित सरकारी वार्ता टोलीसहित पूर्व स्वास्थ्य मन्त्री गगन थापा, अधिवक्ता ओम अर्याल र डा गोविन्द केसीका तर्फबाट सहभागी डा अभिषेक सिंहको टिमले आइतबार अध्यादेशको अन्तिम मस्यौदा तयार पारेको हो।
अध्यादेशमा माथेमा कार्यदलले दिएको प्रतिवेदन र डा केसीका सुझाब समेटिएको डा सिंहले जाकनारी दिए। उनले अध्यादेशको मस्यौदा डा केसीसमक्ष पुर्याइएको पनि बताए।
‘माथेमा प्रतिवेदनको मर्म र डा केसीको सुझाब समेटेर अध्यादेश तयार भएको छ,’ डा सिंहले भने, ‘सरकारी वार्ता टोलीसहित पूर्व स्वास्थ्यमन्त्री गगन थापा र अधिवक्ता ओम अर्यालले बिदाको दिन नभनी काम गर्नुभएको छ।’
डा केसीका माग अनुसार संसदबाट चिकित्सा शिक्षा विधेयक पारित नभएपछि सरकारले अध्यादेश ल्याउन लागेको हो। एमाले र माओवादी सांसदले आफू निकटका मेडिकल कलेजलाई सम्बन्धन दिलाउन विधेयकमा चलखेल गरेपछि डा केसी अनशनमा बसेका थिए। डा केसी अनशनमा रहेको समयमा एमाले र माओवादीले संसदबाट कुनै पनि हालतमा विधेयक पारित हुन नदिने अडान राखेका कारण संसदको अन्तिम बैठकबाट विधेयक पारित हुने सम्भावना टरेको थियो।
संसद बैठक सकिए पनि डा केसीले अनशन नछाडेपछि सरकारले डा केसीसँग अध्यादेश ल्याउने सहमति गरेको थियो। सरकारसँग सहमति भएपछि डा केसीले बुधबार १३औं अनशन तोडेका थिए।